काठमाडौं । मुलुकको आर्थिक अवस्था संकटको संघारमा रहेका बेला आन्तरिक बजारमा पनि अमेरिकी डलर, सुन, पेट्रोलियमलगायतको मूल्यले नयाँ उचाइ कायम गरेका छन् । यस्तो अवस्थाले निरन्तरता पाए आउँदा दिनमा मूल्यवृद्धि अझै अकासिनुका साथै अर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्ने जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ (बिक्रीदर) तोकेको छ । यो करिब १ वर्ष यताकै उच्च हो । यसअघि २०७७ वैशाख १० मा डलरको भाउ त्यतिबेलासम्मकै उच्च १२३.२४ रुपैयाँसम्म पुगेको थियो । करिब ३ महिना अघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आएपछि केही सातायता निरन्तर उकालो लाग्दै आएको छ ।
गत असारको तुलनामा पुससम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९४ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८७ प्रतिशतले अधिमूल्यन भएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको हो ।
डलरसँगै आन्तरिक बजारमा सुनको मूल्य पनि लगातार उकालो लाग्दै आएको छ । सोही क्रममा सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । आइतबारको तुलनामा सोमबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । सोमबार दिउँसोसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ८० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । नेपाली समयअनुसार मध्याह्नपछि सुनको मूल्यको वृद्धिदरमा कमी आए पनि बढ्ने क्रम भने जारी छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कतिले बढ्छ त्यसका आधारमा मंगलबार नेपाली बजारमा सुनको मूल्य कति माथि पुग्छ भन्ने तय हुने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस