aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘रुस–युक्रेन युद्धको कारण नेपालमा महँगी चुलिन सक्छ’

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, २० फागुन २०७८
‘रुस–युक्रेन युद्धको कारण नेपालमा महँगी चुलिन सक्छ’

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ । भारत, चीन, इन्डोनेसिया, अमेरिका, अर्जेन्टिना र अस्ट्रेलियापछि नेपालको ठूलो वैदेशिक व्यापार रुस, युक्रेनसँग रहेको छ ।   

विशेषगरि युक्रेनबाट नेपालमा भटमास, सनफ्लावर र पाम तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात हुने गरेको छ । उक्त कच्चा पदार्थलाई नेपाली उद्योगी व्यवसायीले प्रशोधन गरि निर्यात गर्ने गर्छन् ।  नेपालको निर्यात व्यापारको करिब आधा हिस्सा यही प्रशोधित भटमास, सनफ्लावर र पाम तेलको रहेको छ ।   

यी दुई देशको युद्धका कारण नेपालमा खाने तेलदेखि इन्धनको मूल्य समेत चुलिएको छ । यसको प्रत्यक्ष प्रभाव दैनिक जनजीवनदेखि नेपाली भान्सासम्म पुगेको छ ।  रुस–युक्रेन युद्धका कारण नेपालमा खाने तेलको मूल्यवृद्धिसँगै सर्टेज हुनसक्ने चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले बताए ।  

उनले भने, ‘खाने तेलमा प्रयोग हुने कच्चा पदार्थहरू बाहिर देशबाट आयात गर्ने गरिएको छ । उक्त आयातित कच्चापदार्थ रिफाइन गरेर खाने तेल तयार गरिएको छ । यसो हुँदा युक्रेन–रुसको असर नेपाली खाने तेलमा पर्छ । जसले गर्दा खाने तेल सर्टेज भएर मूल्य महँगिन सक्छ ।’     

यता, नेपाल आयल निगमले बिहीबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेसन्सले मूल्य बढाएर पठाएको कारण पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको जनाएको छ । रुस–युक्रेन युद्धको असर नेपालको पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको अध्यक्ष मल्लको भनाई छ । 

उनी भन्छन्, ‘हामीसँग पेट्रोलियम पदार्थको प्रत्यक्ष व्यापार व्यवसाय नभए पनि यो युद्धको असर नेपाललाई पर्छ । किनभने नेपालले पेट्रोलियम पदार्थ भारतीय आयल कर्पोरेशनसंग खरिद गर्छ। भारतको व्यापार रुस युक्रेनसँग हुने गर्छ । जसले गर्दा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य महँगो पर्न गएको हो ।’   

उनका अनुसार कुनै देशबिच युद्ध चल्यो भने विश्वको अर्थतन्त्रको सूचक तल झर्छ । अर्थतन्त्र चलायमान हुन गाह्रो हुन्छ । कोरोनाले थलिएर बिस्तारै लयमा फर्किरहेको विश्वको अर्थतन्त्र रुस–युक्रेन युद्धका कारण फेरि नकारात्मक गतिमा जाने देखिन्छ । मानिसहरूको मनोबल गिर्छ । ‘अर्थतन्त्र नकारात्मक गतिमा लामो समयसम्म रह्यो भने नेपालमा महँगी चुलिन सक्छ’ उनले भने ।    

अध्यक्ष मल्लका अनुसार अहिले नेपालको समग्र अर्थतन्त्रको सूचकहरू नेगेटिभ छ । रेमिट्यान्स आयात पनि घटेको छ । पर्यटन क्षेत्र ठप्प रहेको छ । उद्योग व्यवसाय क्षेत्र चलायमान भए पनि तीन वर्ष अघिको जस्तो राम्रोसँग चलायमान हुन सकेको छैन । यी दुई देशको युद्धका कारण मन्दीको अवस्था सिर्जना भएमा नेपालको अर्थतन्त्रको लागि पनि गम्भीर बन्न सक्छ । युद्धको असर बढ्दै गएमा आर्थिक क्षेत्र थप मारमा पर्ने निश्चित छ । 

त्यस्तै, बैंकहरुले ब्याजदर बढाएका कारण पनि नेपाली उद्योगीहरू मार्कामा परेको बताउँदै उनले भने, ‘उद्योग व्यवसाय चलायमान हुन नसक्दा आम्दानी घट्छ । जसको असर नेपालको जिडिपी ग्रोथमा धक्का पर्छ । नेपालमा महँगी बढेको बढ्यै छ । महँगी व्यवस्थित हुनुपर्नेमा अनियन्त्रित हुँदै गएको छ । यसमा सरकारले सोचेर सही कदम चाल्नु पर्छ ।’ 

साथै उनले कोरोनाले थलिएका उद्योग व्यवसाय, बैंकहरुको ब्याजदर वृद्धि र रुस र युक्रेनको युद्धको कारण थप मार्कामा पर्ने निश्चित रहेको उनको भनाई छ । साथै सरकारले लिएको डबल डिजिटलको आर्थिक ग्रोथ गर्ने भन्ने लक्ष्य पुरा गर्न सिङ्गल डिजिटलको ब्याजदर भएमा मात्र सम्भव हुने उनको तर्क रहेको छ ।   

 

 

 

 

प्रतिक्रिया दिनुहोस