aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेटोको आर्थिक प्रतिबन्ध गर्ने धम्कीबाट किन रुस डराएन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ फागुन २०७८
नेटोको आर्थिक प्रतिबन्ध गर्ने धम्कीबाट किन रुस डराएन ?

अहिले उत्तर एट्लाण्टिक सैन्य सङ्गठन (नेटो)को भबिष्य युक्रेनको बिषयलाई लिएर चर्चाको केन्द्रमा छ। मस्कोले पुर्वी युरोपमा नेटोले सैन्य गतिविधि बढाएकोले त्यो क्षेत्रको सुरक्षालाई कमजोर बनाएकोले पछिल्लो आक्रमण गर्न बाध्य भएको जनाएको छ । मस्को आफ्ना छिमेकी राष्ट्र खासगरि पूर्व सोभियत समाजवादी गणतन्त्र संघको राज्यहरु स्थायी रुपमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनमा सामेल हुनबाट रोक्न चाहन्छ । तर पश्चिमी नेताहरु कुनैपनि युरापेली राष्ट्रलाई नेटोको सदस्य बन्न अधिकार रहेको बताइरहेका छन्।

युक्रेन किन नेटोमा सामेल हुन चाहन्छ ?

नेटो दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा स्थापित भएको एक सैनिक गठबन्धन हो। हाल नेटोमा अमेरिका सहित युरोपका ३० राष्ट्रहरु सदस्य छन्। युक्रेनले बारम्बार नेटो सदस्य राष्ट्र बन्ने आफ्नो ईच्छा जाहेर गर्दै आएको थियो। यो उद्देश्य युक्रेनको संबिधानमा समेत लेखिएको छ ।  गठबन्धनमा सामेल हुनाले नेटोका सदस्य राष्ट्रहरुको सामूहिक रक्षाको सिद्दान्तको कारण युक्रेनको रक्षात्मक शक्ति बढ्छ । नेटोको स्थापना सन्धिको धारा ५ अनुसार कुनैपनि एक सदस्य राष्ट बिरुद्धको आक्रमणलाई सवै सहयोगी सदस्य राष्ट्रहरु बिरुद्धको आक्रमणको रुपमा लिईन्छ । नेटोको यही सुरक्षा ब्यवस्थाका कारण पूर्व सोभियत समाजवादी गणतन्त्र संघबाट टुक्रिएका युक्रेन लगायत अन्य पुर्वी युरोपका राज्यहरु समेत नेटोको सदस्य बन्न चाहन्छन् ।

युक्रेन क्रेमलिनको लागि किन महत्वपूर्ण छ ?
राष्ट्रपति भ्लादिमिर पुटिन र बहुसंख्यक रसियन नागरिकहरु पुर्व सोभियत समाजवादी गणतन्त्र संघ टुक्रिएको घाउबाट आज पनि आहत छन् । युक्रेनमा ६७.५ प्रतिशत युक्रेनियन भाषा बोल्ने जनसंख्या छ भने २९.६ प्रतिशत रसियन भाषा र २.९ प्रतिशत स्थानिय भाषा बोल्ने मानिसहरु युक्रेनमा बसोवास गरेका छन् । क्रेमलिनले आज पनि युक्रेन लगायत समाजवादी गणतन्त्र संघबाट टुक्रिएका देशहरुलाई आफ्नो देशको अभिन्न अङ्गको रुपमा लिने गर्छन। क्रेमलिनले पुर्व सोभियत समाजवादी गणतन्त्र संघ टुक्रिनुलाई पश्चिमा राष्ट्रको पुर्व निर्धारित षडयन्त्रको रुपमा लिने गर्दछ ।

रुसले युक्रेनमा आक्रमण गर्ने अवस्था किन सृजना भयो ?
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको तर्क छ कि पश्चिमा राष्ट्रहरुले शीतयुद्धको अन्त्यमा नेटो पूर्व तर्फ विस्तार नगर्ने कथित मौखिक प्रतिवद्धताहरु तोडेर मस्कोलाई धोका दिएको छ। अर्को तर्फ नेटो गठबन्धनले त्यस्तो खालको कुनैपनि वाचा गरिएको कुरालाई अस्वीकार गरेको छ । रुसले नेटोको पूर्व तर्फको विस्तारको अन्त्यको माग गरेको छ ।

पुटिनले अब नेटोको विस्तारको लहरलाई उल्टाउने र युक्रेनलाई कहिल्यै पनि सदस्य बन्न निदने प्रत्याभूति गर्ने समय आएको बताएका छन् । खासगरि विगत देखि हालसम्मको नाटो, युक्रेन र रुसको विचमा भईरहेको घट्नाक्रमको विकाशलाई अध्ययन गर्दा अहिले रुसले युक्रेनमा अक्रमण गर्नुको मुल कारण चाही नाटोको विस्तारको लहरलाई उल्टाउनको लागि हो।

रुसले युक्रेनको सिमानामा अत्याधुनिक हातहथियारले सु–सज्जित एक लाख पचास हजार सेनाहरु जम्मा गरेपछि हप्तौ देखिको तिव्र कुटनैतिक वार्ता र रुसमाथि पच्क्षिमी राष्ट्रहरुले आर्थिक नाकान्दी लगाउने धम्की असफल भयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनमा विशेष सैन्य अभियान सञ्चालन गर्ने घोषणा गर्नु अघिसम्म क्रेमलिनले आक्रमणको चेतावनीलाई बारम्बार अस्वीकार गरेको थियो । आक्रमण सुरु भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक टेलिभिजन सम्बोधनमा पुर्वी युक्रेनमा नागरिकहरुको सुरक्षा गर्न यो आवश्यक भएको बताएका छन् । जहाँ युक्रेनी सेना र रुस समर्थित पृथकतावादीहरु झन्डै आठ वर्ष देखि लडिरहेका छन् ।

रुसले युक्रेनमा पुर्ण रुपमा सैन्य आक्रमण सुरु गरेको छ। उत्तर, पुर्व र दक्षिण तिन तिरबाट स्थल सेना र ट्याङ्कहरु किभमा छिरिसकेका छन् । युक्रेनमा सबैतिर विस्फोटको आवाज सुनिएको छ ।

किन अमेरिकी नाटो गठबन्धन रुसलाई प्रत्याक्रमण गर्न डराई रहेको छ ?
युक्रेनमा संकट बढ्दै जाँदा अमेरिकाका एउटा नवयुद्घ विरोधी आन्दोलनले संयुक्त राज्य अमेरिकालाई रुस सङ्ग युद्घ नगर्न माग गरि रहेका छन् । पुर्वी युरोपमा अमेरिकी सेनाको आवागमन, युक्रेनलाई केहि मात्रामा हात हथियार, सैन्य उकरणहरुको आपूर्ति गर्ने र रुसी कार्यहरुको विरोध गर्ने अमेरिकन राष्ट्रपतिको भाषाले केही कार्यकार्ताहरुलाई अमेरिका युुद्घमा नहोमिने कुराले उत्सहित बनाएको छ । रुसले युक्रेनमा नयाँ सैन्य आक्रमण भई सक्दा पनि अमेरिकाले युक्रेनलाई सिमित हात हथियार आपूर्ति गर्नु बाहेक त्यसको सुरक्षा गर्ने कुनै छाँटकाँट देखाएको छैनन् ।

पश्चिमा राष्ट्रको नजरमा आक्रामक तानाशाहको छेउमा रहेको करिव ४ करोड जनताको लोकतन्त्रको बचाउ अमेरिकाले किन गरिहेको छैन ? यसमा स्पष्ट राजनैतिक कारण छ । अहिले अमेरिका युद्घबाट थकित छ । इराक बिरुद्धको नक्कली युद्घ र अफगानिस्तानमा असफल युद्घमा रगत र ५८ खर्व युएस डलर धन बर्वाद गरेको दशकपछि अमेरिकीहरु निराश र थकित छन् । अर्को तर्फ अहिले अमेरिका समर्थित नेटो सङ्गठनले कथम कदाचित रुसमा आक्रमण गरेमा अमेरिका विरोधि आणविक शक्ति राष्ट्रहरु खास गरि चीन, उत्तर कोरिया, इरान, पाकिस्तान र अन्य रुस सहयोगी राष्ट्रहरु अमेरिका बिरुद्ध लड्न लामबद्ध भएको खण्डमा अमेरिका समर्थित नेटोले युद्ध  रोक्न सक्ने छैनन् । त्यसैले आणविक युुद्घको मूल्य चुकाउने गरि युक्रेन जस्तो सानो राष्ट्र जोगाउन नाटो समर्थित देशहरु तयार छैनन् ।

रुसलाई अमेरिकाको आर्थिक प्रतिबन्ध कति सान्दर्भिक ?

विहीबर राति ब्रसेल्समा ईयुका नेताहरुको भेटमा तिनीहरुले एक विज्ञप्ति जारी गरि २७ सदस्य राष्ट्रहरुले वित्तीय क्षेत्रलाई समाहित गर्ने प्रतिबन्धहरुमा सहमति जनाएका छन् । यद्यपि उपायहरु कस्तो हुने भन्ने अझै खुलाईएको छैन । रुसले युक्रेनमा युद्ध सुरु गर्दै गर्दा अमेरिका र युरोपेली संघले पुटिनको शासनलाई दण्डित गर्ने उद्देश्यले नयाँ प्रतिबन्धको तयारी गरेका छन् । अमेरिकी ट्रेजरी विभागका अनुसार रुसी वित्तीय संस्थाहरुको दैनिक कारोवार ४६ अर्व डलर (४१ अर्व युरो) बराबर विदेशी मुद्रा कारोवारको ८० प्रतिशत युएस डलरमा सञ्चालन हुने गरेको छ। अमेरिकी बैकिङ्ग प्रतिबन्धको निशानमा खासगरि ती रुसी वित्तीय संस्थाहरु खासगरि आट्क्रिटी, नोभिकोम, सोभकम र यस सङ्ग जोडिएका विश्वभरिका ९० वित्तीय सस्थाहरु र यसका सहायक वित्तीय संस्थाहरुलाई लक्षित गरिने रहेको छ ।

वास्तवमा, रुसले सन् २०१४ मा क्रिमियालाई विलय गरेको बर्षौ देखि अहिलेसम्म प्रतिबन्ध कायम रहेको सामना गरिरहेकोछ र सो प्रतिबन्धको सम्बन्धमा पश्चिमा  देशहरुको ब्यवहारमा सकारात्मक परिवर्तन अहिलेसम्म भएको छैन । अमेरिका र रुस एक अर्कामा निर्भर छैनन् । तर, युरोप र रुसको हकमा त्यस्तो अवस्था छैन । जब उर्जाको कुरा आउँछ युरोप र रुस आर्थिक रुपमा एक अर्कामा पुर्ण रुपमा जोडिएका छन् । हाल युरोपियन युनियनलाई आवश्यक पर्ने ग्यासको मागको करिव ४० प्रतिशत आपुर्ति रुसबाट हुने गरेको छ ।

यसका साथै महत्वपर्ण कुरा यो छ कि युरोप सङ्ग जैविक ग्यासको हालको मागको आपुर्ति अन्य विकल्पबाट तुरुन्तै हुन सक्ने अवस्था छैन । यसै वर्षको ग्यासको मूल्यको अध्ययन गर्ने हो भने डच टिटिहवमा युरापेली ग्यासको आधार मुल्य गत वर्षको भन्दा ३३० प्रतिशतले बढेको छ । त्यसैगरि जर्मन र फ्रान्सेली आधार मुल्य गत वर्षको भन्दा दोब्बर भन्दा माथि रहेको छ । यदि रुसले ग्यासकोे आपुर्तिलाई पुर्णरुपमा रोकेमा युरोपमा उर्जा संकट आउने छ । जसले गर्दा पुरै युरोपमा आर्थिक  र राजनैति संकट आउने छ । यसको अर्थ रुसमाथि लगाउने आर्थिक पुर्ण प्रतिबन्ध स्तब्ध र विस्मयकारी हुन सक्दैन । रुसलाई गरिने  पुर्ण आर्थिक नाकाबन्दीले रुसलाई जत्तिकै युरोपलाई पनि चोट पुर्याउन सक्छ ।

युक्रेनको घटनाबाट नेपालले सिक्नु पर्ने पाठ भनेको अन्तराष्ट्रिय सम्बन्ध कायम गर्दा आफ्नो भौगोलिक अवस्थितिलाई विर्सनु हुदैन । विजिनेश इनसाईडरको २०२१ को प्रतिवेदन अनुसार नेपाललाई पुर्व, पश्चिम र दक्षिण तर्फ तिन तिर घेरेर रहेको देश संसारको पाँचौ सैनिक शक्ति भएको देश भारत रहेको छ भने उत्तर तर्फ संसारको तेस्रो सैनिक शक्ति भएको देश चीन रहेको कुरालाई विर्सनु हुदैन । यो कुरालाई मनन् नगरी अन्तराष्ट्रिय सम्बन्ध कायम गर्दा भविष्यमा नेपालले पनि युक्रेनले जस्तै विश्वका शक्ति राष्ट्रको द्धन्दमा पर्न बाट जोगिन कठिन मात्र होइन असम्भव हुनेछ।

 

प्रतिक्रिया दिनुहोस