काठमाडौं । सरकारले क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरे पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट भने घटेको छ । क्षयरोग नियन्त्रणका लागि नेपाल सरकारको राष्ट्रिय बजेट, ग्लोबल फन्ड, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य विकास साझेदारले सहयोग गर्दै आए पनि गत वर्षको तुलनामा यसका लागि छुट्याइएको बजेट घटेको हो ।
अघिल्लो आवमा एक अर्ब ८४ करोड ५४ लाख रुपैयाँ विनियोजन गरे पनि गत आवमा भने यसको बजेट घटेर ७२ करोड ९० लाखमा सीमित भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सार्वजनिक गर्ने रिपोर्टमा आव २०७६/७७ मा नेपाल सरकारले ८६ करोड, ग्लोबल फन्ड ९७ करोड र डब्लूएचओ तथा सहयोग साझेदारले सात करोड सहयोग गरेको उल्लेख छ । यसैगरी गत आवमा भने नेपाल सरकारले ४७ करोड, ग्लोबल फन्ड १९ करोड र डब्लूएचओ तथा सहयोग साझेदारले ६० लाख रुपैयाँ सहयोग गरेको उल्लेख छ ।
राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा वार्षिक रूपमा नयाँ क्षयरोगका बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिने भए पनि औसत ३० हजार बिरामीमात्र सरकारी उपचारमा आउने गरेको पाइएको जनाएको छ । केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरले राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ नेपालमा वार्षिक रुपमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोग बिरामी हुने बताउँदै यसमध्ये पनि वार्षिक १६ हजार जनाको मृत्यु हुने अनुमान गरिएको बताए ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजना गरिएको विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा निर्देशक ठाकुरले गत आव २०७७/७८ मा २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामी उपचारमा दर्ता भएका मध्ये क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेका जनाए ।
प्रतिक्रिया दिनुहोस