
काठमाडौं । विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन गर्दै विदेशी बैंकलाई नेपालमा शाखा खोल्नका लागि न्यूनतम पूँजीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक लचिलो भएको हो ।
बुधवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले विदेशी बैंकहरूले शाखा खोल्दा कम्तीमा २ करोड अमेरिकी डलर चुक्ता पूँजी भए पुग्ने व्यवस्था गरेको छ । पहिले न्यूनतम चुक्ता पूँजी २ करोड अमेरिकी डलर (करीब अढाइ अर्ब) तोकिए पनि सन् २०१४ मा संशोधन गरी नेपाली बैंकहरूको विद्यमान पूँजीअनुसार नै कायम गर्नुपर्ने व्यवस्था थप गरिएको थियो ।
हाल वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ कायम रहेकाले विदेशी बैंकले पनि शाखा खोल्दा उक्त रकमअनुसार नै पूँजी कायम गर्नुपथ्र्यो । तर, नयाँ निर्देशिकाले २ करोड अमेरिकी डलर भए पुग्ने व्यवस्था गरेको छ ।
विदेशी बैंकलाई नेपालमा आकर्षित गर्न चुक्ता पूँजीको व्यवस्था लचिलो गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘यसअघिको प्रावधानका कारण विदेशी बैंकहरू आकर्षित भएनन्,’ उनले भने, ‘त्यसैले पहिलाको व्यवस्थामा केही सुविधा दिएका हौं ।’
राष्ट्र बैंकले १२ वर्षअघि शाखा खोल्न पाउने नीति जारी गरे पनि हालसम्म कुनै विदेशी बैंकले नेपालमा शाखा खोलेका छैनन् । कतारको दोहा बैंक, यूएईको मसरेक बैंक र भारतको आईसीआईसीआई बैंकले मात्र सम्पर्क कार्यालय खोलेका छन् । सम्पर्क कार्यालयले बैंकिङ कारोबार गर्न पाउँदैनन् ।
प्रतिक्रिया दिनुहोस