aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

होटेल अकुपेन्सी बढ्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०७ चैत्र २०७८
होटेल अकुपेन्सी बढ्यो

काठमाडौं । कोरोना भाइरसका कारण  प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो ।

कोरोनाबाट थलिएको होटेल क्षेत्रको व्यवसाय क्रमिक सुधार भइरहेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपाल (हान) की अध्यक्ष तथा अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको बताइन् ।

अहिले आन्तरिक पर्यटक र भारतीय पर्यटकका कारण होटेल क्षेत्र चलायमान बनेको उनको भनाइ छ । ‘युक्रेन–रसिया युद्धका कारण यूरोपेली पर्यटक आगमनमा असहज अवस्था देखिएको छ,’ राणाले भनिन्, ‘त्यस कारण पनि नेपालले आन्तरिक र नजिकका पर्यटकीय बजारलाई लक्षित गरेर रणनीति बनाउनुपर्छ ।’ नेपालले गन्तव्य पहिचान र त्यसको मार्केटिङलाई बढी प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् ।

अहिले भारतीय पर्यटक नै बढी आएकाले सीमावर्ती क्षेत्रमा नमस्ते डेक्स स्थापना गरेर उनीहरूलाई राम्रो वातावरण दिन तालीम आवश्यक रहेको राणाले बताइन् । काठमाडौं प्रिन्स होटेलका कार्यकारी निर्देशक तथा हानका महासचिव साजन शाक्यले औसतमा होटेलहरूको अकुपेन्सी बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस