aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सार्वजनिक यातायातमा बेथिति

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २४ फागुन २०७८
सार्वजनिक यातायातमा बेथिति

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारलाई सातदिने समयसीमा तोक्दै भाडादर बढाउन माग गरेको छ । उक्त समयसीमाभित्र भाडा नबढाइए सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा जाने चेतावनी महासंघले दिएको छ । एकातिर महासंघले आन्दोलनको त्रास देखाउँदै भाडा बढाउन खोजेको छ भने अर्कातिर यातायात व्यवसायीले यात्रुसँग मनपरी रूपमा भाडा असुल्न थालेका छन् ।

महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाडा वृद्धिका लागि सरकारलाई समयसीमा तोकेको हो । यातायात क्षेत्रका समस्याको समाधानका सम्बन्धमा संघीय सरकार र सातओटै प्रदेश सरकारलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको महासंघको भनाइ छ । पछिल्लो समय इन्धनको मूल्य वृद्धि भइरहँदा पनि भाडादर बढाउन सरकारले बेवास्ता गरेको महासंघले बताएको छ ।

अहिले भइरहेको मूल्यवृद्धिको अनुपातमा हाल कायम भाडादरमा अन्तरप्रदेश र प्रदेशस्तरीय रूटमा न्यूनतम २६ प्रतिशतले वृद्धि गर्न  महासंघले माग गरेको छ । त्यसैगरी ट्याक्सीको हकमा शुरुआती कल ८० रुपैयाँ र प्रतिकिलोमिटर ६० रुपैयाँका दरले बढाउन माग गरिएको छ ।

आफ्ना माग पूरा गर्न सवारीसाधन बन्द गरेर सरकारलाई आन्दोलनको त्रास देखाउने महासंघले सर्वसाधारण यात्रुवर्गमा त्यसले पर्ने असुविधाबारे  सोचेको देखिँदैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनासाथ व्यवसायीले यात्रुसँग मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेको छ । केही दिनयता पेट्रोलियम पदार्थको मूल्य बढेसँगै केही यातायात व्यवसायीले न्यूनतम १८ रुपैयाँ भाडा तोकिएको रूटमा २० देखि २५ रुपैयाँ र ३० रुपैयाँ तोकिएको रूटमा ३५ रुपैयाँसम्म भाडा लिने गरेको गुनासो यात्रुहरूको छ । आइतवार कीर्तिपुरदेखि बल्खु आउँदै गरेका रोशन सापकोटासँग सहचालकले २० रुपैयाँ भाडा मागे । तर उनले भाडादर १८ रुपैयाँ होइन भनेर प्रश्न गर्दा चालक र सहचालक दुवैले इन्धनको भाउ बढेकाले २० रुपैयाँ नै तिर्नुपर्ने जिकीर गर्दै त्यति नै असुले । सापकोटाले आफूले रत्नपार्कसम्म यात्रा गर्दा कतिपय सवारीसाधनमा ३० रुपैयाँ तिर्नुपरेको सुनाए ।

महासंघका महासचिव भरत नेपालले काठमाडौं उपत्यकाभित्र सरकारले न्यूनतम भाडा १८ रुपैयाँ तोकेको बताए ।

प्रतिक्रिया दिनुहोस