aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्राधिकरणलाई भारतबाट विद्युत् आपूर्तिमा समस्या

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, १० चैत्र २०७८
प्राधिकरणलाई भारतबाट विद्युत् आपूर्तिमा समस्या

काठमाडौं । भारतीय खुला बजारमा विद्युत्को मूल्य आकाशिएपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्तिमा समस्या परेको छ । प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरभन्दा भारतीय खुला बजारमा कायम हुने दर बढी भएपछि यस्तो अवस्था आएको हो ।

हिउँदमा प्राधिकरणले भारतीय खुला बजारबाट बिडिङमार्फत विद्युत् किनेर स्थानीय बजारमा आपूर्ति गर्दै आएको छ । पछिल्लो २ दिन (मंगलवार र बुधवार) बिडिङमा प्रस्ताव गरेको दरभन्दा खुला बजारको मूल्य बढी हुँदा प्राधिकरणले भारतबाट बिजुली पाउन नसकेको हो  ।

बुधवार प्रतियुनिट १२ रुपैयाँ ८ पैसामा विद्युत् किन्ने गरी प्राधिकरणले बिड गरेको थियो । तर, भारतीय खुला बजारमा बिजुलीको औसत मूल्य प्रतियुनिट झन्डै १८ रुपैयाँ ९भारतीय ११ रुपैयाँ २० पैसा० पुग्यो । फलस्वरूप, दर नमिल्दा प्राधिकरणले भारतीय खुला बजारबाट विद्युत् खरीद गर्न सकेन ।

प्राधिकरणले बिहीवारका लागि १९ रुपैयाँ २० पैसामा बिडिङ गरे पनि पाउन नसकेको प्रवक्ता सुरेश भट्टराईले बताए । बिहीवारका लागि विद्युत्को अधिकतम मूल्य प्रतियुनिट ३२ रुपैयाँ (२० भारू) रहेको उनको भनाइ छ ।

प्राधिकरणले भारतबाट विद्युत् किन्न अघिल्लो दिनमै बिड प्रस्ताव गर्नुपर्छ । प्राधिकरणले भोलिपल्टका लागि अघिल्लो दिनमै ९६ ओटा बिड प्रस्ताव गर्र्ने गर्छ । ‘बिहीवारका लागि पनि सोहीअनुसार बिड प्रस्ताव गरेका थियौं । तर, त्यसमा आठओटा मात्र स्वीकृत भयो,’ भट्टराईले भने । यतिखेर भारतका जलविद्युत् आयोजना पूर्ण क्षमतामा नचलेको र  त्यसमा विद्युत् उत्पादन गर्ने प्रमुख माध्यम मानिएको कोइलाको समेत अभाव भएकाले मूल्य बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस