aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एकाएक हङकङसँग किन रुष्ट भयो चीन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
एकाएक हङकङसँग किन रुष्ट भयो चीन ?

हङकङ । हङकङमा भइरहेका सरकारविरोधी प्रदर्शनलाई ‘कट्टरपन्थी तत्त्वहरूले गरेका खराब र आपराधिक कार्य’ आरोप लगाउँदै चीन रुष्ट भएको छ ।

हङकङमा हालै भइरहेका सरकारविरोधी प्रदर्शनलाई ‘भयावह घटना’ को संज्ञा दिँदै यसका लागि ‘कट्टरपन्थी तत्त्वहरू जिम्मेवार’ रहेको चीनले जनाएको छ ।

चीनस्थित हङकङ तथा मकाउ मामिला कार्यालय (एचकेएमएओ) प्रवक्ता याङ गुआङले प्रेस वक्तव्यमार्फत  ‘कट्टरपन्थी तत्त्वहरूले गरेका खराब र आपराधिक कार्य’ भन्दै कडा आलोचना गरेका छन् ।

हङकङमा भइरहेको प्रदर्शनले कानुनी शासनमाथि नै गम्भीर असर पुर्‍याएको भन्दै सो क्षेत्रमा कानुनी शासन स्थापित गर्नु मुख्य प्राथमिकता रहेकोमा चीनले जोड दिएको छ ।


मन्त्रिपरिषद्स्तरको अधिकार रहेको एचकेएमएओले ‘चीन हङकङमा कानुनी शासनका लागि क्रियाशील कार्यकारी प्रमुख क्यारी लाम र प्रहरीको पक्षमा रहेको’ समेत जनाएउँदै हङकङमा सर्वसाधारणलाई वर्तमान अवस्थाको गाम्भीर्यता बुझ्न आग्रह गरेको छ ।

हङकङ सरकारले ल्याएको विवादास्पद सुपुदर्गी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन आठ सातादेखि जारी छ । हरेक साताको अन्त्यमा गरिने प्रदर्शन पछिल्ला दिनमा प्रजातन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ ।
 विश्वकै शान्तमध्येको सहर हङकङ मा हालका प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच नियमितजसो हिंसात्मक घटना हुने गरेका छन् ।

पछिल्ला प्रदर्शनमा प्रदर्शनकारी, प्रहरी र आपराधिक समूहसँग निकट ठानिएका मुखुन्डोधारीबीच हिंसात्मक झडपहरू हुन थालेका छन् ।

शनिबार र आइतबार गरिएका विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपहरूमा प्रहरीले हङकङस्थित चीन सरकारको कार्यालय पुग्न प्रयासरत प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।


आइतबारको प्रदर्शनका क्रममा सहभागीहरूले दुई मुख्य स्थानको सडक अवरुद्ध गरेका थिए । साई वान र कजवे बेमा दसौं हजार प्रदर्शनकारी जम्मा भएका थिए । सडकमा छेकबार खडा गरेर ‘स्वतन्त्र हङकङ’ को नारा लगाइरहेका प्रदर्शनकारीहरू चिनियाँ सरकारी कार्यालयतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


कार्यालय रहेको भवनको ढोकामाथिको चिनियाँ प्रतिकमा गतसाता प्रदर्शनकारीले कालो रंग छ्यापेपछि चिनियाँ अधिकारीले उक्त कदम ‘सह्य नहुने’ चेतावनी दिएका थिए । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले ‘चीनको सम्पर्क कार्यालयमा आक्रमण गर्ने प्रदर्शनकारीको निन्दा’ गर्दै हङकङका नेताले सेनाको सहयोग माग्न सक्ने ‘स्पष्ट प्रावधान’ रहेको बताएका थिए ।


अहिले हङकङमा रहेका चिनियाँ जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता पनि व्यक्त गर्न थालिएको छ । कानुनतः हङकङमा सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद् व्यवस्थापनमा सहयोग गर्न सरकारले जनमुक्ति सेनालाई आग्रह गर्न सक्छ ।

तर हङकङमा सेना परिचालन गर्नु चीनका लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुने तर्क विश्लेषकहरूको छ ।

एक साताअघि प्रदर्शनमा संलग्न भएर फर्कंदै गरेका मानिसलाई सेतो टिसर्ट लगाएका मानिसको समूहले रेल स्टेसनमा आक्रमण गरेको थियो । आक्रमणमा तीन दर्जनभन्दा बढी घाइते भएका थिए ।

विधेयकको विरोधमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर उत्रेपछि प्रमुख कार्यकारी क्यारीले विधेयक स्थगनको घोषणा गरेकी थिइन् ।

तर प्रदर्शनकारीहरूले विधेयक फिर्ता, ‘प्रहरी दमन’ को स्वतन्त्र छानबिन र प्रजातान्त्रिक सुधारको माग गरिरहेका छन् । त्यसैगरी पछिल्ला दिनमा भएका प्रदर्शनमा ‘प्रजातान्त्रिक ढंगले निर्वाचित नभएकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा’ माग गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘सरकारी योजनाअनुसार प्रदर्शनकारीमाथि आक्रमण गरिएको’ दाबी गर्दै विरोध झन चर्काएका छन् । आक्रमणस्थलमा प्रहरी ढिला पुगेको तथा कपितय प्रदर्शनमा अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरीको आलोचना हुने गरेको छ ।

अपराध तथा बलात्कार आरोपीलाई मुख्यभूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक ल्याएपछि हङकङमा प्रदर्शन चर्केको हो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङका जनता पीडित हुने दाबी प्रदर्शनकारीको छ ।

विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्ता निसानामा पर्ने भदै विशाल प्रदर्शनहरू गरिँदै आएको छ । तर हङकङका अधिकारीले सुपुर्दगीसम्बन्धी अन्तिम निर्णय घटनाको प्रकृतिमा भर पर्ने भएकाले विधेयकको विरोध गर्नु उचित नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस