aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सीमाक्षेत्रका किसान आफ्नै आलु किन्न बाध्य

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, ०२ चैत्र २०७८
सीमाक्षेत्रका किसान आफ्नै आलु किन्न बाध्य

विराटनगर । देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोड गरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो । भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो ।

तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो । सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको माटो परीक्षण गरी आलु कुन खेतको हो पत्ता लगाउन खिलानन्दले आग्रह गरे । तर, सुनसरी भन्सार कार्यालयले त्यो सम्भव नभएको भन्दै आलु लीलाम गरिदियो । त्यो लीलाम खिलानन्द आफैले सकारेर आफ्नै बारीको आलुका लागि ४ लाख रुपैयाँ भन्सारलाई तिर्नुपर्‍यो ।

यो सीमाक्षेत्रका किसानको समस्याको प्रतिनिधि घटना हो । यस्ता घटना प्रत्येक कृषि उपज तयार भएपछि खेतबाट बजार पुर्‍याउँदा यहाँका किसानले भोगिरहनुपर्छ । सीमाक्षेत्रका किसानले मकै, गहुँ आदि जुनसुकै बाली बजारमा लिएर जाँदा ‘पारिबाट’ ल्याएको ट्याग लगाइदिएर भन्सारले पक्राउ गर्ने र लीलाम गरिदिने गरेको छ ।

वर्ष दिनभरि दिनरात नभनी खेतमा काम गरेका किसानले कृषि उपज विक्री गर्न लैजाँदा बिचौलियाहरूले नै भन्सारलाई गलत जानकारी दिएर माल पक्राउ गराइदिने गरेका छन् । त्यसैले किसानले बिचौलियालाई किलोमा ५ देखि १५ रुपैयाँसम्म सस्तोमा कृषि उपज विक्री गर्नु परिरहेको दुखेसो खिलानन्दले पोखे ।
बाबुजी आधारभूत विद्यालयका प्रधानाध्यापक इलियास मन्सुरीले भने, ‘किसानले पहिलेपहिले बिचौलियालाई नै उत्पादित कृषि उपज खेतबाटै विक्री गर्थे । तर, पछिल्लो समय सडकको पहुँच भएपछि सोझै इनरुवाको सब्जिमण्डी या विराटनगरको गुदरी बजारमा आफ्ना उत्पादन लैजान थालेका छन् ।’

त्यहाँ लैजाँदा किलोमा ५ देखि १५ रुपैयाँसम्म बढी मोल पाउन थालेपछि बिचौलियालाई विक्री गर्न छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस