aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मध्यपुर ठिमि नगरपालिकाका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
मध्यपुर ठिमि नगरपालिकाका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेकी छिन् । मध्यपुर ठिमि नगरपालिका वडा नंम्बर ६ र ७  तथा साविकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिईन् । 

मध्यपुर ठिमि नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।  

मन्त्री श्रेष्ठले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताईन् । उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया शुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अुनसार काम अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताईन् । 

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम केही समयमा नै शुरु गरिने पनि बताईन् । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छिन् । 

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तिब्र पारिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस