aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपाल आउने २ लाख टन कोइला हल्दियामा रोकियो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ३० फागुन २०७८
नेपाल आउने २ लाख टन कोइला हल्दियामा रोकियो

काठमाडौं । समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।

रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन् ।

उद्योगीले कोइला रोकिएकोबारे जानकारी गराएलगत्तै भारतीय रेलवेलाई आवश्यक संख्यामा रेक उपलब्ध गराउन पत्राचार गरिसकेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

विगत १२ दिनदेखि रेलवेले हल्दिया बन्दरगाहमा रेक नदिएको कोइला आयातकर्तासमेत रहेका राजपालले जानकारी दिए । भारतमा विद्युत् उत्पादन गृहमा कोइला आपूर्तिको चाप बढेकाले नेपालका लागि रेक नदिएको भनाइ राजपालको छ ।

‘तेस्रो मुलुकबाट बन्दरगाहसम्म आइपुगेको ५२ रेकजति कोइला थुप्रिएको छ । रेलवेलाई पटकपटक आग्रह गर्दा पनि आपूर्ति भएन,’ राजपालले भने । करीब २ लाख मेट्रिकटन कोइला बन्दरगाहमा अड्किएपछि यता अभाव हुन थालेको उनले बताए ।

भारत, इन्डोनेशिया, अमेरिका, अस्टे«लिया र दक्षिण अफ्रिकाबाट वर्षेनि करीब १५ लाख मेट्रिकटन कोइला आयात हुने आयातकर्ता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस