aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सरकार र राष्ट्र बैंकको आयातमा निरन्तर कडाइ

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, २३ फागुन २०७८
सरकार र राष्ट्र बैंकको आयातमा निरन्तर कडाइ

काठमाडौं । फराकिलो बन्दै गएको शोधनान्तर घाटा र तीव्र रूपले घटिरहेको विदेशी मुद्रा सञ्चितिको अवस्थालाई थप बिग्रन नदिन भन्दै सरकार र राष्ट्र बैंकले एकपछि अर्को नीतिगत कडाइ गरिरहेका छन् । सोही क्रममा आइतबार सुन आयातको कोटा ९परिमाण० घटाएर प्रतिदिन १० किलो बनाइएको छ । एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले आइतबारदेखि लागू हुने गरी सुन आयातको कोटा घटाएको हो ।

यसअघि प्रतिदिन २० किलो सुन आयात गर्न पाइने व्यवस्था थियो । व्यवसायीहरूले बजारमा प्रतिदिन ३० देखि ४० किलो सुनको माग रहेको दाबी गर्दै आएका छन् । राष्ट्र बैंक एक्लैले मात्र सुन आयातको कोटा निर्धारण गर्न सक्दैन । यसका लागि सरकार (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय) को अनुमति चाहिन्छ । बाह्य क्षेत्र निरन्तर बिग्रिँदै गएपछि सुन आयातमा कडाइ गर्नेबारे केही महिनाअघि नै राष्ट्र बैंकले प्रस्ताव गरेको थियो । गत साता मन्त्रालयबाट सहमति पाइएपछि कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । यस्तो व्यवस्थाले बजारमा सुनको अनौपचारिक कारोबार बढाउने आशंका पनि गरिएको छ ।

बजार मागभन्दा पनि अप्ठ्यारो परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सुन आयातको परिमाण घटाउनुपरेको राष्ट्र बैंकले जनाएको छ । ‘बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले निम्त्याउन सक्ने सम्भावित संकटबाट जोगिन सुन आयातको दैनिक परिमाण घटाइएको हो,’ राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख रामु पौडेलले भने, ‘अवस्थामा सुधार आएपछि नयाँ व्यवस्था फेरि परिमार्जन हुन्छ ।’ अर्थतन्त्रमा संकट आउने प्रशस्त संकेत देखिएकाले सुधारका लागि विभिन्न उपाय अवलम्बन गरिरहेको उनले बताए । ‘यो अप्ठ्यारो अवस्था हो,’ उनले थपे, ‘यस्तो अवस्थामा जसरी भए पनि अर्थतन्त्रलाई जोगाउनुपर्ने छ ।’

आयातका हिसाबले प्रमुख १० वस्तुभित्रै पर्ने र तुलनात्मक रूपमा अनुत्पादक मानिएकाले हाललाई सुन आयातमा कडाइ गरिएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिनामा २७ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा ३८ लाख ८३ हजार ७ ग्राम (करिब ३ हजार ८ सय ८३ किलो) सुन आयात भएको छ । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सुन आयात परिमाण र त्यसको रकम ८४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस