
दार्चुला । एकअर्काको सहमतिबिना सीमा नदीको बहाव प्रभावित हुने संरचना निर्माण गर्न नपाइने भए पनि भारतले दार्चुला सदरमुकामनजिकै नदी किनारमा एकतर्फी पक्की तटबन्ध बनाइरहेको छ ।
यो विषयमा स्थानीयले लगातार गुनासो गर्दा पनि सरकारले भारतसँग संवादको पहल नगर्दा तनाव बढेको छ । मंगलबार वारिपारिका सर्वसाधारणबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको छ ।
नेपाली पक्षलाई औपचारिक जानकारी नदिई भारतले दार्चुला सदरमुकाम पारि महाकाली किनारमा पाँच किलोमिटर लामो तटबन्ध बनाइरहेको छ । ९ मिटर उचाइ र ७ मिटर चौडाइको यो संरचनाबारे दार्चुला प्रशासनले चासो राखे पनि भारतीय पक्षले जानकारी दिएको छैन ।
गत पुसबाट तटबन्ध निर्माण भइरहेको ठाउँ २०७० मा बाढी आउनुअघि नेपालको सार्वजनिक जमिन थियो । त्यही स्थानमा जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभाग रहेको स्थानीयको भनाइ छ । गत वर्ष भौराबगर पारिपट्टि पनि भारतले बाँध निर्माण गरेको थियो, यो भूभाग पनि बाढी आउनुअघि महाकालीवारिको बगर थियो ।
प्रतिक्रिया दिनुहोस