aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दै

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, ०४ चैत्र २०७८
वैदेशिक रोजगारीमा  व्यक्तिगत ठगीका उजुरी बढ्दै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटाभन्दा बढी रहेको विभागले जनाएको छ । गत वर्ष ठगिएको जनाउँदै २ सय ५० वटा उजुरी परेकोमा चालू आवमा सो बढेर चार सय पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए । चालू आवको आठ महिनामध्ये असोजबाट व्यक्तिगत ठगीका उजुरी बढेको पाइएको छ ।

फागुनसम्म २३ करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ४५ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले ६५ करोड ८५ लाख ८ हजार ६ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ । यो अवधिमा ७३ उजुरीमा मिलापत्र हुँदा ४५ करोड ९५ लाख ५१ हजार ६ सय ९५ युवाले पैसा फिर्ता पाएका छन् । विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ ।

सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ । 

सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने निर्णय गरेको भए पनि चालू आर्थिक वर्षको आठ महिनामा व्यक्तिगत दाबी रकम ६ लाख रुपैयाँ बढेको उजुरी विभागमा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस