aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मोबाइल वालेटबाटै ऋण लिन सकिने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, १८ फागुन २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटबाटै ऋण लिन पाउने व्यवस्था गर्ने भएको छ । मोबाइल वालेट प्रयोगमा लोकप्रियता बढेसँगै त्यसबाट सानो आकारको ऋण लिने सुविधासमेत दिन लागेको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा मोबाइल वालेटबाट ऋण प्रवाह गर्ने व्यवस्थाका लागि आवश्यक अध्ययन गर्ने उल्लेख थियो । यसको अध्ययनपश्चात् ऋण प्रवाहसम्बन्धी निर्देशन जारी गर्ने राष्ट्र बैंकले बताएको छ ।

‘मौद्रिक नीतिको घोषणाअनुसार हामी यसबारेमा आवश्यक अध्ययन गर्छौं,’ भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, ‘त्यसपछि मात्र वालेट प्रयोगकर्ताका लागि यो सुविधा प्रदान गर्न निर्देशन जारी गर्छौं ।’

अहिलेसम्म वालेटबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, खानेपानीलगायत युटिलिटी बिल भुक्तानी, अनलाइन कारोबारको बिल तिर्नेलगायत सुविधा उपलब्ध छन् ।

राष्ट्र बैंकले माघ अन्तिम साता बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय माध्यमबाटै ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ । विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन–२०७८ अनुसार बैंक तथा वित्तीय संस्थाले तलबी खाता भएका ग्राहकलाई अधिकतम ५ लाख र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सक्छन् ।

बैंकहरूले वालेटहरूलाई प्रतिनिधि नियुक्त गरेर समेत यस्तो कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । उनीहरूले कर्जा आवेदनदेखि असुलीसम्मका काममा सहजीकरण गर्न सक्नेछन् ।

वालेट कम्पनीहरू भर्खरै खुल्दै गरेको र उनीहरूसँग पर्याप्त पूर्वाधार तथा क्षमता नभएकाले तत्कालका लागि बैंक तथा वित्तीय संस्थाहरूले मात्र विद्युतीय कर्जा दिन पाउने व्यवस्था गरिएको कार्यकारी निर्देशक पौडेलले बताए 

प्रतिक्रिया दिनुहोस