aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

लक्ष्यको आधा पनि धान किन्न सकेन खाद्य कम्पनीले

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, १७ फागुन २०७८
लक्ष्यको आधा पनि धान किन्न सकेन खाद्य कम्पनीले

काठमाडौं । सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्यअनुसार धान किन्न सकेको छैन । कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि १९ हजार १०० मेट्रिकटन धान किन्ने लक्ष्य लिएको भए पनि हालसम्म ८ हजार १०७ मेट्रिकटन मात्र किन्न सकेको छ ।

शुरूमा कम्पनीले चालू आवका लागि ३० हजार मेट्रिकटन धान किन्ने लक्ष्य लिएको भए पनि गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको बेमौसमी वर्षात्का कारण किसानले लगाएको धानबालीमा क्षति पुगेको थियो । उक्त क्षतिका कारण लक्ष्य पूरा हुन नसक्ने देखिएपछि १९ हजार १ सय मेट्रिकटनमा झारिएको थियो । किन्ने लक्ष्य घटाए पनि अपेक्षित रूपमा धान नआएकाले लक्ष्यअनुरूप किन्न नसकिएको कम्पनीले बताएको छ । यद्यपि कम्पनीले हालसम्म किन्ने कार्य कायमै राखेको भए पनि लक्ष्य पूरा गर्न अझै करीब ११ हजार मेट्रिकटन धान किन्नुपर्ने देखिन्छ ।

सबैजसो किसानले धान विक्री गरिसकेकाले बजारमा छिटफुट मात्र आउने भएकाले कम्पनी आफ्नो लक्ष्य पूरा गर्न असमर्थ हुने पक्का देखिएको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले पनि कम्पनीले अब चालू आवका लागि लिएको धान किन्ने लक्ष्य पूरा गर्न नसक्ने स्वीकार गरिन् । उनका अनुसार यस वर्ष बेमौसमी वर्षात्का कारण सबैभन्दा बढी धान किनिने स्थान धनगढी र राजापुरमा समेत आशा गरिएभन्दा निकै कम मात्रामा धान किनिएको छ ।

प्रतिक्रिया दिनुहोस