
काठमाडौँ। प्रगतिशील रूपान्तरण आन्दोलनले संंसदबाट एमसीसी पारित गर्नुलाई इतिहास कै ठुलो राष्ट्रघात भनेको छ। सो आन्दोलनका संयोजक श्याम श्रेष्ठले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन्।
एमसीसी पास सत्ता गठबन्धनमा रहेका संसदीय राजनीतिक दलका नेताहरूले आफ्नो अनुहारमा आफैँले कहिल्यै नपखालिने गरी कालो पोत्ने काम गरेको सो आन्दोलनको निष्कर्ष रहेको छ। विज्ञप्तिमा लेखिएको छ, "संंसदबाट एमसीसी जस्तो मुलुकलाई घातक हुने परियोजना सम्झौतालाई पास गर्नु इतिहासकै ठुलो राष्ट्रघात हो ।"
यो सम्झौताले नेपालको सार्वभौमसत्तालाई अरू धेरै खुम्च्याउने, नेपाललाई अमेरिका र चीनको भीषण द्वन्द्वको मैदान बनाउने काम गरेको आन्दोलनको ठहर रहेको छ। यो सम्झौता अनुमोदन भएसँगै असंलग्न राष्ट्र नेपाल अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिको हिस्सा बनेको टिप्पणी सो आन्दोलनले गरेको छ। यो सम्झौता सँगै अहिलेसम्म निजीकरणबाट बचेको शक्तिशाली नेपाल विद्युत प्राधिकरणलाई विभाजित र कमजोर बनाउँदै ऊर्जा क्षेत्रलाई निजीकरण र नवउदारीकरणको दलदलमा डुबाउने विश्लेषण विज्ञप्तिमा छ ।
विज्ञप्तिमा अगाडी लेखिएको छ- 'सत्तान्धताका कारण नेताहरूलाई यति पनि हेक्का रहेन कि एमसीसीको व्याख्यात्मक टिप्पणीको कुनै कानुनी हैसियत हुँदैन । यो जनताको आँखामा छारो हाल्ने र भ्रम छर्ने प्रयास मात्र हो । सबै देशप्रेमी नागरिकलाई यो संसदीय अनुमोदनको सशक्त विरोध गर्न आह्वान गर्दछौ ।'
प्रतिक्रिया दिनुहोस