aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपाल र भारतले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको शिलान्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
नेपाल र भारतले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको शिलान्यास

काठमाडौं । शिक्षा क्षेत्रका लागि भारतको ५ करोड अमेरिकी डलर अनुदान सहयोगमा निर्माण हुन लागेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको नेपाल र भारतले मंगलबार संयुक्त रुपमा शिलान्यास गरेका छन्।

३१ करोड ६९ लाखको लागतमा निर्माण हुन लागेको यो पुस्तकालय नेपालको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार निर्माण गरिने नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ ३ तले भवनमा आधुनिक सुविधासहित विभिन्न शैक्षिक खण्डहरू समावेश हुनेछन् ।

भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा भारतको प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थानले यस पुस्तकालयको निर्माणका लागि प्राविधिक विशेषज्ञता उपलब्ध गराउने भारतीय दूतावासले जनाएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संयुक्त रुपमा आयोजनाको शिलान्यास गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

सो अवसरमा बोल्दै राजदूत क्वात्राले यो परियोजना नेपाल र भारतबीचको बहुआयामिक, बलियो र सुदृढ विकास साझेदारीको प्रमाण भएको बताए । नेपालका लागि भारतीय राजदूतले नेपाल सरकारसँगको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताए ।

भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा नेपालका मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतको निरन्तर सहयोगको प्रशंसा गरेका छन् । उक्त परियोजना कार्यान्वयनका लागि नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारीपत्रमा पनि हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, नेपालस्थित केन्द्रीय आयोजना कार्यान्वयन इकाई र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । भारतले नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर भूकम्प पुनर्निर्माण अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसमध्ये ५ करोड अमेरिकी डलर शिक्षा क्षेत्रमा छ जसअन्तर्गत आठ जिल्लामा ७१ शैक्षिक संस्था निर्माण भइरहेका छन् । तीमध्ये १४ वटा हस्तान्तरण भइसकेको र बाँकी निर्माणाधीन अवस्थामा रहेको भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयमा भारत सरकारले गरेको अन्य ठूला परियोजनामा सन् १९७३ मा गान्धी भवन निर्माण पनि समावेश छ, विज्ञप्तिमा भनिएको छ। इण्डिया न्यु्ज नेटवर्क

प्रतिक्रिया दिनुहोस