
काठमाडौं । ‘नयाँ युगको शुभारम्भ’ भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अहिलेसम्म योगदानकर्ताले जम्मा गरेको अधिकांश रकम मुनाफायुक्त क्षेत्रमा लगानी भएको छैन ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जम्मा भएको रकमसहित विभिन्न शीर्षकमा उठाइएको अर्बौं रकमलाई मुनाफामूलक कार्यमा परिचालन गर्न नसक्दा लगानीकर्ताले थप लाभ प्राप्त गर्ने सम्भावना पछि धकेलिएको छ ।
कोषका अनुसार अहिलेसम्म रू. ४३ अर्ब जम्मा भइसकेको छ । त्यसमा सासु कार्यक्रमअन्तर्गतको योगदान रकम रू. १३ अर्ब ३७ करोड हो । यस्तै, राष्ट्रिय कल्याणकारी कोषको २८ अर्ब सामाजिक सुरक्षा कोषसँगै छ । यस्तै, सामाजिक सुरक्षा करअन्तर्गतको रू. १ अर्ब र विविध शीर्षकमा कोषसँग २ अर्ब छ ।
यो रकममध्ये हालसम्म करीब २ अर्ब मात्रै परिचालन भएको सामाजिक सुरक्षा कोषका अधिकारीहरू बताउँछन् । सामाजिक सुरक्षा कोषको लगानीसम्बन्धी कार्यविधिअनुसार सरकारी ऋणपत्र, शेयर, डिवेन्चर, म्युचुअल फन्ड तथा स्थिर सम्पत्तिसम्ममा लगानी गर्न सक्ने व्यवस्था छ ।
कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीका अनुसार सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकममध्ये २ अर्बलाई डिबेन्चरमा लगानी गरिएको छ भने अन्य रकम बैंकको मुद्दती खातामा राखिएको छ । ‘धेरैजसो रकम मुद्दती खातामा राखिएको छ, सरदरमा ८ प्रतिशत ब्याज आइरहेको छ, समस्या छैन, अरू रकम लगानी गर्न आवश्यक तयारी हुँदै छ,’ पन्थीले भने ।
कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्न भन्दै डेढ वर्षअघि नै त्यससम्बन्धी कार्यविधि मन्त्रिपरिषद्ले पास गरेको थियो ।
प्रतिक्रिया दिनुहोस