
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाहीका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित उनका अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भवन निर्माण सम्पन्न भएपश्चात् अन्तिम बिल भुक्तानीका लागि ५ लाख रुपैयाँ घुस लिने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही ५ लाख रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिमाना र अधिकतम एक वर्षसम्म कैद सजायको मागदाबी गरेर मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानीका लागि घुस मागेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई गत फागुन १५ गते ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस