
काठमाडौं । उपत्यकाकै व्यस्त क्षेत्रमध्ये पर्छ न्युरोड । यस क्षेत्रमा खाली जग्गा पाउनै मुस्किलप्रायः हुन्छ । आवासीयदेखि कर्पोरेट अफिसम्मका भवनले भरिभराउ यस क्षेत्रमा खाली जग्गाको कारोबार नभए पनि घरसहितको जग्गाको भने कारोबार राम्रै हुन्छ । तर अनौठो त यहाँ के छ भने, एउटै जग्गाको मूल्य तीनथरी छ ।
न्युरोडमा सरकारले तोकेको न्यूनतम मूल्य र महानगरले सम्पत्ति कर प्रयोजनका लागि तोक्ने मूल्यभन्दा चलनचल्तीको भाउ तीनचार गुणा बढी पर्ने गरेको सरोकारवाला बताउँछन् । मालपोत तथा भूमिसुधार कार्यालयले हरेक वर्ष जग्गाको न्यूनतम मूल्यांकन तय गर्दै आएका छन् ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले हनुमानढोका पूर्व नयाँ सडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो नगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरीदेखी धरहरासम्मको मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँ प्रतिआना न्यूनतम ६६ लाख रुपैयाँ मूल्यांकन गरेको छ ।
गत वर्षको तुलनामा यो १० प्रतिशत वृद्धि गरिएको कार्यालयले जनाएको छ । कार्यालयले तोकेको मूल्यभन्दा कममा कारोबार गर्न पाइँदैन । तर अधिकतम मूल्य भने बिक्रेता र खरिदकर्ताको समझदारीमा हुने गरेको छ । सरकारी निकायले अधिकतम मूल्य तोकेको छैन । जुनसुकै मूल्यमा जग्गा कारोबार भए पनि मालपोत पुग्दा भने कार्यालयले तोकेको मूल्यमै रहेर सरकारी कामकाज पूरा हुन्छ । राजस्व धेरै तिर्नुपर्ने भएकाले पनि सरकारी न्यूनतम मूल्यांकनमै कारोबार गर्ने गरिएको कार्यालयले जनाएको छ ।
सम्पत्ति कर प्रयोजनका लागि काठमाडौं महानगरले जग्गाको मल्य छुट्टै तोकेको छ । मालपोत कार्यालय डिल्लीबजारले प्रतिआना ६६ लाख रुपैयाँ तोकेको ठाउँकै जग्गाको मूल्य महानगरमा भने ५० लाख रुपैयाँ छ । महानगरले तोकेकै मूल्यका आधारमा करदाताले कर तिर्ने गरेका छन् । यसको वास्तविक चित्र भने छुट्टै छ ।
न्युरोड क्षेत्रमा आनाको ६६ लाख र ५० लाख रुपैयाँमा होइन, आनाकै १ करोड रुपैयाँभन्दा बढीमा कारोबार हुन्छ । ‘न्युरोडको मूल सडकसँग जोडिएका जग्गा आनाको १ करोडदेखि अधिकतम १० करोड रुपैयाँसम्म पर्छ,’ काठमाडौं महानगरपालिका–२२ का अध्यक्ष चिनियामान बज्राचार्यले भने, ‘जग्गा, जग्गा भएको ठाउँ, क्षेत्रफल, लगायत सबै ठाउँको मूल्याकंन हुन्छ ।’
सरकारले चक्रपथसँग जोडिएका गौशालादेखि धोवीखोलासम्मका दायाँबायाँका जग्गा प्रतिआना ४९ लाख ५० हजार रुपैयाँ मूल्य कायम गरेको छ । महानगरले भने उक्त ठाउँको मूल्य प्रतिआना ३० लाख रुपैयाँ तोकेको छ । काठमाडौं महानगरपालिका–९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले पनि सरकारी र किनबेच हुँदा गरिने मूल्यमा धेरै फरक हुने गरेको बताए । गौशाला–पुरानो बानेश्वर क्षेत्रमा आनाको ८० लाख रुपैयाँदेखि बढी रहेको उनको भनाइ छ ।
मित्रपार्कदेखि कालोपुल हुँदै मालपोत कार्याल डिल्लीबजारको सिमानासम्म, चाबहिल पासाङ ल्हामु चोक र पासाङ ल्हामु चोकदेखि साविकको जोरपाटी गाविस सिमानासम्म मालपोत कार्यालयले प्रतिआना ४४ लाख रुपैयाँ मूल्यांकन गरेको छ । महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि भने आनाको २८ लाख रुपैयाँ तोकेको छ ।
संघ र पालिकाले ४४ लाख र २८ लाख रुपैयाँ तोके पनि वास्तविक मूल्य फरक छ । उक्त क्षेत्रमा अहिले आनाको १ करोड रुपैयाँदेखि बढी मूल्य चलनमा रहेको काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्ध डंगोलले जानकारी दिए । ‘वडाभित्र रिङरोडसँग जोडिएका जग्गा प्रतिआना १ करोड रुपैयाँदेखि बढीमा बिक्री भइरहेका छन्,’ उनले भने ।
माइतीघर मण्डलादेखि पुरातत्त्व विभागबाट पूर्व सिंहदरबार दक्षिण गेटदेखि हनुमानस्थान र जिल्ला प्रशासन कार्यालयअगाडिको मूल सडकसँग जोडिएका जग्गाको न्यूनतम मूल्यांकन सरकारले प्रतिआना ३९ लाख ६० हजार रुपैयाँ तोकेको छ । त्यही जग्गाको मूल्यांकन महानगरले भने ३२ लाख रुपैयाँ निर्धारण गरेको छ । काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार भने जग्गा अभावका कारण प्रतिआना ८० लाख रुपैयाँदेखि १ करोड २५ लाख रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको दाबी गर्छन् । ‘जग्गा नै छैन, भएको जग्गाको मूल्य आनाकै १ करोड २५ लाखसम्म चलेको सुन्छु,’ उनले भने, ‘जग्गासहितको घरको छट्टै मूल्यांकन हुन्छ ।’
महानगरको वडा नम्बर ३१ मा पर्ने नयाँ बानेश्वर, तीनकुने, मीनभवन क्षेत्रसम्म मुख्य सडकको दायाँबायाँको जग्गा आनाको १ करोडभन्दा माथि पर्छ । ‘मुख्य सडकसँग जोडिएको जग्गाको आनाको १ करोडभन्दा बढी पर्छ, भित्री सडक वरपर भने आनाको ७०र८० लाख रुपैयाँमा आउँछ होला, त्यसमा पनि धेरैजसो कुरा दलालमा पनि भर पर्छ,,’ वडाध्यक्ष नारायणप्रसाद भण्डारीले भने । यस क्षेत्रमा महानगरको मूल्यांकन भने फरक छ । तीनकुने, मीनभवन र नयाँ बानेश्वर क्षेत्रमा आनाको ३२ लाख छ भने नयाँ बानेश्वरदेखि कान्तिपुर डेन्टल अस्पतालसम्म २८ लाख रुपैयाँ तोकिएको छ । यी क्षेत्रको सरकारी मूल्यांकन ३९ लाख ६० हजार रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस