aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सफल महिला उद्यमीहरू भन्छन्–‘आँट गर्नुस्, चुनौती अवसरमा बदलिन्छ’

  • रिता राउत
    रिता राउत
  • मंगलबार, २४ फागुन २०७८
सफल महिला उद्यमीहरू भन्छन्–‘आँट गर्नुस्, चुनौती अवसरमा बदलिन्छ’

आज, फाल्गुन २४ गते (८ मार्च), ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । नेपालमा आज ‘सामाजिक न्याय र लैङ्गिक समानता सन् दिगो विकासको सुनिश्चितता’ भन्ने नारा सहित विभिन्न कार्यक्रमहरू गरी नारी दिवस मनाइँदै छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर महिलासम्बन्धी समस्या र मुद्दाहरूलाई विशेष रूपमा छलफल गरिन्छ। 

सामाजिक सञ्जालहरूमा # 'ब्रेक द बायस' (पूर्वाग्रह तोडौं) भन्ने अभियान नै सञ्चालन गर्दै मनाइँदै गरेको पृष्ठभूमिमा नेपाल जस्तो पिछडिएको र नारी अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरे पनि लैङ्गिक विभेदको सामन्तीयुगिन चरम अवस्था कायमै रहेको मुलुकमा समेत सबै बाधा र व्यवधान तोड्दै सफलताको शिखर चुम्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने केही सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा यहाँ प्रस्तुत गरिएको छ:  

भवानी राना (निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ)

             नेपाल उद्योग वाणिज्य महासंघको ५१ वर्ष लामो इतिहासमा म पहिलो महिला अध्यक्ष भए ।निजी व्यवशायीहरुको सङ्गठनमा उच्च पदमा पुग्न मेरा लागी अवसर र चुनौती दुवै थिए । अवसर भन्दा पनि चुनौती सामना गर्न मा आफू तयार थिएँ । पुरुष सरह महिला पनि सक्षम छन् भनेर देखाउने चुनौतीलाई मैले स्वीकार गरेँ । मैले नेपाल उद्योग वाणिज्य महासंघको कुशलतापूर्वक गरेको नेतृत्वले महिला सशक्तीकरणमा सकारात्मक प्रभाव परेको छ भन्ने लाग्छ ।    

मेरो अनुभव अनुसार कुनै महिला यो ठाउँसम्म आइपुग्न त्यति सहज छैन । धेरै अप्ठ्यारा खुड्किलाहरू पार गर्नु पर्ने हुन्छ । यो ठाउँमा आउनका लागि मैले धेरै नै संघर्ष र मेहनत गरेको छु । म अध्यक्ष रहँदा हरेक जिल्लामा जाने साना व्यवसायीदेखि लिएर ठुला व्यवसायीसम्मलाई के कस्ता कठिनाइ छन् भने बुझ्ने कामहरू गरेँ । ती कुराहरूलाई पोलीसी लेबलसम्म लबिङ गर्नु पर्यो । यी सबै काम गर्नलाई मलाई त्यति सहज थिएन । किनभने हामी महिलाहरूलाई दोहोरो तेहरो जिम्मेवारी रहेको हुन्छ । महिलाहरूले प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च पदको नेतृत्व सम्हाले पनि उसले त्यससँगै घरको जिम्मेवारी पनि सम्हाल्नु पर्ने हुन्छ । यसरी एउटी महिलाले दुई तीन भूमिकामा रहेर काम गर्न धेरै नै गाह्रो छ ।  

अझै पनि एफएनसीसीआईमा महिलाहरूको सहभागिता जति हुनुपर्ने हो त्यो देखिएको छैन । विस्तारै सदस्यकारुपमा महिलाहरूको सहभागिता बढ्दै गएको भने छ । तर, निर्णायक तहमा जाने, महिलाले नेतृत्व गर्ने भन्ने परिपाटी एकदमै कम रहेको छ । कुनै महिला अघि बढ्न चाहेमा केही साथ सहयोग भने पक्कै छ । महिलाहरूका लागि कोटाहरू पनि छुट्याइएको हुन्छ । महिलाहरूले कोटामा भन्दा पनि काम गरेर सक्षम बनेर लड्न सक्नुपर्छ भन्ने लाग्छ ।  नेपालमा एउटा कुनै महिलाले आफै नेतृत्व गरेर उद्योग सञ्चालन गरेको छ भने त्यसलाई समाजले राम्रो दृष्टिकोणले हेरेको छ । त्यस्ता महिलाहरू बधाईको पात्र समेत बनेका छन् । तर, उद्योग सञ्चालन गरिरहँदा महिलाहरूले धेरै समस्याहरू झेल्नु पर्ने हुन्छ ।

कुनै पनि व्यापार व्यवसाय शुरु गर्नका लागि हामी आर्थिक रूपमा सक्षम हुनुपर्ने हुन्छ । आर्थिक क्षेत्रमा महिलाहरूको पहुँच एकदमै कम छ । पुरुषहरूलाई कुनै व्यवसाय शुरु गर्नु पर्‍यो भने उसले जोखिम उठाउन सक्छ । किनभने उनीहरूले आफ्नो घर धितोमा राखेर भए पनि व्यवसाय शुरु गरिरहेका हुन्छन् । तर, महिलाहरूलाई यसरी अगाडी बढ्न सहज छैन । महिलाहरूले विवाह अघि केही काम गर्नु पर्‍यो भने दाजुभाइको आड लिनुपर्ने बाध्यता हुन्छ । त्यति मात्र होइन विवाह पछि पनि महिलाले केही गर्न चाहेमा उसले त्यसका लागि श्रीमान् वा ससुराको भर पर्नु पर्ने अवस्था अझै छ । जसले गर्दा महिलाहरूले जोखिम लिएर काम गर्न हिच्किचाउनु पर्ने हुन्छ । कुनै घरको पुरुषले घर जग्गा धितो राखेर व्यापार व्यवसाय बरु गर्छु भनेर भन्यो भने उसले सहजै पाउँछ । तर, त्यही कुरा महिलाले गर्‍यो भने घरका सदस्यले नै यसले गर्न सक्छे र भनेर शंका गर्छन् । यसो हुँदा महिलाको मनोबल, आत्मविश्वास पनि कम हुने गरेको छ । जसले गर्दा काम गर्ने क्षमता हुँदा हुँदै पनि कुनै महिलामा त्यो काम गर्न नसकिरहेको धेरै उदाहरणहरू छन् ।

तर, अहिले नेपाली समाज धेरै नै परिवर्तन भइरहेको छ । महिलालाई हेर्ने दृष्टिकोण सोचहरू विस्तारै परिवर्तन हुँदै गएको छ । हरेक घरमा सबैले कमाउनु पर्छ चाहे त्यो महिला होस, वा पुरुष । विस्तारै महिलाहरू पनि आफ्नो लागि आफैले काम गरेर आर्थिक रूपमा सक्षम हुनुपर्छ भन्ने मान्यता विकास भइरहेको छ ।  

मैले धेरै दिदी बहिनीहरूलाई भनिरहेको हुन्छ की हामीले जोखिम लिन सक्ने क्षमता राख्नु पर्छ । धेरै ठाउँमा महिलाहरूका लागि भनेर विभिन्न शीर्षकमा लोनहरू दिइरहेको हुन्छ । तर, व्यापार व्यवसाय शुरु गरेर पछि डुब्यो भने के गर्ने भन्ने अन्योल भएका कारण पनि कतिपय महिलाहरू पछाडि परिरहेका छन् । जोखिम लिन डराउनु हुन्न । अरूको भरमा होइन आफ्नै भरमा आफै केही गर्न सक्छु भन्ने आँट गर्नुपर्छ । महिलाहरूले पनि जोखिम लिएर अगाडी बढ्न सिक्नु पर्छ ।  

कमला श्रेष्ठ (अध्यक्ष, सौन्दर्यकला व्यवसायी संघ नेपाल)  

               मैले २०३६ सालमा कुपण्डोलमा ब्युटी पार्लर व्यवसाय सुरु गरे । त्यति बेला काठमाडौंमा दुई वटा मात्र पार्लर थिए । ललितपुरमा एउटै पनि पार्लर थिएन । मेरो पार्लर नै ललितपुरको पहिलो पार्लर हो । मासिक ५ सय भाडा तिर्ने गरी एउटा कोठा भाडामा लिएर व्यवसाय शुरु गरे । उक्त पार्लरमा १० हजार रुपैयाँ लगानी गरेको थिए । व्यवसाय त सुरु गरे पनि ग्राहक भने कोही आउँदैनथे । पहिलो महिना मैले ८० रुपैयाँ आम्दानी गरेको थिए । राणा, शाह घरानाका केही महिला मात्र कहिले काहीँ आउने गर्थे । तर, पछि विस्तारै सर्वसाधारण पनि पार्लर आउन थाले । १० हजार लगानीमा शुरु गरेको व्यवसाय विस्तारै फस्टाउँदै गएपछि  आफ्नै पैसाले जग्गा किनेर घर बनाएँ ।  

नेपालमा ब्युटी पार्लर जन्मेको लगभग ५० वर्षको इतिहास छ । यसबिचमा यस क्षेत्रले धेरै ठूलो फड्को मारेको छ । मैले सुरुवात गर्दाको ब्युटी पार्लर व्यवसाय र अहिलेको अवस्था हेर्ने हो भने आकाश जमिनको फरक छ । मैले सुरुवात गर्दा २र३ वटा मात्रै ब्युटी पार्लर थियो तर, अहिले यो सङ्ख्या बढेर दुई तीन लाख पुगिसकेको छ । यसरी हेर्दा धेरै मानिसहरूले कमला श्रेष्ठलाई सौन्दर्यका क्षेत्रमा ठूलो क्रान्ति ल्याउने व्यक्ति हो पनि भन्ने गरेका छन् ।

ब्युटी पार्लर क्षेत्रमा ठूलो लगानीको आवश्यक पर्दैन । एउटा कोठामा पनि यो व्यवसाय सञ्चालन गर्न सकिन्छ । धेरैले यसरी नै यो व्यवसाय सञ्चालन गरेर सफल पनि भएका छन् । धेरै महिलाहरूले अन्य क्षेत्र भन्दा बढी व्यटिसियन क्षेत्र रुचाएका छन् । महिलाहरूले यो व्यवसाय रुचाउनुमा दुई तीन वटा कारण रहेका छन् । यस क्षेत्रमा यो उमेरका महिलाहरूले मात्र गर्ने हो है भन्ने छैन । यस क्षेत्रमा १६ वर्षदेखि ६० वर्षसम्मका महिलाहरू आबद्ध भएर काम गरिरहेका छन् ।

यो क्षेत्रमा लाग्नका लागि यतिसम्म पढाई चाहिन्छ भन्ने छैन । सिप सिके पुग्छ । तर, अहिले ९ देखि १२ कक्षासम्म ऐच्छिक सोन्दर्यशास्त्र भनेर पढाई शुरु गर्ने तयारी थालिएको छ । यसको पढाई आउँदो वैशाखबाट शुरु गर्ने तयारी छ । यो व्यवसाय फस्टाउनुमा वैदेशिक रोजगारमा जानका लागि यस क्षेत्रमा धेरै अवसरहरू रहेका छन् । जसले गर्दा पनि विदेश जानेहरूले पनि व्युटीसियन सिप सिक्ने गरेका छन् । साथै एउटा कोठामा घरपरिवारको रेखदेख गर्दै ब्युटी पार्लर सञ्चालन गर्न सकिने भएकाले पनि यस क्षेत्रमा महिलाहरुको रुचि बढेको हो ।

ब्युटी पार्लर क्षेत्रमा आबद्ध हुनेको सङ्ख्या दिनदिनै बढी रहेको छ । अन्य क्षेत्रमा पढ्दै गर्दा जागिर पाउन मुस्किल हुन्छ । तर, यस क्षेत्रमा पढ्दै सिप सिकेर केही आम्दानी गर्न सकिन्छ । म सबै युवायुवतीहरूलाई सिप सिक्नुहोस् आत्मनिर्भर बन्नुहोस् भन्न चाहन्छु । कतै भौँतारिनु पर्दैन । अरूको देशमा पलायन हुनु पर्दैन । आफ्नै मुलुकमा पनि जिउन सकिन्छ । डाक्टर, इन्जिनियर नै बन्नु पर्छ भन्ने छैन । ब्युटी पार्लर क्षेत्रमा पनि राम्रो भविष्य छ । इच्छा शक्ति लिएर ब्युटी पार्लर क्षेत्रमा लाग्ने हो भने यस क्षेत्रबाट पलायन हुनुपर्ने स्थिति कहिले पनि आउँदैन ।  

शारदा रिजाल (पूर्व अध्यक्ष, महिला उद्यमी महासंघ)    

                मलाई सानैदेखि सरकारी जागिरभन्दा उद्यमी बन्ने इच्छा थियो । आमाले घरमा लुगा सिलाउँदा र काटेको हेर्दा हेर्दै मैले लुगा सिलाउन जाने । २०३६ सालमा त्रिपुरेश्वरस्थित घरेलु तालिम केन्द्रमा तालिम पनि लिए । मलाई त्यो तालिम कुनै नयाँ भने लागेन । किनकि म पहिले नै घरमा लुगा सिलाउँथेँ । त्यो तालिमबाट मैले एउटा कुरा भने सिकेँ । मलाई सबै आउँथ्यो तर राम्रो ड्राफ्ट भने बनाउन आउँदैनथ्यो । अन्दाजमै लुगा काटेर बनाउने गर्थेँ । त्यहाँ गएर त्यो कुरामा चाहिँ पोख्त नै भए ।  

आठ वर्ष सिद्धार्थ वनस्थलीमा शिक्षण पेसाको अनुभव पनि सम्हाले । स्कुल पढाउँदै गर्दा २०४० सालमा विवाह भयो। यसबिचमा मेरा दुई वटा बच्चासमेत भए । बच्चा भएपछि पनि मेरो त्यो व्यवसाय गर्ने इच्छा मनमै गढिरहेको थियो । एक दिन मैले मेरो श्रीमानलाई मलाई आफ्नै एउटा व्यवसाय गर्न मन थियो भनेँ । श्रीमानले तिम्रो इच्छा व्यवसाय गर्नु छ भने गर भनेपछि मैले २०४६ सालमा व्यवसाय शुरु गर । शिक्षण पेसाबाट जम्मा भएको रकम नै व्यवसायमा लगानी गरेँ । मैले व्यवसाय शुरु गर्दा देशमा राजनीतिक परिवर्तनसँगै आन्दोलनले तातेको थियो । जसले गर्दा अपेक्षित सफलता हात लागेन । तर, मैले हिम्मत भने हारिन ।  

त्यो समयमा मैले लुगा सिलाउने टेलर होइन, होलसेल फ्याक्ट्री खोलेँ । सुरुमा मसँग जम्मा तीन वटा मेसिन मात्र थिए । मैले रेडिमेट होलसेल फ्याक्ट्री खोलेकी थिएँ । ठूला–ठूला गार्मेन्टमा गएर अर्डर ल्याएर सिलाउँदै आफ्नो व्यवसायलाई अघि बढाएँ । मेसिन थप्दै जाँदा ३५ वटा पुर्‍याएँ । २०४९ सालमा मैले मेरो उद्योगलाई नाम दिएर मिलन गार्मेन्टको नाममा उद्योग विभागमा दर्ता गरेर सञ्चालन गरेँ । ३५ मेसिनले काम गरिरहेकी थिएँ । त्यही समय गल्फ वार पनि भयो । त्यो युद्धले ठूलाठूला उद्योग बन्द भए । फ्याक्ट्री बन्द हुन पुग्यो ।  मैले सबै ३५ वटा मेसिन एउटा कोठा भाडामा लिएर राखे ।  

घरको काम बालबच्चादेखि लिएर स्कुल पढाउने काम पनि गरिरहेकी थिएँ । मैले रातदिन नभनेर काम गर्थेँ । सुरुमा श्रीमानले मलाई व्यवसाय गर्न अनुमति दिए पनि व्यवसाय नफस्टाएपछि व्यवसायलाई बन्द गर्न सल्लाह दिनुभयो  । तर, मैले व्यवसायमा जस्तो अवस्था आए पनि बन्द गर्न सक्दिनँ भनेकी थिए । शुरुका एक दुई वर्ष देशको राजनीति अवस्था राम्रो नहुँदा मलाई धेरै समस्या भएको थियो । त्यति बेला मलाई पसलको भाडा तिर्नसमेत समस्या भयो । विद्यार्थीलाई ६ महिनासम्म ट्युसन पढाएर भाडा तिरेकी थिएँ । त्यसो गर्दै मैले मेरो व्यवसाय बचाएकी हुँ ।  

त्यो समय मेरो कुरा काट्नेको भने कमी थिएन । म राति साना छोराछोरीलाई छोडेर अर्डर आएको काम गर्न जान्थेँ । छोराछोरी सानै थिए । म राति काम गर्न जाँदा छोरा छोरी न्याउरो मुख लाएर बस्थिन् । मलाई नराम्रो लाग्थ्यो । तर, के गर्नु मलाई मेरो व्यवसायलाई बचाउनु थियो । त्यसरी काम नगर्दा व्यवसायलाई नै अघि बढाउन गाह्रो हुन्छ । म यसरी नै आफ्नो व्यवसाय अघि बढाउँदै गए ।  

मैले आफ्नो व्यवसायलाई आफ्नै तरिकाले लिइरहेकी थिएँ । पछि विभिन्न संघसंस्थामा पनि संलग्न भए व्यवसायीहरुसंग पनि सम्बन्ध बढ्दै गयो । पछि मैले उत्पादन गरेको सामान विभिन्न देशमा जान थाल्यो । पछि व्यवसाय बढ्दै गयो । महिनामा ४–५ लाखसम्मको व्यवसाय हुन थाल्यो । अनि मलाई खासै समस्या भएन । मेरो गार्मेन्टमा सयदेखि २ सय जनाले काम गर्न थाले । १० हजारबाट शुरु गरेको व्यापारले घर बनाउनुसँगै करौडौं सम्पत्तिको मालिक समेत बनायो  ।

मैले महिला उद्यमीको प्रतिनिधित्व गर्ने संस्था महिला उद्यमी महासंघको अध्यक्ष भएर समेत काम गरिसके । मेरो जीवनमा चुनौती जस्तो सुकै आए पनि म हतोत्साहित कहिले भइन् । सोचलाई  जहिले सकारात्मक बनाएर अघि बढे । जहिले आफ्नो नामले चिनिने सपना देखिरहन्थे । दिउँसो देखेको सपना साँच्चै लक्ष्यमा पुग्दो रहेछ ।

आर्थिक शसक्तिकबरण बिना केही पनि बाटो खुल्दैन । कुनै एक महिलाले केही कमाउन थाल्यो भने उसलाई हेर्ने दृष्टिकोण घरपरिवारदेखि छरछिमेक समाज सबैको फरक पर्छ । आर्थिकरुपमा कुनै महिला सशक्त छैन भने उसले अरूको अगाडी कन्फिडेन्ट भएर प्रस्तुत हुन नै सक्दिनन् । यो कुरा मैले आफैले पनि भोगेको कुरा हो ।

म महिला दिदिबहिनीहरुलाई के भन्न चाहन्छु भने हरेक महिलाहरूसँग केही न केही सिप हुन्छ । पकाउनेदेखि लिएर सिलाउनेसम्मको सिप हुन्छ तर आफूमा भएको सिप कतिले बाहिर ल्याउन नपाइरहेको हुन्छन् । काम सानो ठूलो केही हुँदैन । आफूमा भएको सिपको पहिचान गर्न सिक्नुस् । आफ्नो शौखलाई नै व्यवसाय बनाउनुहोस् । त्यसो गर्नु भयो भने तपाई आफ्नो काममा रमाउन सक्नुहुन्छ । सबै महिलाहरू उद्यममै लाग्नु पर्छ भनेर म भन्दिन । घरबाट बाहिर निस्केर काम गर्दा पनि हुन्छ ।

पहिला जस्तो अहिले महिला र पुरुषमा त्यति भेदभाव छैन । अहिले सबैजसो समान व्यवहार भइरहेको हुन्छ । छोरीलाई पनि सक्षम बनाएर मात्र अरूको घरमा दिनुपर्छ भन्ने जारुगता छ । हाम्रो पालामा जस्तो अहिले महिलाहरूलाई बन्धन छैन । मेरै कुरा गर्ने हो भने मैले व्यवसाय गर्छु भन्दा बुवाले नदिएर १० औँ वर्षसम्म म चाहेर पनि व्यवसाय सुरु गर्न सकिन । तर, अहिले त्यस्तो छैन । छोरीले पनि उद्यम गर्न चाहिँ भने बुवा आमाले लगानी गरिदिन्छन् । नाई भन्न सक्दैनन् । त्यसैले हरेक महिलाहरू आत्मनिर्भर हुन सिक्नुस् । आँट गर्नुहोस् । केही गरेर देखाउँछु भन्ने हिम्मत राख्नुहोस् । अरूकोमा परनिर्भर नहुनुहोस् ।  

प्रतिक्रिया दिनुहोस