
विराटनगर । युक्रेन संकटका कारण खाद्यान्न लगायतको कच्चा पदार्थको आयातमा समस्या भएपछि तयारी वस्तुको निकासीमा सरकारले नियन्त्रण गर्नुपर्ने उपभोक्तावादी संघसंस्थाले माग गरेका छन् । युक्रेनबाट नेपालमा तोरीको दाना, भटमास, सूर्यमुखी तेलको क्रुड, गहँु, केराउ लगायत खाद्यवस्तु आयात हुँदै आएको छ । तर रसियाले युक्रेनमा आक्रमण थालेपछि सबै मालवस्तुको अर्डर रद्द भएको छ ।
आपूर्ति प्रभावित हुँदा नेपाली बजारमा माग बमोजिमको वस्तु उपलब्धतामा समस्या हुने भन्दै उपभोक्तावादी संस्थाहरूले सरकारले उद्योगी र व्यापारीसँग तत्काल समन्वय गरेर अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न करका दर हेरफेर गर्न समेत माग गरेका छन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले आम उपभोक्ताले सुपथ मूल्यमा सुलभ तरिकाले खाद्यान्न लगायत उपभोग्य वस्तु खरीद गर्ने वातावरण बनाउन यस्ता वस्तुको मौज्दात बढाउने र निकासी रोक्ने कदम चाल्नुपर्ने बताए ।
‘युक्रेनमा रूसको आक्रमण भएलगत्तै खानेतेलमा मूल्यवृद्धि गरिएको छ, जसको असर दुई महीनापछि मात्र देखिनुपर्नेमा अहिले नै देखिएको छ,’ उनले भने, ‘त्यसैले बढेर आएको मालवस्तुको मात्र मूल्यवृद्धि हुनेगरी सरकारले नियमनको व्यवस्था मिलाउनुपर्छ । युक्रेन–रसियाको द्वन्द्वको कारण नेपालमा उत्पन्न हुन सक्ने तेलको अभाव टार्न यसको निकासीमा नियन्त्रण गर्नुपर्छ ।’
उपभोक्ता जागरण अभियान, नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले सरकारको गैरजिम्मेवारले उद्योगी व्यवसायीको मनोमानी बढेको बताए ।
प्रतिक्रिया दिनुहोस