
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ । स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको हो ।
स्वयम्भू र सानो भर्याङमा समेत साइट क्लियर हुन बाँकी छ । स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले बताए । त्यसैगरी सानो भ(याङमा रहेको विद्युतको हाइटेन्सन लाइन विद्युत प्राधिकरणले हटाउने भएपछि एक महिनापछि चिनियाँ पक्षले निर्माण थाल्ने मरासिनीले जानकारी दिए ।
उनले भने, “कलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स ९८ प्रतिशत पूरा भइसकेको छ । अब विस्तारको काम सुरु हुन्छ ।” कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको थियो । तर नेपालले चीनसँग गरेको आग्रहमा कलंकीदेखि चाबहिलसम्म ११.४६ किलोमिटर विस्तार गर्न चीन सकारात्मक भएको छ ।
तर, महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर साइट क्लियरेन्स हुन नसकेका कारण पूर्ण रुपमा साइट क्लियर भएपछि मात्र निर्माण थाल्ने चिनियाँ पक्षको भनाइ छ । सडक विभागले महाराजगञ्ज क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा दिनु पर्नेछ । विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको नदिने गरी फाइल अगाडि बढाइएको छ ।
सो क्षेत्र छोडेर काम गर्न पत्राचार गरिएको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिई तत्काललाई सम्झौता भएको क्षेत्रमा मात्र निर्माण थाल्ने संकेत देखाएको हो ।
प्रतिक्रिया दिनुहोस