
काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् ।
नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताइन् । स्थानीय तहको प्रमुख, अध्यक्ष र वडाध्यक्ष पदका लागि धेरै महिला सक्षम भइसकेकाले प्रमुख पदमा कम्तीमा ५० प्रतिशत स्थान महिलाका लागि सुरक्षित गर्नुपर्ने नेत्री भुसालले बताइन् । स्थानीय तहको निर्वाचनमा प्रमुख, अध्यक्ष र वडाध्यक्षमा ५० प्रतिशत उम्मेदवार बनाउनुपर्ने मागसहित काँग्रेसमा अभियान थालिएको उनको भनाइ छ । निर्वाचन आयोगले दलहरूलाई कम्तीमा ५० प्रतिशत प्रमुख पदमा महिला हुनुपर्ने दबाब दिनुपर्नेमा उनको जोड छ ।
‘दिगो भविष्यका लागि आजदेखि लैङ्गिक समानता’ भन्ने महिला दिवसको अन्तर्राष्ट्रिय नाराले भनेजस्तै स्थानीय निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने माग उनको छ । नेपालले चाहिँ ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नारा तय गरेको छ ।राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दलहरूले महिलाको योग्यता र क्षमताका आधारमा अबको स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्ने बताइन् । यस पटकको महिला दिवसको अन्तर्राष्ट्रिय नाराले महिला नेतृत्वलाई प्राथमिकता दिएकाले अबको स्थानीय तहको निर्वाचनबाट लैङ्गिक समानता सुरु गरिनुपर्ने अध्यक्ष पराजुलीले बताइन् ।
यस्तै निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय निर्वाचनमा नेतृत्वका लागि धेरै महिला पहिलो पद लिन योग्य भइसकेकाले दोस्रो पदमा मात्रै सीमित गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस