aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

ललितपुर, महालक्ष्मी र कागेश्वरीका मेयरको पाँच वर्षे कार्यकाल कस्तो रह्यो ?

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • मंगलबार, १७ फागुन २०७८
ललितपुर, महालक्ष्मी र कागेश्वरीका मेयरको पाँच वर्षे कार्यकाल कस्तो रह्यो ?

काठमाडौं । सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । पाँच वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिहरूले के कति काम गरे भन्ने जनचासोको विषय छ । यही चासोलाई मध्यनजर गर्दै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाकामा निर्वाचित मेयरहरूले पाँच वर्षको अवधिमा के–के काम गरे भन्नेबारे आर्थिक न्युजले उनीहरूसँग कुराकानी गरी यो सामग्री तयार पारेको छ ।  कसले कति र के काम गरे हेर्नुहोस् कुराकानीको सम्पादित अंश ।            

चिरीबाबु महर्जन 

मेयर, ललितपुर नगरपालिका 

मैले पाँच वर्षको अवधिमा घोषणा पत्रमा उल्लेख गरेका भन्दा बढी नै काम गरेको छु । थप काम गरेको कारण नगरवासी पनि खुसी छन् । मैले भूकम्पले क्षति भएका सम्पदा क्षेत्र, मठ मन्दिर, शिवालय, देवालय, पुराना घरहरूको पुनर्निर्माण सम्पन्न गरेँ । त्यसबाहेक वातावरणीय क्षेत्रको विकासका लागि हरियाली अभिवृद्धिको निमित्त समेत महत्त्वपूर्ण काम गरेँ ।     

ललितपुर क्षेत्रमा चार वटा कमलका फूल फूल्ने पोखरी र ६८ वटा ढुंगेधाराहरु रहेका थिए । ती सबै ढुंगेधाराहरुमा पानी आउने गर्थ्यो । ती कमल फुल्ने पोखरी र ढुंगेधाराहरु हराए । राजकुलो पनि थियो, त्यो पनि सुक्यो । हाम्रा अग्रजहरुको अदूरदर्शिताका करण धेरै सम्पदाहरू नष्ट भए । अझैसम्म ती धाराहरूमा पानी ल्याउन सकेका छैनौँ ।     

कमलका फुल फूल्ने ती पोखरीहरू सुकेका छन् । त्यो ठाउँमा फेरी कमलको फूल सहितको पोखरी निर्माणको प्रक्रिया अघि बढाएका छौँ । ती सम्पदाहरूको पुनर्निर्माण गर्ने क्रममा आर्मीले उपभोग गरेको ३० रोपनी जग्गा हामीले फिर्ता लिएका छौँ । पोखरी पुनर्निर्माणको लागि राजदलगण लगनखेलसँग समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।  ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सत्त्तपाताल पोखरीको चार रोपनी दुई पैसा र आर्मीसँग लिएको तीस रोपनी गरी ४५ रोपनी जग्गामा पोखरीको पुनर्निर्माण गरी कमलको फूल फूलाउने योजना छ ।  

यसअघि ललितपुर महानगरको सडकमा १ हजार १२६ वटा सोलार बत्तीहरू जडान गरिएको थियो । तर ती बत्तीहरू अहिले कुनै काम लाग्दैनन् । यसका लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ती सोलार प्यानलहरू हटाएर स्मार्ट लाइट जडान गरेका छौ । स्मार्ट लाइट जडान गर्न दोस्रो चरणका लागि खोकना, हरिसिद्धि र धापाखेल आदि क्षेत्र रहेका छन् । यससँगै तेस्रो चरणमा चक्रपथको ७९ किलोमिटरको दायाँ बाँया क्षेत्रमा जडान गर्ने योजना बनाएका छौँ । यी क्षेत्रहरूमा नेपाल प्रहरीसँग समन्वय गरेर यो वर्ष चार वटा रुटमा स्मार्ट सिसिटिभीको व्यवस्थापन गर्ने योजना बनाएका छौँ । यसको ठेक्काका लागि सम्झौता समेत भइसकेको छ ।   

म जनप्रतिनिधि भएर आएपछि घोषणापत्रमा उल्लेख गरेभन्दा बाहिरका पनि धेरै काम गरेको छु । घोषणा पत्रमा पुलचोकदेखि थापाथलीसम्म फ्लाई ओभर राख्ने भनिएको थियो । तर, त्यो काम भने गर्न सकिन । अरू ठाउँको फ्लाई ओभर बनाउन मिले पनि पुल्चोकमा भने ६ वटा घरहरू अतिक्रमण गर्नुपर्ने भएकाले त्यहाँ निर्माण गर्न केही असहज भयो ।     

आफ्नै स्रोत र खर्चमा पाटनको भिमसेन मन्दिरसँगै ७५ वटा सार्वजनिक पाटी पौवाहरू निर्माण गरेका छौँ । यसका साथै बाल कुमारीको मन्दिर निर्माणको काम सम्पन्न भएको छ । खोकनाको मन्दिरको निर्माणको काम पनि भइरहेको छ । घोषणा पत्रमा उल्लेख गरे अनुरूप सबै घरहरूमा ब्लक नम्बर वितरण गर्ने काम पनि सम्पन्न भएको छ । योसँगै ट्याक्सीमा पनि गुगल म्यापबाट हेरेर घरसम्म पुग्न सकिने योजना बनाएका थियौँ । त्यसको व्यवस्थापन गरिसकेका छौँ । तीन नम्बर वडामा त्यो काम सकिसकेको छ ।

८ मिटरभन्दा माथिको बाटोको निर्माण गर्ने अधिकार महानगरपालिकालाई छैन । तर ८ मिटरभन्दा कम चौडाइ भएका ४२ किलो मिटर बाटोको कालोपत्रे गरिसकेको छ । यसका लागि पनि हामीले छुट्टै मापदण्ड बनाएर सडक निर्माण गरेका छौं । सरकारले निर्माण गरेको बाटो एक वर्ष नबित्दै भत्किने गर्छ । हामीले निर्माण गरेका सडकहरू घटिमा ७ वर्षसम्म टिक्छन् । यससँगै बाइसाइकल ट्रयाक बनाउँछु भनेका थियौँ । ३२ किलोमिटर बनाइसकेको छौं । चक्रपथको दुवै साइटमा ८ किलोमिटर इन्टरनेशनल स्यान्डर्डको बाटो बनाउन लागेका छौँ । 

कोभिडको समयमा पनि सबै नगरपालिकामध्ये उत्कृष्ट बन्न सफल भयौँ । सरकारले पनि हाम्रो महानगरपालिकालाई सम्मान गर्‍यो । भदौ २ गतेसम्म कोभिडबाट मृत्यु भएका २६९ घर परिवारलाई १ लाख २० हजार रुपैयाँ सहयोग गरेका थियौँ । आइसियु भेन्टिलेटरमा भएकाहरूलाई ६० हजार रुपैयाँ र पीसीआर पोजेटिभ भएकाहरूलाई ३० हजार रुपैयाँ दिने गरेका छौँ । पाटन दरबार स्क्वायरमा वर्षामा धेरै पानी जम्ने भएकाले त्यसको पानी कटान गर्नका लागि एसियन डेभलपमेन्ट बैंकसंग सहकार्य गरेर त्यसको व्यवस्थापन गर्न लागेका छौँ । एडिबीसँग १ करोड रुपैयाँ लिएर २.८ किलोमिटरमा १.४ बायोमिटरको पाइप राखेर पानीको निकासा गर्ने काम गरिरहेका छौँ । यसको आदी काम सकियो आदी बाँकी छ । आउँदो वर्षातसम्म सकिने छ । 

यससँगै शताब्दी पुरुष सत्यमोहन जोशीलाई सबै सुविधाहरू दिएर राखेका छौं । उहाँ १०० वर्ष पुगेको दिन सार्वजनिक बिदा दिएर उहाँलाई गद्दीमा राखी नगरपरिक्रमा गरायौँ । हाम्रो दर्शनमा मान्छेले गरेको काम मरेपछि सम्झिने गर्छौ । तर हामी जस्तो मान्छेले सम्मान गर्दा उहाँहरूलाई हौसला पनि मिल्छ । उहाँले लेखेका पुस्तकहरू पनि छापिदिएका छौं । 

यस अवधिमा विकास निर्माणका काममा प्रदेश सरकार र केन्द्रीय सरकारको कुनै पनि सहयोग र हस्तक्षेप गरेन । सरकारले कुनै पनि सहयोग गरेको छैन । प्रदेश सरकारले आदेश मात्र दिन्छ । कोरोनाको समयमा खोप पायौँ तर व्यवस्थापनको काम भने सबै हामीले नै गर्‍यौ । केन्द्रीय सरकारबाट खोप बाहेक केही पनि पाएका छैनौँ । आफू काँग्रेसको मेयर भएका कारण धेरै समय एमालेको सरकार चलेको बेला बजेट र आयोजनाका कामहरूमा पार्टीगत हस्तक्षेप पनि भयो । केन्द्रीय सरकारको तर्फबाट नियमित सहयोग बाहेक अरू कुनै सहयोग पाएका छैनौ । राजनीतिक भागबन्डाले गर्दा धेरै आयोजनाहरू पनि परेनन् ।

लक्ष्यभन्दा बढी राजश्व उठेको कारण पनि विकास खर्चमा समस्या भएन । गत वर्ष महानगरपालिकाले एक अर्ब ४१ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा लक्ष्य भन्दा ६९ प्रतिशत बढी राजश्व सङ्कलन गरेका थियो । हाम्रो राजस्व बढ्यो जसले गर्दा विकास निर्माणका काममा बजेटको अभाव छैन । यो वर्ष पनि १ अर्ब ९० करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएका छौ ।

महानगरपालिकाको बजेट ५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यसमध्ये १ करोड भन्दा बढी राजश्व सङ्कलन गर्छौ बाँकी पैसा केन्द्रीय सरकारले हेर्छ । एडिबीसँग पनि ५४ करोड लिएका छौ कोभिडका कारणले मात्र हो नत्र हामीसँग पैसा हुन्छ । हाम्रो भूगोल सानो भएकाले गर्दा पनि ठुला आयोजनाहरू बनाएका छैनौ । महानगरमा अहिले इलेक्ट्रिक बस सञ्चालन गर्न खोजेका छौ चैत्र अन्तिमसम्म सुरु हुन्छ । हाम्रा धेरै जसो आयोजनाहरू सम्पदा क्षेत्रमा रहेका छन्, बालकुमारी र इन्द्रायणी मन्दिर बनाउँदै छौ । साना ठुला सबै खाले मन्दिरहरू बनाउँदैछौ । यसका साथै व्यापक रूपमा ढुंगा  छाप्ने काम भइरहेको छ ।  

महानगरपालिकामा १७ वटा वडाका भवनहरू निर्माण भएका छन् । यसका साथै ज्येष्ठ नागरिकहरूका लागि पनि घरघरमा गएर खोप लगाइदिने काम गरेको छौ । यससँगै महानगरपालिकाको तर्फबाट वर्षेनि ज्येष्ठ नागरिकहरुलाई ५० हजार रुपैयाँ दिने गरेको छ ।  हामीले स्कुल, पार्क, ढुंगेधाराहरु निर्माण गरेका छौ । महानगर क्षेत्रमा जनताले खोजेको काम हामीले नगरेको केही छैन । महानगर क्षेत्रमा खुल्ला ठाउँ छैन । स्मार्ट सिटीका लागि खुल्ला ठाउँ पनि चाहिन्छ । यसका लागि हामीले सरकारी र एलेनी जग्गाहरूमा कुनै पनि निर्माणका काम गर्न दिएका छैनौ । यसका साथै यो क्षेत्रमा अपाङ्गता मैत्री धेरै कामहरू गरेका छौ । 

हामीले निर्माण गरेका शौचालयहरू अपाङ्गता मैत्री छन् । अपाङ्गता भएका मानिसहरूलाई अलि टाढासम्म जानका लागि अपाङ्गता मैत्री गाडीको पनि व्यवस्था गरेका छौ । उनीहरू एउटा गाडीमा ५ जना सम्म जान सक्छन् । यससँगै एउटै छाना मुनीबाट विपद्का समस्याहरू समाधान गर्नका लागि एम्बुलेन्स, दमकल, शव वाहन, नगर प्रहरी र अन्य सामाग्रीहरू पनि एउटै कम्पाउन्ड भित्र रहेको छ । विकास निर्माणका काममा सङ्घीय सरकारको कारण गाली पनि खानु पर्‍यो । आठ मिटर चौडाइका भन्दा बढीको बाटो सङ्घीय सरकारको पर्छ । उसैले टेन्डर गर्छ काम हुँदैन । स्थानीयले त्यो कुरा बुझ्दैनन् अनि हामीलाई गाली गरिरहन्छन् । एउटा किला ठोक्ने अधिकार पनि हामी सँग छैन । यही कुराले गाली खानु परेको छ । तर हाम्रो काम बाट सबै खुसी छन् । 

कृष्णहरि थापा

 मेयर, कागेश्वरी मनोहरा नगरपालिका 

हाल कागेश्वरी मनहरा नगरपालिकामा २८ हजार घरधुरी रहेका छन् । सबै नगरपालिकामा ८३३ वटा बाटो रहेको छन् । यी मध्ये ३३ प्रतिशत बाटो निर्माणका लागि ठेक्का अघि बढाइसकेका छौ ।  यस क्षेत्रका धेरैजसो बाटोहरूमा कालोपत्रे र ढलानका कामहरू भएका छन् । हामीले आफ्नो टोल आफै बनाउन भन्ने कार्यक्रम पनि सञ्चालन गरेका छौ । त्यसका लागि बजेट भने पर्दैन । यस नगरपालिकामा १०० घरधुरीले ५० हजार रुपैयाँ उठाएर बाटो ढलानको काम पनि गरेका थिए । अहिले हामीले त्यो बाटो पिच गरिसकेका छौ ।

क्रमागत रूपमा कागेश्वरी नगरपालिकाको विकास भएको छ । यस नगरपालिकाको विकासका लागि प्रत्येक नगर सभामा योजना बैंक  बनाउँछौ । सबै वडाका बाटो निर्माणका लागि योजना बनाउँछौ । कागेश्वरी नगरपलिकामा दुई वटा बाटो संघिय सरकारको पर्छ । अरू सबै बाटो निर्माणको काम हामीले गरेका छौ ।

हामीले ६६ करोड बजेट पहिलो नगर सभामा पेस गरेको थियौ । यो वर्ष २ अर्ब ३ करोड पुर्‍याएका छौ । १ अर्ब ५३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ भने ४४ करोड रुपैयाँ चालु खर्च रहेको छ । २६ प्रतिशत पुँजीगत खर्च गरेको छौ । कुनै वर्षमा पनि पुरा खर्च गर्न सकेका छैनौ ।  अहिले पनि १ अर्ब ६६ करोड रुपैयाँ मा १ करोड ४० लाख रुपैयाँ खर्च हुनै बाँकी छ । कर लगाएर भए पनि सरकारले शिक्षा क्षेत्रमा भन्दा स्वास्थ्य सेवामा निःशुल्क गर्नुपर्छ । क्यान्सर र मिर्गौला पीडितका साथै सुगर प्रेसर जस्ता बिरामीहरूको कार्ड बनाइदिएर उनीहरूको निःशुल्क उपचार गर्नुपर्छ । कागेश्वरी नगरपालिकामा पनि स्वास्थ्य बिमा लागु गरेका छौ । 

यसअघि यो क्षेत्रमा पाँच वटा स्वास्थ्य केन्द्र रहेका थिए भने अहिले १० वटा स्वास्थ्य केन्द्र बनेका छन् । एउटा शव वाहन र एम्बुलेन्स निःशुल्क सञ्चालन गरेका छौ । मिर्गौला र क्यान्सरका बिरामीहरू र ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क गरेका छौ । कोरोना महामारीमा मुलपानी हस्पिटल पनि सञ्चालनमा ल्याएसँगै कागेश्वरी मनहरा नगर अस्पतालको नाममा परिचित गर्न लागेका छौ । अन्य महानगरमा हस्पिटलहरू भए पनि हाम्रोमा थिएन । अक्सिजन प्लान्ट राखेका छौ । आइसियु र भेन्टिलेटर पनि राखेका छौ ल्याबको पनि सुविधा छ । अहिले हाम्रोमा सबै प्रकारको परीक्षण गरिन्छ । एन्टिजेन परीक्षण गर्नेमा काठमाडौं महानगरपालिका भन्दा पहिलो छौ । यस क्षेत्रको विकास र परिवर्तनले विपक्षीले पनि कामको विषयमा दोष लगाउने ठाउँ पाएका छैनन् । बाटो विस्तार खानेपानी र भौतिक पूर्वाधारको विकासमा नै जोड दिएका छौ । बाटो पिच हुँदा घर जग्गाको मूल्य बढेको छ । मान्छेको जीवनस्तर पनि उठेको छ । ७० प्रतिशत जनता खुसी छन् ।

विकास हामीले देखाएर देखिँदैन गरेर देखाउनुपर्छ  । हाम्रो लक्ष्य भनेको स्वच्छ सफा कागेश्वरी बनाउने हो । समग्र क्षेत्रमा नगरवासीले सुविधा पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । अरू नेताहरूले जस्तो सय दिनमा यस्तो काम गर्छु भनेर भन्दिन । मैले १८०० दिन काम गर्ने हो ।  योजना अनुसार शिक्षामा प्रगति गरेका छौ हस्पिटल खोलेका छौं । हामी जनप्रतिनिधिले पार्टी भन्दा माथि उठेर काम गर्नुपर्छ । विपक्षीले भोट दिएको छैन भनेर काम नगर्ने भन्ने हुन्न । हामीले ठुला काम गर्ने घोषणा गरेका छैनौं । 

२६ हजार रोपनीको जग्गामा बनाउन लागेको नयाँ सहर निर्माणको काम घोषणा पत्रमा थिएन । नगरपालिकाका भवन स्वास्थ्य कार्यालय, प्रत्येक वडामा कार्यालय भवन निर्माण गरेका छौ । हस्पिटललाई सुधार गरेका छौ । घोषणापत्रमा सबै राम्रो काम नै लेखेको हुन्छ । त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्नेमा भर पर्छ । जुन क्षेत्रमा कायापलट गर्छौ भनेका थियौ त्यो काम गरेका छौं । भोट माग्न मात्र आउँछन् भन्ने परिपाटीलाई मेटाउन २०७७ माघ १ गतेदेखि टोल टोलमा मेयर भन्ने कार्यक्रम पनि चलाएको छौं । १ गतेदेखि ९ गतेसम्म ९ वटा नै वडामा जान्छु । त्यो काम अहिले कसैले गरेको छैन । भोट माग्न मात्र आउँछ भन्ने परिपाटीलाई मेटाएको छु । 

कागेश्वरी मनहरा नगरपालिकामा नेपालकै दोस्रो ठुलो स्कुल पनि बन्ने भएको छ । पहिलो चाइनाले बनाएको दरबार हाई स्कुल हो । यस नगरपालिकामा १६ वटा सामुदायिक स्कुल रहेको छन् । जसमा दक्ष शिक्षकहरू छनौट गरेका छौ ।  हामीले शिक्षा क्षेत्रमा पनि धेरै सुधार गरेका छौ । पुनर्निर्माण प्राधिकरणले धेरै भौतिक निर्माणका कामहरू पनि गरेको छ । कक्षा पाँचसम्म खाजा खर्च पनि दिएका छौ ।  एक शिक्षक एक ल्यापटपको व्यवस्था गर्न लागेका छौ । जसका लागि ४० हजार रुपैयाँ पैसा नगरपालिकाले व्यहोर्ने छ भने बाँकी पैसा उनीहरूले व्यहोर्नेछन् । 

कृषि क्षेत्रको विस्तारका लागि धान, आलु र मकैको बिउका साथै सिजन अनुसार तरकारीका बिरुवाहरू पनि बाँड्ने गरेका छौ । पाँच रोपनी जग्गामा व्यवस्थित खेती गर्नेलाई १ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेका छौ । समूह खोलेर २० रोपनी जग्गामा खेती गर्नेलाई पाँच लाख रुपैयाँ हामीले सहयोग पनि गरेका छौ ।  अहिले कागेश्वरी, गोकर्णेश्वर र शंखरापुर गरी तीन वटा नगरपालिका मिलेर २६ हजार रोपनी जग्गामा व्यवस्थित बस्ती बनाउन लागि परेको छ । यी बस्तीमा कागेश्वरी १ देखि चार नम्बर वडा, गोकर्णेश्वरको एक, दुई र चार नम्बर वडा र शंकरापुरको ९ नम्बर वडा पर्दछन् । यस योजनामा कागेश्वरी नगरपालिकाले ५० प्रतिशत व्यहोर्ने छ भने ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शंखरापुर नगरपालिकाले गर्नेछ । 

स्थानीय सरकारले धेरै विकास र निर्माणका काम गरेको छ । प्रदेश सरकारले पनि प्राविधिक सहयोग गर्नुपर्‍यो । संघिय सरकारले सहरी विकासका नाममा पनि खर्च गरिरहेको छ । एकद्धारको प्रणाली लागु हुनुपर्‍यो । कागेश्वरी मनोहरा नगरपालिकाले धेरै ठुला योजनाहरू ल्याएको छैन । स्थानीय सरकारलाई जे जति पैसा दिन्छ त्यो पैसा फ्रिज नहुने गरी गरेका छौ । स्थानीय तह मर्ज भएर उपमहानगरपालिका पनि हुनसक्छ । त्यसलाई मध्यनजर गरेर पनि सात तले भवन निर्माण गरेका छौ । यसको ५६ करोड रुपैयाँ लागत रहेको छ । संघिय सरकारले निर्माण गरेका नीतिहरूको कार्यान्वयन गर्न स्थानीय तहलाई दिनुपर्छ । अहिले पनि नगरपालिकालाई धेरै पैसा आउँदैन । संघिय सरकाले दिने ५० करोड रुपैयाँ हो । प्रदेश सरकारले ९ करोड रुपैयाँ जति दिन्छ । गत वर्षकै खर्च गर्न नसकेको ४४ करोड छ । यो वर्षको बजेट पनि थोरै बढाएका छौ । अहिले पनि हामीले एक अर्ब २९ करोड रुपैयाँ राजस्व सङ्कलन गरिसकेका छौं ।  

दुई वर्ष कोरोनाले गर्दा काम गर्न नपाए पनि बाँकी दुई वर्षमा पनि धेरै काम गर्न सफल भएका छौ । हामीले कोरोनाको महामारीमा पनि आफ्नो अनुकूलमा काम गर्‍यौ । गत वर्ष टेन्डर लिएका कामहरू सुचारु भएका छन् । यस नगरपालिकाको आम्दानीको स्रोत पनि आन्तरिक नै हो । अहिले डेढ करोड राजस्व उठी सक्यो । ३५ करोडको अनुमान गरेका छौ । राजस्व उड्ने निकायहरू पनि बढेका छन् । मालपोतबाट आउने छुट्टै छ ।    

रामेश्वर श्रेष्ठ

मेयर, महालक्ष्मी नगरपालिका 

स्थानीय चुनावमा म यस नगरपालिकाको मेयर पदमा निर्वाचित भएर आएपछि पूर्वाधारको विकास देखि कानुनको विकास पनि शून्य अवस्थाबाट सुरुवात गरे । समग्रमा हेर्दा चुनावताका मैले गरेका प्रतिबद्धता पाँच वर्षको अवधिमा सबै पुरा गरेको छु । यस अवधिमा नगरपालिकाले राम्रो नतिजा प्राप्त गरी गन्तव्यमा पुग्न सफल भएको छ । जनताले चाहेजति अपेक्षाकृत रूपमा सबै क्षेत्रको रूपमा विकास गर्न नसके पनि आधारभूत रूपमा धेरै काम गरेका छौं । एकल अधिकार र साझा अधिकारको ५५ वटा कानुन निर्माण गरेका छौं । कानुन निर्माणको आधारमा नगरपालिकाले प्रदान गर्ने सेवालाई चुस्त दुरुस्त र पारदर्शी बनाउने नीतिलाई अवलम्बन गरेर सेवा प्रवाह गरेका छौ ।  

महालक्ष्मी नगरपालिका पूर्वाधारमा शून्य अवस्थामा थियो । यस्तो अवस्थामा पूर्वाधारलाई प्राथमिकतामा राखी यस नगरपालिकाले सबै वडामा बाटो विस्तार गरेको छ । विकासलाई प्राथमिकतामा राखेर सबै वडामा बाटो विस्तार गरी कालोपत्रे र ग्राभेल गरेका छौं । आफ्नै लगानीमा गोदावरी खोलामा पुल निर्माण पनि गरेका छौं । हाम्रो सक्रियता र सडक डिभिजन कार्यालयको सहयोगमा थप दुई वटा पुल निर्माण सम्पन्न भएका छन् भने थप तीन वटा पुलहरू निर्माण भइरहेका छन् ।  

हामीले बनाएका पुल दुई लेनका छन् भने केन्द्रीय सरकारको सहयोगमा बनेको पुल चार लेनको रहेको छ । केन्द्रीय सरकार र सडक डिभिजनको सहयोगमा तीन वटा पुल निर्माणको काम अघि बढेको छ । हामीले भौतिक पूर्वाधारका साथै पर्यटकीय क्षेत्रमा पनि विकास गरेका छौं । लाँकुरी भन्ज्याङमा मनमोहन मेमोरियल टावर निर्माणको काम सम्पन्न भएको छ । यससँगै मनमोहन मेमो रियल पार्क बनाउनका लागि पनि टेन्डर भइसकेको छ । वडा नम्बर नौ मा गणेशमान मेमो रियल पार्कको प्रवद्र्धनमा नगरपालिकाले लगानी गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गरेका छौं ।  

यस नगरपालिकाबाट धेरै जनशक्तिहरू विदेश पलायन हुने गरेका थिए । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र उद्यमी बनाउनका लागि निःशुल्क रूपमा बिउ पुँजी र प्रविधि हस्तान्तरण गर्ने गरेका छौ । युवाहरूलाई बिदेसिनबाट रोक्नुपर्छ भनेर सबैलाई उत्पादन सँग जोडेर उद्यमी बनाउन लागि परेका छौ । थप अभाव पुँजी परिपूर्ति गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सरल कर्जामा ऋण लिने व्यवस्था पनि गरेका छौं । 

महालक्ष्मी नगरपालिकामा खानेपानीको समस्या थियो । खानेपानीलाई प्राथमिकतामा राखेर दीर्घकालीन समस्या समाधानको लागि मेलम्चीको कार्यक्षेत्र पार्न सफल भएका छौँ । यसका साथै अल्पकालीन रूपमा पानीको समस्या समाधानको लागि काठमाडौं उपत्यकाको खानेपानी विभागसँगको सहकार्यमा सबै वडामा पानीको पहुँच पुर्‍याउन डिप बोरिङ मार्फत नगरपालिकाले काम अघि बढाएका छौं । गत आर्थिक वर्षमा नगरपालिका आफैले पाइपलाइन विस्तार, रिजर्भ ट्याङकी बनाउन थप ट्याङकी निर्माण गर्न र बोरिङका लागि पनि आठ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका थियौ । यस वर्ष पनि तीन करोड रुपैयाँ भन्दा बढी खानेपानीको लागि लगानी गरेका छौं ।  

नगरपालिकामा फोहोर व्यवस्थापन र विस्थापन गर्ने ठाउँ थिएन । यस क्षेत्रमा भएको फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रहरूसँग सहकार्य गरी घरघरबाट फोहोर सङ्कलन गरेर फोहोर व्यवस्थापन केन्द्रसम्म पुर्‍याउने गरेका छौं । फोहोर व्यवस्थापनका साथै हामी आफैले मानव मलमूत्रलाई ट्रिटमेन्ट प्लान्ट बनाउन लागि परेका थियौ । प्राविधिक कारणले गर्दा त्यो काम गर्न नसके पनि सबै घरहरूले अनिवार्य रूपमा सिल सेफ्टिी ट्याङकी बनाउनुपर्छ भनेर लागि परेका छौं ।  

यससँगै पर्यटन क्षेत्रको विस्तार र कला संस्कृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि यस नगरपालिकाले लोपोन्मुख बाजाहरूको संरक्षणका लागि आवश्यक बजेट प्रवर्द्धन गरेर व्यवस्थापन पनि गरेका छौं  । यस नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्वाधारको पनि पूर्वाधार मानेर विकासका काम अघि बढाएको छ । हामीले शिक्षा क्षेत्रमा पनि राम्रो प्रगति गरेका छौं । गुठीबाट सञ्चालित, सामुदायिक र निजी तीन वटै विद्यालयहरूलाई समानरुपमा अघि बढाएका छौं ।  

विशेषगरी सामुदायिक विद्यालयहरूको स्तर उन्नति र गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकारलाई स्थापित गर्नका लागि नगरपालिकाले नीति बनाएर अघि बढेसँगै शिक्षामा पनि आमूल परिवर्तन गर्न सफल भएका छौं । पाँच वर्ष अघिको तुलनामा हेर्ने हो भने आज सबै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या दोब्बरले बढेको छ । शिक्षामा विकास नभएसम्म कुनै पनि क्षेत्रको विकास हुन सक्दैन । शिक्षामा गरेको लगानी तत्काल नदेखिए पनि शिक्षामा लगानी गरेका छौँ । स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक बनाएका छौं ।    

यससँगै महिनावारीको समयमा छोरीहरू स्कुलमानबाट वञ्चित नहोस् भनेर स्यानीटरी प्याड वितरण गर्ने काम हामीले सुरुवात गरेका थियौ । अहिले यो कामलाई सरकारले पनि निरन्तरता दिएको छ । महालक्ष्मी नगरपालिमा पाँच वटा मात्र स्वास्थ्य चौकीहरू रहेका थिए । अहिले १० वटै वडामा स्वास्थ्य चौकीको विस्तार भएका छन् । किष्ट मेडिकल कलेजसँग स्थानीय बासिन्दाहरू जोसुकैले पनि सेवा लिन जाँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं ।  ज्येष्ठ नागरिकहरूका लागि हरेक महिना स्वास्थ्य चौकीबाट उनीहरूको घरमा गएर स्वास्थ्य परीक्षण गर्ने र सुगर प्रेसरका आवश्यक न्यूनतम औषधिहरू निशल्क रूपमा बाडेका छौं । २४ सै घण्टा बर्थिङ सेन्टरको व्यवस्था गरेका छौ । औषधि अभावको व्यवस्थालाई स्थापित गरेका छौं । डेन्टल सेवा पनि लिएका छौं ।  

कोभिडका समयमा पनि कोही पनि नागरिकलाई भोकै बस्न दिएनौ । कोरोनाबाट परिवार गुमाए बालबालिकाहरूको लागि पनि राहत र अनुदान दिने गरेका छौ । परिवार गुमाए पनि पनि नगरपालिका छ भन्ने प्रत्याभूति दिनका लागि कोरोनाले मृत्यु भएका परिवारका १८ वर्ष भन्दा मुनीका छोराछोरीहरू पढाइबाट वञ्चित नहोस् भन्ने हेतुले वार्षिक अनुदानका रूपमा २५ हजार रुपैयाँ दिने व्यवस्था गरेका छौं । यसका साथै गरिब विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरू पढाइबाट वञ्चित नहुन भन्ने उद्देश्यले वडा नम्बर १० का सामुदायिक विद्यालयमा पढ्ने सबै छोरीहरूलाई वार्षिक छ हजार रुपैयाँ समेत दिने गरेका छौं ।  यससँगै एक नम्बर वडा देखि नौ नम्बर वडा सम्मका दलित जनजाति विपन्न र मध्यम वर्गका छोरा पढाउन सक्ने तर छोरीलाई काममा लगाउने प्रथाको अन्त्य गर्नका लागि पनि छोरीहरूलाई वार्षिक रूपमा छ हजार रुपैयाँ दिने गरेका छौं । 

नगरपालिकाले एकल महिलाहरूका लागि पनि आत्मनिर्भर बनाउनका लागि विभिन्न किसिमका रोजगारी सिर्जना गर्ने तालिमहरू दिने गरेको छ । साथै ती एकल महिलाहरूले उद्योग र व्यवसाय दर्ता गर्न आएमा पनि निःशुल्क गरिदिने र उत्पादित सामानहरूबाट भएको मुनाफाबाट राज्यलाई तिर्नुपर्ने दायित्वमा पनि २५ प्रतिशत छुट गरिदिने व्यवस्था गरेका छौं । यस नगरपालिकाले गरिब विपन्न दलित एकल महिला लगायत बेरोजगार युवाहरूलाई उद्यमी बनाइ उत्पादन सँग जोडेर आर्थिक उपार्जनमा लगाइरहेको छ । अहिले हाम्रो पालिकाको सबै क्षेत्रबाट सार्वजनिक यातायातको पहुँच पुर्‍याएका छौं । नगरवासीहरू पछुताउनु नपर्ने गरी काम गरिरहेका छौं । जुन विश्वासका साथ नगवासीहरूले मलाई जिताउनु भएको थियो, उहाँहरूलाई पश्चात्ताप हुन दिएको छैन । नगरपालिकाको प्रगतिले विकासले सबै नगरवासीहरू खुसी छन् । 

२०६८ को जनगणनामा महालक्ष्मी नगरपालिकामा ६२ हजार जनसङ्ख्या थियो । तर ३ लाख जनताहरूलाई सेवा दिनु परिरहेको छ । सरकारबाट आउने बजेट ६२ हजार जनसङ्ख्या र भूगोलको आधारमा मात्र आउँछ । हामीले त्यो चुनौतीलाई पनि अवसरका रूपमा लिएर सबैलाई समानरुपमा नगरपालिकाले सेवा प्रदान गरेको छ । हामीले चुनावी प्रतिविद्धताको क्रममा प्रशासकीय भवन बनाउने भनेका थियौ । तर नगरपालिकाको आफ्नै प्रशासकीय भवन बनाउन सकेको छैनौ । त्यसका लागि आठ रोपनी जग्गा चाहिन्छ । यो पालिकामा आठ रोपनी जग्गा पनि छैन । जग्गा खरिद गर्नका लागि आर्थिक स्रोत पनि नभएका कारण प्रशासकीय भवन बनाउन सकेनौ । 

हामीले यस नगर क्षेत्रमा सिटिहल बनाउने भनेका थियौ । स्थानीयहरूको अवरोधका कारण बनाउन सकेनौ । तर सबै वडाहरूमा भवन निर्माणको काम भने अघि बढाएका छौं  । अनुभव र दक्ष जनशक्तिको अभावमा पनि नगरपालिकाको अधिकतम स्रोतहरूलाई प्रयोग गरेर धेरै कामहरू गरेका छौ । हामीले २५ किलोमिटर सडक कालोपत्रे गरिसकेका छौ । ८ करोडको ठेक्का भएको गोरावादीको पुल पाँच करोडमा बनायौ । गणेशमान पार्क निर्माणका लागि गत वर्ष २० लाख र यो वर्ष ४० लाख रुपैयाँ लगानी गरेका छौं । मनमोहन मेमो रियल पार्कको लागि १५ करोडको टेन्डर भइसकेको छ ।

भ्रष्टाचार र शून्य शहनशिलतालाई स्थापित गरी पारदर्शिता र सुशासन कायम गर्न नगरपालिका दत्तचित्त भएर लागिरहेको छ । सरकारले जनसङ्ख्या र भूगोललाई हेरेर मात्र बजेट छुट्ट्याउँछ । त्यति मात्र होइन सरकारले आवश्यकताको सिद्धान्तलाई आधार मानी विकासको आवश्यकतालाई हेरेर पालिकाको माग अनुसार बजेट वितरण गर्नुपर्नेमा पहुँचको आधारमा बजेट विनियोजन गर्ने गर्छ । आवश्यकतामा भन्दा पहुँचको आधारमा बजेट विनियोजन गर्ने प्रथाको अन्त्य हुनुपर्छ ।   

 

 

प्रतिक्रिया दिनुहोस