
वीरगञ्ज । विश्व बजारमा कच्चा पदार्थमा भइरहेको निरन्तर वृद्धि नेपालका तेल उद्योगका लागि वरदान सावित भएको छ । भारतले खानेतेल र यसको कच्चा पदार्थको आयातमा सीमा शुल्क घटाएपछि चिन्तित स्वदेशी तेल उत्पादकलाई कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले यति बेला उत्साह थपेको छ ।
भारतले तेल आयातमा सीमा शुल्क ४० प्रतिशतबाट साढे ५ प्रतिशतमा झारेपछि अब भारत निकासी बन्द हुने भयो भन्दै स्वदेशी उद्योग आत्तिएका थिए । तर, अहिले पनि निर्यात व्यापारमा प्रशोधित तेलकै वर्चस्व छ । नेपालका उद्योगहरूसँग भण्डार पर्याप्त भएकाले विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेपछि नेपाली उद्योगले फाइदा लिन सक्ने अवस्था बनेको हो ।
स्वदेशी उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका छन् । अन्तरराष्ट्रिय बजारबाट नेपालमा कच्चा पदार्थ भित्त्याउन ३ महीना लाग्ने र प्रशोधन गरी निकासी गर्न थप समय लाग्ने उद्यमी बताउँछन् । ‘कच्चा पदार्थको मूल्य उकालो लाग्ने क्रम नरोकिएकाले नेपालको उत्पादन भारततर्फ निकासी सम्भव भएको हो,’ नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले भने ।
आयातकर्ताले सस्तोमा किनेको कच्चा पदार्थ प्रशोधन गरेर मूल्य बढेका बेला बेच्न पाएकाले निकासी सम्भव भएको अन्नपूर्ण भेजिटेबलका सञ्चालक प्रभुदयाल अग्रवालको भनाइ छ । भारतले अन्य देशबाट हुने आयातमा साढे ५ प्रतिशत सीमा शुल्क र ५ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) लिन्छ ।
साफ्टा सुविधाअन्तर्गत नेपालबाट भारततर्फ हुने निकासीमा सीमा शुल्क लाग्दैन । भारतीय तेल उद्योग प्रायः बन्दरगाह नजिक भएकाले कच्चा पदार्थ मौज्दात राख्दैनन् ।
मूल्य बढिरहेकै कारण भारतमा उत्पादित तेलको तुलनामा कम मूल्यमा आएको कच्चा पदार्थबाट नेपालमा उत्पादित तेल सस्तो पर्ने अग्रवालले बताए । अन्तरराष्ट्रिय बजारमा भटमास र पाम तेलको मूल्य प्रतिमेट्रिकटन १२ सयबाट १९ सय अमेरिकी डलरसम्म पुगेको आयातकर्ता बताउँछन् ।
रूस–युक्रेन युद्धका कारण मूल्यमा थप चाप परेको उनीहरूको भनाइ छ । बितेको १ हप्तामै प्रतिटन १५० डलर भाउ बढेको छ ।
भटमासको दानाको मूल्य २ दिनमै प्रति मेट्रिकटन १२५ डलरले वृद्धि भएको ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस