
काठमाडौं । नेपालले पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको सम्झौता नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरु भएको छ ।
भारतसँगको सम्झौता यही मार्च २७ तारिखमा सकिने भएकाले नवीकरणका लागि छलफल थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुई देशबीच सहसचिवस्तरीय भर्चुअल बैठक भएको मन्त्रालयको भनाइ छ ।
नेपालको तर्फबाट मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवबीच भर्चुअल छलफल भएको हो । बैठकमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि अमलेखगन्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगन्जको पाइपलाइन सुरक्षा व्यवस्था लगायत विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । खरिद सम्झौता समयमै नवीकरण गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताइएको छ ।
इन्धन खरिद सम्झौता नवीकरणका विषयमा प्रारम्भिक रुपमा छलफल भएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । छलफलमा कानुन, अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता थियो । इन्धन खरिदका लागि नेपाल आयल निगम र भारतीय आयल निगमबीच भएको सम्झौता हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस