
विवाह समाज निर्माणको एउटा आधारस्तम्भ हो । समाज बन्नका लागि परिवारको आवश्यक पर्छ । त्यो परिवार निर्माण हुुन पति पत्नी र सन्तान आवश्यक पर्छ । त्यसैले पनि समाज निर्माणको आधार स्तम्भको रुपमा विवाहलाई लिइन्छ ।
विवाह व्यवस्थापनका लागि आर्थिकदेखि मनोरञ्जनसम्मको व्यवस्थापन गर्नुपर्नेहुन्छ । यसका लागि परिवार छरछिमेक आफन्त सबै लागी पर्नुपर्ने हुन्छ । तर पहिलेको तुलनामा अहिले विवाह व्यवस्थापन गर्न सहज हुँदै गएको छ । कतिपय विवाह व्यवस्थापन गर्ने संस्था, कम्पनी खुलेका कारण पनि व्यवस्थापनका लागि सहज बनेको हो ।
वेलकम इभेन्ट म्यानेजमेन्टकी प्रवन्ध निर्देशक निता पौडेलले एक दशकभन्दा बढी विवाह व्यवस्थापनको अनुभव संगाली सकेकी छिन् । विवाह व्यवस्थापन गर्दाका अनुभवहरुबारे पौडेलसँग आर्थिक न्युज डटकमको लागि सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंशः
यो कम्पनी खोल्ने सोच कसरी आयो ?
हाम्रो ग्रुपले एड्भरटाईजिङको काम पनि गर्छ । विभिन्न उत्पादनका प्रोडक्ट लन्च तथा ब्राण्डिङका कार्यक्रम पनि हुन्छ । विवाह बाहेक अरु इभेन्टहरु पनि धेरै गर्छौ । भारतमा पढ्दै गरेकी मेरी छोरीलाई भेट्न जाने शिलशिलामा दुई तीन ठाउँमा वेडिङ प्लानरहरु गएर काम गरेको देखे । त्यो वेडिङ प्लानरहरुले जस्तै नेपालमा पनि यसको सुरुवात गर्न पाए हुन्थ्यो भन्ने सोच आयो । यो कुरा मेरो अफिसमा पनि राखे । हामीले नेपालमा विवाह व्यवस्थापनको कार्यक्रम पनि सञ्चालन गर्न सक्छौै । नेपालमा पनि यसको सुरुवात गरौ भनेपछि सबै साथीहरु खुशी हुनुभयो र यसको सुरुवात गर्यौ ।
विवाहको कार्यक्रम गर्नका लागि पहिला नेपालमा रहेका विभिन्न जात जातिहरुको अध्ययन गर्न थाल्यौं । त्यसमा नेपाल विभिन्न भाषा संस्कृति भएका हुनाले राई, लिम्बु, शेर्पा लगायत सबै जातजातीको संस्कार र विधिको बारेमा पनि अध्ययन गर्न लाग्यौ । भारतीय संस्कृतिका पनि अध्ययन गर्न थाल्यौं । नेपालमा रहेका सबै भाषा संस्कृतिको अध्ययन गरेका छौ । त्यसमा पनि हामीले थाहा नभएको जातिहरुको विवाहका सितिरिवाजहरुका बारेमा उनीहरुसँग पनि सोधेर सबैको विवाह व्यवस्थापन गर्ने गरेका छौ ।
सुरुवाती दिनहरुमा कत्तिको कठिनाइहरु भए ?
सुरुवाती दिनहरुमा त धेरै नै कठिनाइहरु भए । कतिपय मानिसहरुले विश्वास नै गर्दैन थिए । तर मेरो कम्पनीले अरु इभेन्टहरुको पनि म्यानेजमेन्ट गर्ने भएकाले विस्तारै सबैले विश्वास गर्दै गए । वेलकम एड्भरटाईजिङ एण्ड मार्केटिङ लिमिटेड कम्पनी पहिले देखिनै स्थापित भएका कारणले पनि सबै स्टाफहरुबाट पनि यसको बारेमा जानकारी हुँदै गयो ।
तर, अझै पनि मान्छेहरुलाई आफ्नो छोराछोरीको विवाहमा केही कुरा बिग्रियो भने त बिग्रिहाल्यो नी के हुने हो भनेर विश्वास हुँदैन थियो । अरु इभेन्टमा भन्दा विवाहमा सबै प्याकेजलाई लिँदा मेकअपदेखि लिएर फोटोग्राफी, क्याटरिङ सबै कुराहरुमा ध्यान दिनुपर्नेहुन्छ । नेपालमा यो नयाँ सुरुवात भएकाले हामी अझै पनि सिक्दैछौ ।
पहिले अभिभावक मात्र आएर आफ्नो छोराछोरीको विवाहका लागि व्यवस्थापन गरिदिनुपर्यो भन्ने गर्नुहुन्थ्यो । अहिले अविभावक मात्र हैन उहाँहरुको छोराछोरी नै आएर सबै हेरेर जिम्मा दिनुहुन्छ । बाहिर विदेश बसेर आएकाहरुको सोच नै फरक हुन्छ । पहिले उनीहरुको सोच र चाहना बुझ्नुपर्यो अनि मात्र उनीहरुको चाहना अनुसार नै सबै काम गर्नुपर्ने हुँदा कठिन पनि छ ।
यो वर्ष कति वटा विवाहको व्यवस्थापन गर्नुभयो ?
हामीले यो वर्ष सोचेजति धेरै इभेन्टहरु गर्न सकेनौ । बैशाखदेखि कोरोनाले गर्दा अलिकति असर गरेको थियो । तर, पनि सानो–सानो डेकोरेशनहरु गर्ने काम गर्यौ । अहिले कोरोनाको असर कम हुँदै गएपछि मंसिरदेखि भने अलिकति व्यवस्थित हुँदैछौं । त्यसयता मंसिर र माघमा गरी आठ वटा जति विवाहको व्यवस्थापन गर्यौ ।
अरु वर्षभन्दा यो वर्ष विवाह व्यवस्थापनमा सहज भयो कि भएन ?
अघिल्लो वर्षभन्दा यो वर्ष पनि सहज भएन । पहिले हामीलाई सबै कुरा सहज तरिकाले व्यवस्थित गर्न सजिलो हुन्थ्यो । हामीले सामान व्यवस्थापन गर्न भिजिटरहरु नै प्रयोग गर्ने हो । कोरोनाको कारणले गर्दा काम त्यति धेरै छैन भनेर काम गर्नेहरु पनि आफ्नो घर तिर गइदिए । भएका कामदारहरुले पनि काम गर्न पनि समय लगाउने काम गर्न अल्छि गर्न थाले । कार्यक्रमको परिणाम धेरै भएपनि कामको स्केल कम भयो ।
मान्छे भेट्न पनि हिच्किचाउने, आफू पनि सजिलै जान नसकिने भएकाले धेरै नै असर पर्यो यो वर्ष । कोभिड बढेपछि योजना अनुसार काम गर्न पनि सकिएन । कतिपयले योजना बनाएका कार्यक्रमहरु ठूलो रुपमा गर्न नसके पनि सानो कार्यक्रम भए पनि गर्ने भन्ने पनि भए । तर अर्डर गरेका कतिपयले क्यान्सिल पनि गरे ।
नेपालमा पनि विवाहका लागि व्यवस्थापन गर्न दिने व्यवस्था भयो र ?
नेपालमा पनि विवाहका लागि व्यवस्थापन गर्न दिने व्यवस्था आइसक्यो । वेलकम इभेन्ट म्यानेजमेन्ट कम्पनी आजभन्दा १२ वर्ष मैले अफिसियल लन्च गरे । नेपालमा वेलकम इभेन्ट म्यानेजमेन्टको सुरुवात गर्ने पहिलो नै म हो । अहिले धेरै मात्रामा यस्ता कम्पनी खुलेका छन् ।
हामीले सुरुवात गरेको कामको विश्वास गरेर धेरैले वेलकम इभेन्ट म्यानेजमेन्ट नै खोजेर आउनु हुन्छ । तर अहिले यस्ता धेरै कम्पनीहरु खोलेर पनि मान्छेहरु सबै एकदमै बिजी पनि छन् । आजभन्दा १२ वर्ष अघि इन्टरनेटमा सबै रिसर्च गरेर यसको सुरुवात गर्यौ । मार्केटमा पनि सबै जनाले विदेशमा त वेडिङ प्लानर छन् । नेपालमा पनि आइदिए हुन्थ्यो भन्ने पोजेटिभ प्रतिक्रिया आएर नै यो कम्पनी लन्च गरे ।
यसको सुरुवात गरेसँगै एउटै मितिमा ४ वटासम्म कार्यक्रमहरु आए । हाम्रो काम र नेपालमा यस्तो कम्पनीको सुरुवात भएको देखेर सबै जना खुशी भए । अहिले धेरैजसो परिवारको सदस्यहरु विदेशिएका छन् । १२ वर्ष अघिको तुलनामा सबैको दिनचर्या व्यस्त छन्। सबै जना आफ्नो घर अफिस काममा व्यस्त छन् ।
पहिलेको तुलनामा अहिले कुनै पनि महिला गृहिणी छैनन् । सबै जना कुनै न कुनै पेशामा आवद्ध रहेका छन् । कसैले व्यापार गरेका छन् । यसले गर्दा पनि अहिले वेडिङ प्लानरको आवश्यकता झन बढ्दै गएको छ ।
विवाहको सामान्य मात्र व्यवस्थापन गर्नुहुन्छ की अरु काम पनि गर्नुहुन्छ ?
वेलकम इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपालमा विवाह व्यवस्थापनको सुरुवात गर्ने पहिलो कम्पनी हो । अहिले यस्ता धेरै कम्पनीहरु खुलेका छन् । वेलकम इभेन्ट म्यानेजमेन्टे कम्पनी अहिले विवाह सम्बन्धी फुल प्याकेज उपलब्ध गराउने कम्पनी हो । विवाहका लागि आवश्यक गर्ने क्याटरिङ, मेहन्दी, फोटो भिडियो, जग्गे बनाउने, डेकोरेशन गर्ने जस्ता विवाहका लागि सबै प्याकेज भएको कम्पनी हामी हौ ।
अहिले खुलेका कम्पनीहरुले कसैले क्याटरिङ मात्र हेर्छन् । कोही कम्पनीले डेकोरेशन र फोटो गा्रफीमात्र हेर्छन्, मेहन्दी मात्र हेर्छन् । हामी मात्र यस्तो वेडिङ प्लानर हो जसले सम्पूर्ण प्याकेज गर्छौ । विवाहका लागि पहिलो काम लमीको काम भने हामी गर्दैनौं । भारतको जस्तो सादी डटकमको अवधारणा ल्याउने की भन्ने सोचमा छौ । अलिअलि काम पनि गरिरहेका छौं । अहिले विचारमा मात्र गरेको छौं ।
एउटा विवाह व्यवस्थापनको कति शुल्क लाग्छ ?
त्यस्तो शुल्क यतिनै हो भन्ने नै छैन कसैले आएर मसँग यति बजेट छ । मेरो आवश्यकता र गर्नुपर्ने काम यति हो भनेर भन्नुहुन्छ । हामीले उनीहरुको आवश्यकता र बजेट अनुसारको प्लानिङ गरिदिन्छौ । तर एउटा विवाहबाट यति नै शुल्क भनेर तोकिएको छैन । ग्राहकको आवश्यकता हेरेर त्यहि अनुसार प्याकेज बनाएर त्यसको लागत निकाल्छौ । त्यो लागतको १७ प्रतिशत एजेन्सी सर्भिस चार्ज भनेर हामी लिन्छौं ।
हामी त प्लानर मात्र हो । प्लानिङ मात्र गरिदिने हो । कामगरेको बापत हामीले पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मको भएपनि १७ प्रतिशत सेवा शुल्क लिन्छौ । यतिनै बजेट भन्ने हुन्न ग्राहकको आधारमा हुन्छ ।
तपाईले अहिलेसम्म कति बजेटका विवाह व्यवस्थापन गर्नुभयो ?
हामीले सुरुमा १२ वर्ष अघि ५ लाख ७० हजार रुपैयाँमा एउटा प्योकज भनेर निकालेका थियौ । यति रकममा पनि मन्दिरमा सम्पुर्ण विवाह गरिदिएका छौ भने आजको समयमा त्यो पाँच लाख रुपैयाँ ठूलो रकम होइन । त्यो समयको ५ लाख अहिले २५ लाख रुपैयाँ भएको छ । महंगी र मान्छेको आवश्यकताको कारणले गर्दा पनि पैसाको महत्व घटेको छ । ग्राहकको आवश्यकता अनुसार हामीले विवाहको प्याकेज बनाइदिने हो ।
विवाह व्यवस्थापनमा सबैभन्दा रमाइलो लागेको विवाह कसको हो ?
रमाइलो त सबैको विवाहमा हुन्छ । यो एउटा यस्तो फिल्ड हो । काम गर्ने क्रममा धेरै टेन्सन पनि हुन्छ । मान्छेले आफ्नो घरको छोराछोरीको विवाह गर्न नसकेर हामीलाई जिम्मा दिएका हुन्छन् । हामीले अरुको छोराछोरीको विवाहको जिम्मा लिएर काम गर्दा केही कुराको कमी भयो भने पनि टेन्सन हुन्छ । तर पनि काम गर्ने क्रममा रमाइलो नै हुन्छ । कतिपय ग्राहकहरुले हाम्रो अगाडी काम राम्रो भयो भनेर कुरा गरे पनि पछि यो भएन त्यो भएन भनेर सुनाउनेहरु पनि छन् । तर धेरैजसो ग्राहकले सोचेभन्दा पनि धेरै राम्रो गरिदिनुभयो भनेर तारिफ गरिदिदाँ खुशी लाग्छ । काम गर्दाको रमाइलोको साथै ग्राहकको सकारात्मक प्रतिक्रियाले झन् खुशी लाग्छ ।
विवाहको व्यवस्थापन गर्दा सबैभन्दा बढी खर्च के मा लाग्ने रहेछ ?
विवाहमा सबैभन्दा बढी खर्च खानामा लाग्ने गर्छ । सुनहरुको कुरा हामीले गर्दैनौ । त्यसबाहेक अरुको तुलनामा खानामा बढी खर्च लाग्छ ।
विवाहको सिजन बाहेक अरुबेला अफिस कसरी चलाउनुहुन्छ ? स्टाफहरु कति छन् । खर्च कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हामीले विवाह बाहेक अरु इभेन्टहरु पनि गर्छौ । विवाहको सिजन बाहेक व्रतबन्ध, पास्नी, वर्थडे, वैवाहिक वर्षगाँठ लगायतका इभेन्टहरु पनि गर्छौ । महिनामा एक दुईवटा इभेन्टहरु भइरहन्छन । खर्च धान्न समस्था छैन । अहिले अफिसमा १५ जना कर्मचारीहरु रहेका छन् ।
ठूलो–ठूलो इभेन्टहरु भयो भने बाहिरबाट पनि स्टाफहरु ल्याउनुपर्ने हुन्छ । थोरै इभेन्टहका लागि भने यहीको भएका कर्मचारीले व्यवस्थापन गर्न सक्छौ । यो वर्ष सानो ठूलोगरी १० वटा विवाह व्यवस्थापन गर्यौ । विवाह बाहेक अरु इभेन्टहरु पनि गर्ने गरेका छौ ।
र अन्त्यमा अहिले सबैजनाले यस कम्पनीहरुको बारेमा बुझिसकेका छन् । हाम्रो काम देखेर सबैले मनपराइदिनु भएको छ । ग्राहकहरुले अरु आफन्त साथीभाईहरुलाई पनि डेकोरेशनको लागि हामीलाई नै सिफारिस गरिदिनुहुन्छ । हामीसँग सम्पूर्ण प्याकेज छ ।
प्रतिक्रिया दिनुहोस