aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

रुस–युक्रेन युद्धको बहानामा खाने तेलको मूल्यवृद्धि

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १७ फागुन २०७८
रुस–युक्रेन युद्धको बहानामा खाने तेलको मूल्यवृद्धि

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुुलुुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् । युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक र बिक्रेताले मूल्य बढाउन थालेका छन् । अहिले बजारमा खाने तेलको मूल्य प्रतिलिटर १० देखि २० रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव अमुल तुलाधरले पछिल्लो एक सातामा नै खाने तेलसँगै बजारमा चामल, चिनी लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुकोे मूल्य बढेको बताए ।  उद्योगी तथा ठूला व्यापारीलाई वस्तुको मूल्य बढाउन कुनै आधार नचाहिने भन्दै उहाँले युुक्रेनको युुद्ध सुुरु हुनेवित्तिकै बहाना बनाएर खाने तेल र अन्य उपभोग्य वस्तुको मूल्यवृद्धि गरिसकेको बताए । 

“सरकारको नियमनकारी निकाय युुक्रेनको युद्ध सुुरु हुनेवित्तिकै उद्योगीले खाने तेलको मूल्य बढ्दासमेत चुपचाप बस्नुु कति जायज हो ?” उनले प्रश्न गरे । सङ्घका अनुसार केही समयअघि मात्र खाने तेलको मूल्य प्रतिलिटर ४० रुपियाँसम्म बढेको थियो । फेरि युक्रेनमा युद्धको असर भन्दै पुनः मूल्य बढाउन थालेका हुन् ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने पछिल्लो समय तेलको मूल्य थोरै बढ्न थालेको भन्ने हल्ला सुुनेको र यस विषयमा चनाखो रहेको जनाएको छ । विभागका बजार निरीक्षक धनेश्वर पौडेलले केही समयअघि बढेको तेलको मूल्यको विषयमा विभागले अध्ययन गरिरहेको बताए । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साता महिनामा युक्रेनबाट नौ अर्ब ५१ करोड ६३ लाख रुपियाँको पाँच करोड ७३ लाख ६४ हजार केजी सनफ्लावर तेलको कच्चापदार्थ आयात भएको छ । नेपालमा सनफ्लावर तेलका लागि आवश्यक पर्ने कच्चापदार्थको अधिकांश आपूर्ति युक्रेनबाट नै हुने गरेको उद्योगीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस