
काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो ।
कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । गत वर्षको यही अवधिको तुलनामा चालू आवको फागुनसम्म लगभग दोब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
गत वर्षको फागुनसम्म १ लाख १५ हजार ३१५ रहेकोमा चालू आवमा ३ लाख ९३ हजार ४५७ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए ।
चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएको भए पनि कोरोना भाइरसको तेस्रो लहर सुरु भएका कारण फागुनमा भने केही घटेको देखिन्छ । चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो संख्या फागुनमा ४२ हजार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस