aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

राजस्वको आधा हिस्सा वस्तु आयातबाट

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, ०९ चैत्र २०७८
राजस्वको आधा हिस्सा वस्तु आयातबाट

काठमाडौं । कुल राजस्वको झण्डै आधा वस्तु आयातमार्फत संकलन भएको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनामा ६ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागका अनुसार यसमध्ये ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व आयातबाट संकलन भएको छ । नेपालमा उठ्ने अधिकांश राजस्व भन्सार विन्दुबाट उठ्ने भएकाले यो स्वाभाविक नै रहेको अर्थशास्त्री प्रा.डा शिवराज अधिकारीले बताए ।

उनका अनुसार नेपालको राजस्व आयातले थेगेको छ । “संसारका अधिकांश विकासशील मुलुकहरु अप्रत्यक्ष करमै धानिएका हुन्छन्,” उनले भने, “नेपालको राजस्वको एउटा मुख्य आधार मूल्य अभिवृद्धि कर (भ्याट) हो । भन्सारमा पनि भ्याट लिन्छौं, आन्तरिक बजारमा पनि उठाउँछौं । त्यसैले आयात र भ्याटमा हाम्रो राजस्व धानिएको छ ।”

उता आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । आयातमा कडाइ गरे पनि फागुन महिनामा आयात बढेको तथ्यांकले देखाउँछ । मुलुकको समग्र अर्थतन्त्र नै बिग्रिएको अवस्थामा राजस्व घटे पनि आयातमा कडाइ गर्नुको विकल्प नरहेको अधिकारीले जनाए । “अर्थतन्त्र नै बिग्रिन थालेको समयमा राजस्व केही कम उठे पनि फरक पर्दैन,” उनले भने, “सरकारसँग खर्च गर्ने पैसा छ । अर्थतन्त्र राम्रोे भयो भने आन्तरिक ऋण लिएर पनि खर्च गर्न सकिन्छ । तर, अर्थतन्त्र नै बिग्रियो भने कुनै विकल्प रहँदैन ।”

विभागको तथ्यांक हेर्ने हो भने ८ महिनामा पेट्रोल, मटीतेल, डिजेल र एलपी ग्यासको आयातबाट मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस