aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योगको योगदान बढी

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, २५ फागुन २०७८
रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योगको योगदान बढी

काठमाडौं । नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी परियोजना सेवा क्षेत्रका रहेका छन् भने दोस्रोमा पर्यटन क्षेत्र रहेको छ ।

चालू आवको पुस मसान्तसम्ममा नेपालमा सेवातर्फ १ हजार ७ सय २२ वटा तथा पर्यटनतर्फ १ हजार ६ सय ८९ परियोजना स्वीकृत भएका छन् । तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगमा भने १ हजार २ सय १२ परियोजना रहेका छन् । यसबाहेक कृषि तथा वनजंगल क्षेत्रमा २ सय ९१, सूचना प्रविधि क्षेत्रमा १ सय १२, ऊर्जामा ९०, खानीमा ७२ र पूर्वाधार क्षेत्रमा ४६ परियोजना स्वीकृत भएका छन् ।

विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार रोजगारी सिर्जनाका क्षेत्रमा भने उत्पादनमूलक उद्योग अघि देखिएका छन् । यो क्षेत्रमा प्रस्तावित ६१ अर्ब ६ करोड ३१ लाख लगानी भई १ लाख ३ हजार ९१ को संख्यामा रोजगारी सिर्जना हुने जनाइएको छ । 
उत्पादनमूलक भन्दा सेवा क्षेत्रको लगानी बढी भए पनि रोजगारी सिर्जना भने कम रहेको छ । पराजुलीका अनुसार सेवा क्षेत्रमा प्रस्तावित ७२ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानी भई ७३ हजार १ सय ६२ को संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस