लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३ जेठ २६ गते ठेक्का लगाइयो ।
म्याद दिइयो १६ महिना २०७४ असोज २७ सम्म । म्याद सकिँदा कामको मेलो सरेन । फेरि म्याद थपियो । सरकारकै आँकलनअनुसार तीन वर्ष दुई महिनामा बल्ल त्यहाँ ५० प्रतिशत काम सकिएको छ ।
सरकार ठेक्का लगाउँछ। ठेकेदार समयमा काम सक्दैनन् । सरकार म्याद थपिदिन्छ । ठेकेदार फेरि पनि काम सक्दैनन् । सरकार फेरि पनि म्याद थपिन्छ। तर निर्माण कार्य अझै अघि बढ्दैन ।
यस्तै प्रवृत्तिले चार वर्षअघि काम सुरु भएका उपत्यकाका कुनै पनि सडकको काम पूरा भएको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चार वर्षअघि ९ वटा सडक खण्ड विस्तार थालेको थियो । अहिलेसम्म सडकमा प्रगति न्यून छ ।
आयोजनाले काम थालेको सडक खण्डमा जोरपाटी–सुन्दरीजल, नख्खु–भैंसीपाटी–बुङ्मती, ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड, पेप्सीकोला–काँडाघारी, कर्मनासा–हरिसिद्धि–गोदावरी, इमाडोल–गोदावरी, लगनखेल–सातदोबाटो, चाबहिल–जोरपाटी–साँखु, त्रिपुरेश्वर–कलंकी–नागढुंगा छन् । यीमध्ये अहिलेसम्म एउटा सडकको पनि काम सकिएको छैन ।
ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड, पेप्सीकोला–काँडाघारी, कर्मनासा–हरिसिद्धि–गोदावरी र जोरपाटीसुन्दरीजल सडकको २० प्रतिशतभन्दा काम हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस