
काठमाडौं । नेपालको संसदबाट एमसीसीसँगै अनुमोदन भएको व्याख्यात्मक घोषणा अध्ययन गरिरहेको र एमसीसी सम्झौताभन्दा नेपालको संविधान नै माथि हुने ठानेको प्रतिक्रिया दिएको छ ।
संसदबाट एमसीसी अनुमोदन भएपछि चीनले मुख प्रतिक्रिया व्यक्त गरेको हो । चिनियाँ विदेश मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनविनले नेपालको संसदबाट पारित एमसीसीसँगै व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको बताएका हुन् ।
‘हामीले नेपालको संसदबाट एमसीसीसँगै पारित भएको व्याख्यात्मक घोषणा पत्र हेरेका छौं । सम्बन्धित मुलुकको सार्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरू मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने कुरामा चीनले जोड दिँदै आएको छ,’ वनविनले पत्रकार सम्मेलनमा भनेका छन् ।
आफ्नो हितका लागि अरू मुलुकको सार्वभौमिकता र हितलाई नोक्सान गर्न नहुने उनले बताए ।वनविनले पत्रकार सम्मेलनमा नेपालमा एमसीसी सम्झौताभन्दा संविधान नै माथि हुने विश्वास पनि व्यक्त गरेका छन् ।
‘एमसीसीका कारण नेपाल अमेरिकाको ‘हिन्द प्रशान्त रणनीति’को सैन्य र सुरक्षा सदस्य बन्ने छैन । अमेरिकाले नेपालको नीति र कानूनको सम्मान गर्नेछ भन्ने ठानेका छौं,’ उनले भने ।
वाङले पत्रकार सम्मेलनमा नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर समर्थन दिने दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस