एजेन्सी । श्रीलंका अहिले डरलाग्दो आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहा धेरै अत्यावश्यक वस्तुको मूल्य आकाश छुन थालेको छ । डिजेल–पेट्रोल र खाना पकाउने ग्यासको अवस्था झन् गम्भीर बनेको छ । श्रीलंकामा अहिलेसम्म तेल किन्ने क्रममा धेरैको ज्यान गएको छ ।
रोयटर्सको रिपोर्टका अनुसार श्रीलंकामा डिजेल–पेट्रोलको मूल्य मात्रै बढेको छैन । त्यसको अभाव पनि भएको छ । जसका कारण पेट्रोल पम्पमा लामो लाइन लागेका छन । तेल किन्न हजारौं मानिस घण्टौं लाइनमा बसेका छन् । श्रीलंकाली सेनाका प्रवक्ता निलान्था प्रेमरत्नेलाई उद्धृत गर्दै प्रतिवेदनले पेट्रोल पम्पमा घण्टौं लाइनमा बसेर तीन वृद्धको मृत्यु भएपछि सेना परिचालन गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।
सेनाले भनेको छ,‘सेनाले तेल वितरणमा मात्रै सहयोग गर्न लागेको हो । भीडलाई नियन्त्रण गर्नु सेनाको काम होइन । देशका सबै पेट्रोल पम्पमा कम्तीमा २–२ जना जवान तैनाथ गरिएको छ ।’
सेना तैनाथ जनताको मानवअधिकार खोस्न नभई जनताको हितका लागि भएको अधिकारीहरू बताउँछन् । सरकारका प्रवक्ता रमेश पाथिरानाले तेलको गलत वितरण र होर्डिङको गुनासो आएपछि सेना परिचालन गरिएको बताए ।
श्रीलंकामा तेल लगायतका अत्यावश्यक वस्तुको अभावका कारण धेरै ठाउँमा छिटपुट हिंसा भएको खबर पनि आएको छ । सोमबार यस्तै घटनामा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । तीनपाङ्ग्रे सवारी साधनका चालकसँग विवाद भएपछि घटनाले उग्र रुप लिएको हो । यसअघि चर्को घाममा घण्टौं लाइन बस्न बाध्य भएर तीन वृद्धको मृत्यु भएको थियो । सेना परिचालन भएपछि स्थितिमा सुधार आउनेमा अधिकारी आशावादी छन् ।
श्रीलंकामा डिजेल–पेट्रोल बाहेक अत्यावश्यक खाद्यवस्तुको पनि अभाव भएको छ । अवस्था यति नाजुक बनेको छ कि सरकारले आर्थिक संकटकाल लगाएको छ । श्रीलंकाको विदेशी मुद्रा सञ्चिति समाप्त हुने अबस्थामा छ र मुद्रा (श्रीलंकाली रुपैयाँ) को मूल्य अहिलेसम्मकै न्यून मूल्यमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस