
हात्तीछापको ‘छाप’ गोल्ड स्टारमा अझै गाढा रहेको छ । आजभन्दा चार दशकअघि यो कम्पनी हात्तीछाप चप्पलको ब्रान्डका रुपमा हेटौंडाबाट शुरु भएको थियो । नेपालका गाउँदेखि शहरसम्म चप्पल भनेकै हात्तीछाप चप्पल भन्ने नारा समेत स्थापित थियो । यसको लोकप्रियता बढेसँगै गोल्डस्टार ब्रान्डको नयाँ उत्पादन सुरु भएको थियो । हात्तीछाप चप्पल जस्तै सस्तो र बलियो भएका कारण गोल्डस्टार ब्रान्डले पनि छोटो समयमा नै आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल भयो ।
नेपालमा १० वर्षसम्म चलेको शसस्त्र द्वन्द्वकालका बेला गोल्ड स्टार जुत्ताप्रति हेर्ने दृष्टिकोणका केहि फरक आएका कारण केही समय समस्या भए पनि हिजोआज फेरि यो ब्रान्ड पुनः स्थापित भएको कम्पनी बताउँछ । नेपालमा मात्रै होइन गोल्डस्टार ब्राण्ड अहिले विश्व बजारमा नै लोकप्रियता बन्दै गएको छ कम्पनीले जानकारी दिएको छ ।
अहिले विश्व बजारमा नै लोकप्रिय बन्दै गएको गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्स प्रालिका मार्केटिङ एन्ड ब्रान्डिङ निर्देशक विदुषी राणासँग कम्पनीको उत्पादन अवस्था र यसको सम्बन्धमा आर्थिकन्युज डटकमका लागि सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंशः
अहिले नेपाली उत्पादनको अवस्था कस्तो छ ?
उत्पादनको अवस्था राम्रो छ । उद्योगहरु चलेका छन् । तर व्यापारको अवस्था भने नाजुक नै रहेको छ । कोरोना महामारीले गर्दा उद्योगहरु चलाउन गाह्रो भएको छ । एक वर्ष जति त बन्द गर्ने र खोल्ने गर्दा धेरै नै घाटा भयो । जुत्ताको बजार पनि त्यत्ति धेरै छैन ।
कारोनाको समयमा उत्पादनमा कस्तो असर पर्यो ? बिक्री बढ्यो अथवा घट्यो ?
यो समयमा उत्पादनका साथै बिक्री पनि घट्यो । बजारबाट पैसा आउने ठाउँ पनि घट्यो । अहिले तरलता अभावका कारण पनि बजारमा पैसा छैन । कोरोनाको समयमा हामीले सामानहरु बनाएर राख्यौ तर बिक्री गर्ने बेला बजारमा पैसा नै भएन । त्यसले गर्दा गाह्रो भएको छ ।
विदेशी ब्राण्डका जुत्ताहरु पनि धेरै आएका छन् । ती जुत्ताहरुसँग गोल्डस्टारले प्रतिस्पर्धा गर्न सकेको छ की छैन ?
विदेशी जुत्ताहरु पनि सहि तरिकाले अर्थात कर तिरेर भन्सार तिरेर आयो भने हामी प्रतिस्पर्धा गर्न सक्छौ । तर अहिले चोरी निकासीबाट थुप्रै जुत्ताहरु भित्रिरहेका छन् । एक डलरको भन्सार देखाएर अवैध रुपमा धेरै नै जुत्ताहरु आइरहेका छन् । ती जुत्ताहरुसँग हामी कसरी प्रतिस्पर्धा गर्न सक्छौ । हामी यति ठूलो कारखाना चलाइरहेका छौ । ३ हजार कर्मचारीले काम गरेर १० हजारको परिवार पालिरहेका छौ । सरकारलाई भन्सार तिरेका छौ कर तिरेका छौ । हामी टयाक्स, भ्याट सहितको मूल्यमा भारत र चीनका बोर्डरबाट आएका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौ ।
यस्तै अवस्था रहिरह्यो भने हामीले पनि कारखाना चलाउन सक्दैनौ । ट्रेडिङतिरै लाग्नु पर्ने हुन्छ । कर भन्सार तिरेर आएका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्न हामीलाई समस्या छैन । यसै पनि विदेशी ब्राण्ड नायिक र एडिड्याससँग हामीले प्रतिस्पर्धा गर्ने हैन तिनीहरु धेरै महंगो जुत्ता हुन । तर हामीले जुन गुणस्तरको जुत्ता बजारमा दिइरहेका छौ । ती जुत्ताहरुसँग पनि प्रतिस्पर्धा गर्न गाह्रो भएरहको छ । यति धेरै कर्मचारीलाई रोजगारी दिएर चलाएको यस कम्पननीले चोरी निकासी गरेर आएका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नु परेको छ । मुख्य समस्या नै त्यहि हो ।
नेपालमा उत्पादन मुलक उद्योग सञ्चालन गर्न के समस्या देख्नुभयो ?
भारतबाट चोरी निकासी भएर आएका जुत्ताहरुलाई रोक्नुपर्यो । अहिले जुत्तालार्ई मात्र लिए मैले भनिरहेकी छु । धेरै जुत्ताहरु भारतबाट चोरी निकासी भएर आएका छन् । नेपाली व्यापारीहरुले भारतको बोर्डरहरुमा ठूलो–ठूलो गोदामहरु ल्याएर राखेका छन् । भारतका विभिन्न ठाउँहरुबाट नेपालमा दिनभरि जुत्ताहरु आउँछ । रिक्सा,टेक्पो र साइकलमा ल्याउँछन् । रातभरिमा सबै बेचिसकेको हुन्छन् ।
उनीहरुले भन्सार केही नतिरि ल्याएको जुत्ता बजारमा छ्याप छ्याप्ति फालिदिए पछि हामीलाई प्रतिस्पर्धा गर्न गाहो भयो । त्यसैले कुनै पनि उद्योग फस्टाउका लागि सरकारले चोरी निकासीलाई रोक्नु पर्यो । नेपाली उद्योगहरुलाई सपोर्ट हुनुपर्यो । नेपाली उत्पादनलाई पनि मान्यता दिनुपर्यो ।
अहिले नेपाली उत्पादनमा गुणस्तर छैन भन्ने सुनिन्छ ? गुणस्तरीय सामान नेपालमा उत्पादन गर्न नसकिने हो ?
नेपालमा पनि गुणस्तरिय सामान बन्न सक्छ । हामीले यहाँका सबै सामानहरु इटालीबाट ल्याएका छौ । ६० प्रतिशत स्रोतहरु स्वदेशीकै प्रयोग भएको छ । हामीले थोरै मूल्यमा पनि धेरै राम्रो गुणस्तरको जुत्ताहरु दिइरहेका छौ । हामीले प्रतिस्पर्धा गर्न नसकेको चोरी निकासी भएर आएको जुत्तासँग हो । नेपाली उत्पादनमा गुणस्तर छैन भन्न सकिन्न । हामी १० हजार पर्ने जुत्ता पनि बनाउन सक्छौ । तर त्यसको लागि बजार छ त ? नेपाली जुत्तालाई त्यति मूल्य तिर्न सक्ने बजार छ त ? यो चै एउटा प्रश्न हो ।
गोल्डस्टारलाई विश्व बजारमा चिनाउने उत्पादन कुन हो ?
हामीसँग धेरै थरिका जुत्ताहरु छन् । पियु, पिभिसी, थरिथरिका सोल भएका जुत्ताहरु हुन । सोल र सामान अनुसारको जत्ताको मूल्य राखेको हुन्छ । पिभिसीको जुत्ताहरु सस्तो छ भने रबर सोलको जुत्ताहरु अलि महंगो छ । डिजाइन अनुसारको मूल्य पनि फरक हुन्छन । अरु कम्पनीहरु धेरै पुरानो भएकाले बजारमा के माग छ भन्ने कुरा थाहा छ । हामी अन्तर्राष्ट्रिय बजारमा भर्खर गएको कारणले उपभोक्ताहरुले कुन जुत्ता खोजी रहेका छन् भन्ने कुरामा भने पर्ख र हेरको अवस्था छौं । अहिले हामीले सबै खाले जुत्ताहरु बेचिरहेका छौ ।
नेपाली जुत्ता कम्पनीलाई बाहिरबाट सामान ल्याएर यही बनेको भन्ने आरोप छ ? त्यस्तै हो त ?
अरुको कुरा गर्न मिल्दैन गोल्स्टारमा हामीले त्यस्तो गरेका छैनौ । ६० प्रतिशत जुत्ता हामी यहिको स्रोतले बनाइरहेका छौ । सरकारले भारत र चीनबाट चोरी निकासी भएर आएका जुत्ताहरु रोक्न सक्दैन भने त हामी पनि कम्पनी चलाउन सक्दैनौ । बाहिरबाट भन्सार नतिरी आएका जुत्ताहरु रोक्नका लागि हामी लडिरहेका छौ ।
विभिन्न्न निकायहरुमा गइरहेका छौ । बोर्डरमा व्यापारीहरुले जुत्ताको स्टीकर बोकेर बसेका हुन्छन् । नक्कली जुत्ताहरु भारतबाट आउँछ । ग्राहकलाई सोधिन्छ कुन कम्पनीको जुत्ता चाहिन्छ भनेर त्यसैको स्टीकर टाँसेर दिइरहेका छन् । उपभोक्ताहरुलाई हामीले नक्कली जुत्ता बनाएको भन्ने लागेको हुन सक्छ तर तर यो सबै भारत र चीनबाट आएका छन् ।
नेपाल जुत्तामा पनि आत्मनिर्भर हुन सक्छ ?
नेपाल अहिले सिमेन्ट उद्योगमा आत्मनिर्भर छ । सरकारले पनि लबिङ गरिरहेको छ । भारतबाट चोरी निकासी गरेर साइकलमा सिमेन्ट ल्याउन सकिदैन तर जुत्ता आइरहेको छ एउटा प्लास्टिकको झोलामा पनि जुत्ता ल्याउन सकिन्छ । हाम्रो अध्ययन अनुसार नेपालमा सना ठूला र मझौला गरी ६ सय उद्योगहरुले जुत्ता बनाउँछन् ।
जुत्तामा हामी आत्मनिर्भर भइसकेका छौ । गोल्डस्टारले मनिङवाकमा लगाउने स्पोर्ट जुत्तादेखि लिएर हवाइ चप्पल बाथरुम सिल्पर लगायत केटाकेटीहरुका लागि समेत गरी सबै खाले जुत्ताचप्पलहरु बनाउने गरेका छौ । लेडीडका लागि पनि स्यान्डिलहरु बनाउन थालीसकेका छौ । हामीले सबै फ्याक्ट्रीमा सबै प्रकारका जुत्ताहरु बनाउन थालिसकेका छौ । अरु पनि १५ सय जति जुत्ता फ्याक्ट्रीहरु छन यो सबै जनाले चलाउन सक्यो भने जुत्तामा हामी आत्मनिर्भर बन्न सक्छौ ।
बजारको मागलाई गोल्डस्टारले कति धानेको छ ?
हामीले चायौ भने एक करोड जुत्ता हरेक वर्ष बनाउन सक्छौ । भैरहवामा पनि ठूलो फ्याक्ट्री खोल्न लागेका छौ । नेपाली उत्पादनको जुत्ता ३३ प्रतिशत मात्रै छ । बाँकी जुत्ता चोरी निकासीबाट नै आइरहेको छ । तर हामीसँग बनाउन सक्ने क्षमता छ । कृषिपछि सबैभन्दा धेरै रोजगारी दिने उद्योग जुत्ता फ्याक्ट्री नै हो । सिमेन्ट फ्याक्ट्रीमा धेरैजसो मेसिनबाट काम हुने हुँदा कामदार पनि थोरै लाग्छ । हाम्रो सानो जुत्ताको कारखानामा पनि ३ हजार कामदारहरु रहेका छन् ।
सरकारले सिमेन्ट फ्याक्ट्री र अरु उद्योगहरुलाई जसरी जुत्ता फ्याक्ट्रीलाई पनि सपोर्ट गर्यो भने बजारको मागलाई यहाँको उत्पादनले धान्छ । यसका साथै धेरै रोजगारी दिने उद्योग पनि बन्छ ।
नेपालमा उत्पादित र बाहिरबाट आएको जुत्तामा के फरक छ ?
गोल्डस्टारले स्कुल जुत्तादेखि सबै प्रकारका जुत्ताहरु बनाइरहेको छ । दुई वर्ष लगाउँदा पनि नच्यातिने भनेर पनि उपाभोत्ताहरुले भन्नुहुन्छ । हाम्रो जुत्ताको विशेषता नै सस्तो, सजिलो बलियो हो । भारत र चीनबाट अवैध रुपमा गोल्डस्टारको ट्याग लागाएर आएका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नु पर्दैन । त्यसरी आएका जुत्ताहरु ३ महिनामै च्यातियो भने पनि व्यापारीलाई फरक पर्दैन । हाम्रो त आफ्नै ४० वर्षदेखिको ब्राण्ड हो यसलाई जोगाउनुपर्छ । सस्तो उत्पादन दिनै सक्दैनौ ।
अहिले नेपाली ब्रान्डको जुत्ताहरु महंगो भयो भन्ने गुनासो छ ?
हाम्रो जुत्ता महंगो छैन । युथहरुलाई फोकस गरेर अलि फरक फेसन अनुसारको जुत्ता बनाउन खोजेको छौं । अहिले पनि एक हजार भन्दा कम मूल्यको जुत्तालाई महंगो भन्न मिल्दैन । भारत र चीनबाट आएका जुत्ताहरुलाई ३ महिनामा च्यातिए पनि नेपालीहरुले ३ हजार रुपैयाँसम्म पनि तिरेर किनिरहेको छ । गोल्स्टारले बलियो सँगै सस्तो पनि दिनुपर्छ भन्ने हुदैन । हामीले पनि राम्रो जुत्ता बनाउन सक्छौ । त्यही अनुसारको मूल्य पनि तिर्नुपर्यो । गोल्डस्टार भन्दैमा सस्तोमात्र भन्ने हुदैन । बलियो पनि छ महंगो जुत्ता पनि बनाएका छौ तर त्यहि अनुसारको बजार पनि हुनुपर्यो ।
अहिले फ्याक्ट्री कसरी चलेको छ कसरी व्यवस्थापन गर्नु भएको छ ?
हाम्रो फ्याक्ट्री यहाँ र बालाजुमा रहेको छ । ३ हजार जना कर्मचारीहरु छन् । अरु साना फ्याक्ट्रीहरु पनि छन् । ती फ्याक्ट्रीहरुमा सोल बनाउछौं । भैरहवामा ठूलो फ्याक्ट्री खोल्दैछौ । अहिले हामीलाई आन्तरिक भन्दा पनि बाह्य समस्या रहेको छ । बैंकहरुमा पैसा छैन । यति धेरै कर्मचारीहरु राख्नुपर्छ ।
अवैध रुपमा बजारमा जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नु परेको छ । जुत्ताको मूल्य थोरै बढाउन पनि १० चोटी सोच्नुपरेको छ । राज्यले हामीलाई सपोर्ट गर्नुपर्यो । अन्य देशहरुमा सित्तैमा उद्योगीहरुलाई जग्गा दिन्छ । फ्याक्ट्री बनाउ ऋण दिन्छ । बिजुली फ्रि गरिदिन्छ भन्छन । तर, हामीले चै दिन दिनै आफैसँग जुधेर गर्नुपरेको छ ।
हामीसँग स्वदेशी कामदारहरु मात्र छन् । जसमा ६६ प्रतिशत महिलाहरु रहेका छन् । हामीले तीन महिना तालिम दिन्छौ । तालिमको समयमा पनि उनीहरुले पैसा पाउँछन् । तालिम दिएर मात्र ल्याउँछौ । सरकारले तालिम केन्द्र पनि खोलिदिनुपर्यो । हामीले त कामदार ल्याएर तालिम दिएर पैसा दिएर मात्र जुत्ता बनाउन लगाउँछौ । तालिमको बेला धेरै जुत्ताहरु नाश हुन्छ । त्यसको कुनै लेखाजोखा नै छैन ।
महिलालाई उद्योगी बन्न कत्तिको सहज हुने रहेछ ?
महिलाहरु प्राकृतिक रुपमा पनि मेहनती हुन्छन् । उनीहरु आफ्नो काममा एकदमै समर्पित हुनुहुन्छ । त्यसैले पनि उनीहरुलाई उद्योगी बन्न अन्यलाई भन्दा सहज हुन्छ जस्तो लाग्छ । मेहेनत त सबैले गर्नै पर्छ । त्यसमा महिलाले अन्य क्षेत्रका जिम्मेवारी पनि हेर्न पर्ने भएकाले अलि बढि मेहेनत गर्न पर्छ ।
अहिले निर्यातको अवस्था केछ ?
अहिले निर्यातमा गाह्रो छ यहाँबाट धेरै जुत्ता जाने भारतमा जाने हो । भारतमा पहिले धेरै नै जुत्ता जाने गथ्र्यो । ८० प्रतिशत जुत्ताहरु भारत निर्यात हुन्थ्यो भने अहिले ३३ प्रतिशत मात्र जुत्ता निर्यात हुन्छ । भारतमा अहिले अहिले प्रतिस्पर्धा धेरै छ । भारत सरकारले जीएस्टी पनि लगाएका कारण पनि निर्यातमा समस्य आइरहेको छ ।
बाहिरबाट आएको उत्पादनलाई भन्दा त्यहिको उत्पादनलाई प्राथमिकता दिने भएकाले पनि निर्यात घटेको छ । अन्तराष्ट्रिय बजारमा हेर्दा अमेरिका भर्खर लन्च गरेका छौ । त्यहाँ नेपाली उत्पादन पठाउन पनि जुत्ताहरु एकदमै महंगो पर्ने भएकाले त्यसका लागि पनि लागिरहेका छौ । यसबाहेक जापान भुटान, कतार सबै देशहरुमा गइरहेको छन । नेपालीहरु पुगेका सबै ठाउँमा गोल्डस्टारको निर्यात हुन्छ ।
ठूलो अनुपातमा निर्यात गर्न सक्ने हाम्रोे क्षमता छ । हामीले बनाएको जुत्ता अमेरिकामा पनि मन पराएका छन् । हामीले उत्पादन गरेर पठाएको जुत्ता सस्तो भएपनि अमेरिकामा कर तथा ढुवानीका कारण महंगो पर्न जान्छ । त्यसलाई पनि कम गर्न लागिरहेको छौ । नेपालबाट निर्यात गर्ने सामानहरु त एकदमै कम छन । धेरै सामानहरु आयात गर्ने भएकाले देशको स्थिति यस्तो छ । बजारमा तरलता छैन ।
हामी जस्तो कम्पनीहरुलाई सरकारले सहयोग गर्यो । जुत्ता चप्पलको निर्यातबाट पनि आम्दानी बढाउन सक्छौ । साना साना देशहरुमा निर्यात हुन्छ भनेर मात्र भएन विश्व बजारमा पुग्नुपर्यो ।
गोल्डस्टार त पुरानो कम्पनी हो आईपिओको तयारी के छ ?
यो चालिस वर्ष पुरानो कम्पनी हो । आईपिओमा जाने नजाने भनेर अझै निचोडमा पुगेका छैनौ । गएपछि के फाइदा हुन्छ र नगएमा के हुन्छ भन्ने कुरामा अझै हामीले सोचेका छैनौ ।
र अन्त्यमा सरकारले अवैध रुपमा आएका जुत्ताहरुलाई रोक्नुपर्छ ।सरकारले यस्ता क्षेत्रहरुलाई सहयोग गरेमा भोलि ठूला ठूला उद्योगहरु पनि आउँछ । नेपालबाट पनि धेरै परिणाममा जुत्ता चप्पलहरु निर्यात हुनसक्ने क्षमता छ । सरकारले सिटीइभिटीले दिने तालिमहरु जस्तै जुत्ता चप्पल बनाउने तालिम पनि सिकाउनु पर्यो । ५६ हजारभन्दा बढीलाई जुत्ता उद्योगहरुले नै काम दिइरहेको छ ।
नेपालमा जुत्ता चप्पलको ठूलो भविष्य छ । यसलाई विस्तार गर्न सरकारको सहयोग चाहिन्छ । सहयोग नगरेपनि चोरी निकासी रोक्नुपर्यो । कोभिड र बजारमा तरलताको अभावले गर्दा अहिले फ्याक्ट्री सार्न सहि समय होकी हैन भन्ने पनि भइरहेको छ । हामीले जग्गा किनिसक्यौ काम पनि सुरु भइसक्यो । त्यसलाई निरन्तरता दिने की नदिने भन्ने भइरहेको छ । नेपालका जुत्ताको भविष्य के हुने हो नै अन्योल छ ।
प्रतिक्रिया दिनुहोस