aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, १० चैत्र २०७८
सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने

काठमाडौं । युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ ।

नवीनतम सोच लिएका युवालाई केन्द्रमार्फत आवश्यक परामर्शसाथ प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गरिनेछ । तालिमको माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान तथा सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्रले सहयोग गर्ने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

उनका अनुसार नवीनतम सोच लिएर केन्द्रमा जाने युवालाई बसोबास, विज्ञको सल्लाहअनुसार प्रशिक्षण, युवाले लिएको सोचअनुसार उत्पादन हुने वस्तु तथा सेवाको बजारलगायतका विषयमा छलफल गरेपछि मात्रै काम अघि बढ्नेछ । बागमती प्रदेशमा केन्द्र स्थापनाको काम अघि बढिसकेको छ । बस्नेतका अनुसार यस प्रदेशअन्तर्गत रहने गरी काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा केन्द्र स्थापनाका लागि बहुपक्षीय समझदारी भइसकेको छ । नमोबुद्ध नगरपालिका–८ मा रहेको आरुबारी चौरमा केन्द्र स्थापना हुन लागेको हो । केन्द्रका लागि नगरपालिकाले ५३ रोपनी जग्गा भोगचलनका लागि परिषद्लाई दिएको छ ।

समझदारीअनुसार केन्द्र स्थापना र सञ्चालनको मुख्य भूमिका राष्ट्रिय युवा परिषद्ले निर्वाह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस