
काठमाडौं । नेपाली व्यवसायीले फ्रान्समा ७ करोड रुपैयाँभन्दा बढीमा किनेका अक्सिजन प्लान्ट ढुवानी कम्पनीले अटेरी गर्दा त्यही रोकिएका छन् ।
पुनःनिर्माण नेपाल नामको गैरसरकारी संस्थाको संयोजनमा व्यवसायी, सामाजिक संस्थाहरूको साझेदारीमा १० थान अक्सिजन जेनेरेटर प्लान्ट ९ महीनाअघि फ्रान्समा किनिएको थियो । ‘सामान किनेपछि फ्लास फ्रेट लजिस्टिक कम्पनीलाई ढुवानीको जिम्मा दिइएको थियो,’ अक्सिजन जेनेरेटर प्लान्ट किन्नेमध्येका एक व्यवसायीले भने, ‘तर, अनेक प्रयास गर्दा पनि कम्पनीले ढुवानी गर्न मानेको छैन ।’
कोरोना महामारीका बेला अक्सिजन प्लान्ट किन्न विभिन्न ६ व्यावसायिक घरानाले लगानी गरेका थिए । तत्कालीन नियमअनुसार अक्सिजन प्लान्टको ढुवानीमा लाग्ने खर्च सरकारले बेहोरेको थियो । त्यस कम्पनीलाई अक्सिजन प्लान्ट ढुवानीका लागि सरकारले २ लाख ७५ हजार अमेरिकी डलर भुक्तानी गरिसकेको बताइएको छ ।
त्यसपछि उक्त कम्पनीले ढुवानीका लागि नेपाल एअरलाइन्ससँग २ लाख ७२ हजार अमेरिकी डलर तिर्ने गरी सम्झौता गरेको थियो । सम्झौता गरे पनि ढुवानी कम्पनीले अक्सिजन प्लान्ट ढुवानीमा अटेरी गर्दै आएको व्यवसायीको भनाइ छ ।
सामान ढुवानीका लागि कम्पनीका तर्फबाट दीपेश अधिकारी र क्रेताका तर्फबाट अमेरिकामा रहेको पुनःनिर्माण नेपालका अध्यक्ष डा। मदन उप्रेतीले हस्ताक्षर गरेका थिए ।
ती अक्सिजन प्लान्ट गएको पुस महीनाभित्र नेपाल ल्याइसक्ने सम्झौता थियो । नेपाल ल्याइएपछि ती अक्सिजन प्लान्टमध्ये २ काठमाडौंको शिक्षण अस्पतालमा, ३ गण्डकी तथा लुम्बिनी अस्पतालमा, दमकको आम्दा र दार्चुला अस्पतालमा १र१ थान प्लान्ट जडान गर्ने लक्ष्य थियो । फ्रान्सबाट ल्याउने भनिएको अर्को १ थान डँडेलधुराको जोगबुढा अस्पतालमा जडान गर्ने सरकारी योजना थियो ।
ढुवानीकर्ताको अटेरीले ती अक्सिजन प्लान्ट ल्याउन नसक्दा यतिखेर व्यवसायीको लगानी मात्र डुबेको छैन, सर्वसाधारणले सेवा पनि लिन पाएका छैनन् । कोरोना महामारीको बेला अस्पतालहरूमा अक्सिजन प्लान्टको निकै जरूरी थियो । कोरोना महामारीमा अक्सिजन नपाएरै कैयन् बिरामीको ज्यान गएको थियो ।
सम्झौताअनुसार ढुवानी नगर्ने कम्पनीका प्रतिनिधि अधिकारीसँग सम्पर्क गर्दा उनी पछि कुरा गर्ने भन्दै पन्छिए । त्यसपछि उनी सम्पर्कमा आउन चाहेनन् ।
अक्सिजन प्लान्ट किन्नेमध्येका एक व्यवसायीले यतिखेर कार्गो कम्पनीले जहाज भाडा बढेको तर्क गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस