aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘नेपालमा चिया व्यवसायको बजार राम्रो छ, चिया बेचेर करोडौँ कमाउन सकिन्छ’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, ०३ चैत्र २०७८
‘नेपालमा चिया व्यवसायको बजार राम्रो छ, चिया बेचेर करोडौँ कमाउन सकिन्छ’

अधिकांश नेपालीको दिनचर्या बिहानको चियाबाट शुरु हुन्छ । चियाले हाम्रो दैनिकसँग धेरै नजिकको साइनो बनाएको छ । चिया नेपाली संस्कार झैँ बनेको छ । कहीँ पाहुना जाँदा वा कोही आउँदा चियाले नै सत्कार गर्ने गरिन्छ । त्यति मात्र होइन कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झैँ बनेको छ । काठमाडौंको पुरानो बानेश्वरमा रहेको चिया घरले भेटघाट र चियाको सम्बन्धलाई झन् नजिक बनाइदिएको छ ।   

उक्त चिया घर अर्घाखाँचीका राजीव शाहीले खोलेका हुन् । शाही चिया घर खोल्नु पहिले  ट्रेकिङ गाइड गर्थे । ट्रेकिङ गाइड गर्ने क्रममा सिजन र अफ सिजन हुने गर्थ्यो । अफ सिजन हुँदा खाली बस्नुपर्ने बाध्यता थियो ।  

शाही भन्छन्, ‘हामी ट्रेकिङ गाइड गर्थ्यौ । ट्रेकिङ गाइडमा पनि सिजन र अफ सिजन हुन्थ्यो । तीन महिना मात्र सिजन हुन्थ्यो । बाँकी तीन महिना खाली नै बस्न पर्थ्यो । खाली ससमयको सदुपयोग गर्न एउटा चिया पसल खोल्ने भन्ने सोच आयो ।’ 

उनले ट्रेकिङ गाइड गरेर बाँकी भएको फुर्सदको समयमा चिया पसल खोलौँ भनेर साथीहरूसँग सल्लाह गरे । साथीहरूले पनि हुन्छ खोलौँ भने पछि चिया पसल  खोलेको उनी सुनाउँछन् । उपत्यकामा विभिन्न ठाउँमा चिया पसलहरू छन् । तर, अरू भन्दा फरक ढङ्गले चिया पसल सञ्चालन गर्ने सोच आएको सुनाउँदै शाही भन्छन्, ‘चिया पसल खोल्ने सोच त बनायौँ । उपत्यकामा चिया पसलहरू धेरै छन् । अरू भन्दा अलि फरक र अनौठो बनाउनका लागि के गर्ने भन्ने विषयमा मट्काको भाडामा चिया दिउ, राम्रो नाम राखौँ र युनिक स्वाद दिउ भन्ने सल्लाह गर्‍यौ ।’ 

यसबारे केही अध्ययन गरेपछि माटोको भाँडोमा चिया दिउ, चिया घर नाम राखौँ र फरक स्वाद दिउ भन्ने सोच बनाएर चिया घरको सुरुवात गरेको उनले बताए । राजीव सहित सुरुमा तीन जना मिलेर चिया घरको सुरुवात गरेका थिए । उनले भने, ‘सुरुवातमा हामी तीन जना मिलेर ६०÷६० हजार रुपैयाँ उठाएर चिया घरमा लगानी गर्‍यौँ । चिया पसलमा धेरै लगानी पनि लाग्दैन । भाडाहरू किन्न धेरै पैसा लाग्दैन । डेकोरेशन गर्न मात्र अलि धेरै पैसा लाग्ने हो ।’ 

उनका अनुसार चिया घरको मुख्य विशेषता भनेको चियाको स्वाद र यहाँको वातावरण हो । ‘चिया साथी र गफ नै हाम्रो विशेषता हो’, उनले भने ।

चिया नेपालीहरूको पुरानो कल्चर भएकाले पनि नेपाली समाजमा चियाको क्रेज बढेको उनी सुनाउँछन् । शाही भन्छन्, ‘चिया खानु नेपालीहरूको पुरानो कल्चर नै हो । पाहुना आउँदा पनि पहिले चिया नै दिइन्छ । साथी भाइ भेट्दा पनि चिया नै खाइन्छ । चिया खाने चलन घरदेखि नै बसेको बानी भएकाले पनि यसको क्रेज बढेको हो ।’

अहिलेको पुस्ताहरू पनि अलि आधुनिक हुँदै गएका छन् । राम्रो ठाउँ खोज्ने, मिठो र नयाँ स्वाद खोज्ने, अलिकति डेकोरेशन भएको ठाउँहरू रोज्ने भएकाले पनि अहिले चियाको क्रेज बढेको छ । ग्राहकहरूले चियामा पनि धेरै भेराइटीहरु खोज्न गरेको उनको अनुभव छ । 

उनी भन्छन्, ‘नेपालीहरूको चियाको पुरानो कल्चरलाई जोगाउन पनि फरक फरक स्वादको चिया बनाउनु राम्रो हो । फरक स्वाद र रमाइलो वातावरणमा बसेर चिया पिउन मन पराउनेहरू धेरै छन् । त्यसैलाई मध्यनजर गरेर पनि हामीले चिया पसल खोलेका हौँ ।’    


चिया घरको सुरुवात गरेको चार वर्ष भइसकेको छ । चिया व्यवसायबाट पनि वर्षेनी करोडौँको आम्दानी गर्न सकिने शाहीको अनुभव रहेको छ । उनी भन्छन्, ‘चिया घरबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । सुरुको वर्षमा हामीले वार्षिक रूपमा एक करोड रुपैयाँ कमाएका थियौं । गत वर्ष पनि दुई करोड रुपैयाँ कमाउने लक्ष्य थियो । लकडाउनले गर्दा सोचे जति भने भएन ।’   

पुरानो बानेश्वर, कुमारीपाटी, पुतलीसडक र पेप्सीकोलामा चिया घरका चार वटा आउट लेट छ । ‘कमाइ पनि राम्रै भइरहेको छ । सबै ठाउँमा गरी दिनमा दुई हजार जति ग्राहकहरु आउँछन्’, उनले सुनाए ।     

उपत्यकामा चिया व्यवसायको प्रतिस्पर्धा धेरै नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘प्रतिस्पर्धाको रूपमा हेर्ने हो भने चिया घर भनेको चियालाई मात्र फोकस गरेर बनाएको ठाउँ हो । नेपालमा चियाको मार्केट दिनमा दुई करोडको छ । तीन चार वटा पसलले कति नै प्रतिस्पर्धा गर्न सक्छन् र ?’   

चिया पसल खोलेर व्यवसाय सञ्चालन गर्न चाहनेहरूका लागि चियाको ठुलो बजार रहेको उनी बताउँछन् । शाही भन्छन्, ‘नेपाली समाजको पुरानो कल्चर हो चिया । चिया पसल खोलेर व्यवसाय गर्नेहरूको लागि नेपालमा अझै पनि चियाको बजार ठुलो छ । चिया व्यवसायमा अवसर पनि छ । प्रतिस्पर्धाको रूपमा भन्दा पनि अवसरको रूपमा हेर्ने हो भने चिया व्यवसाय राम्रो छ ।’   

उनका अनुसार चिया घरमा विशेष गरी तीन भेराइटीका चिया पाइन्छन् । हामीसँग मुख्य भेराइटीमा मिल्क वेश, वाटर वेश र हर्बल वेश गरी तीन वटा आइटमको चिया पाइन्छ । त्यसमा पनि मल्टी वेशमा हेर्ने हो भने मिल्क भेराइटीमा छ वटा आइटमहरू रहेका छन् । हर्बल वेशमा ५ देखि १० वटा सम्म भेराइटीहरु छन् ।’

‘अहिले हामीसँग परिचित चिया भनेको मट्का चिया नै हो  । त्यसमा पनि मट्का र डबल मट्का गरी दुई भेराइटीहरु छन्’ उनले भने, ‘मसला वीथ मिल्क, चक्लेटी र हिमालयन चिया छ । वाटरमा मसला ब्ल्याक, फ्येबर चिया, फ्रुट चिया रहेका छन् भने हर्बल चियामा ग्रिन टी रहेको छन् ।’

    

चिया घरमा समय अनुसारका ग्राहकहरु आउने गर्छन् । शाही भन्छन्, ‘बिहानको समयमा बुढापाकाहरू धेरे आउने गर्छन् । दिउँसोको समयमा विद्यार्थीहरू धेरै आउने गर्छन् । साँझको समयमा अफिस छुटेर आउनेहरू हुन्छन् । त्यस्तै बेलुकाको समयमा आसपास बस्ने ग्राहकहरु चिया पिउन आउने गर्छन् ।’

उपत्यका बाहिर पनि व्यापार विस्तार गर्ने सोचमा हुनुहुन्छ भन्ने प्रश्नमा शाही भन्छन्, ‘अहिले हामीसँग चिया घर उपत्यका भित्र मात्र रहेको छ । यस बाहेक उपत्यका बाहिर पनि विस्तार गर्ने सोचमा छौँ । ठाउँहरू हेर्दैछौं ।’ साथै उनले चिया घरमा ३० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म चियाको मूल्य रहेको जानकारी दिए ।  

 

प्रतिक्रिया दिनुहोस