
ताप्लेजुङ । उत्तरी छिमेकी देश चीनको प्रमुख व्यापारिक केन्द्र सिगात्सेसँग ताप्लेजुङको ओलाङचुङगोला नाका सडक सञ्जालले जोडिने भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ६ सुकेटारबाट विस्तार भइरहेको उत्तर–दक्षिण लोकमार्गको रानीपुल–ओलाङचुङगोला खण्ड निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभीले सडकको ट्र्याक खोल्ने कार्यलाई गोला र लेलेप दुवै खण्डबाट अघि बढाउन ऐतिहासिक सहमति जुटाएको छ।
अहिले लेलपको लुङथुङसम्म ट्र्याक खुलेको छ। ‘अब दुवैतर्फबाट ट्र्याक खोल्ने कार्य अघि बढ्ने छ’, एसडी एलाइट जेभी निर्माण कम्पनीका मुख्य प्रतिनिधि पेम्बा शेर्पाले भने।
लुङथुङबाट गोलासम्मको करिब २२ किलोमिटर ट्र्याक खोज्न बाँकी छ। सुकेटारबाट–ओलाङचुङगोला ९२ किलोमिटरमध्ये ७० किलोमिटरको ट्र्याक खुलिसकेको छ।
यो सडकखण्डको नियमन गर्ने सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले गोला र लेलेप दुवैतर्फबाट ट्र्याक खोल्ने निश्चित भएकाले अब पूर्वको समृद्धिको ढोका खुल्न लागेको जानकारी दिए।
उनका अनुसार गोलाबाट लुङथुङतर्फ १० किलोमिटर र लुङथुङबाट गोलातर्फ १२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम अघि बढाउने गरी योजना तयार भएको छ।
‘गोलाबाट लुङथुङतर्फको सडकको ट्र्याक खोल्न चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारस्थित तिउकान्टीका स्थानीयसँग भएका निर्माण उपकरण प्रयोग गरिनेछ। त्यसका लागि रिउ प्रशासनको संयोजनमा तिउकान्टीका स्थानीयसँग समझदारी बनिसकेको छ’, इन्जिनियर गुरुङले भने।
एसडी एलाईट जेभीले तीन वर्षभित्र काम सक्ने गरी ट्र्याक खोल्न ठेक्का पाएकोमा अब दुई वर्ष बाँकी छ। समयअघि नै काम सक्ने सोच रहेको निर्माण कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले बताए।
यो लोकमार्ग राष्ट्रिय गौरवको आयोजनामा समावेश भएकाले बजेटको कमी पनि हुनेछैन। पहिले ट्र्याक खोल्ने र पछि स्तरोन्नति गर्ने निर्माण कम्पनीको योजना छ। सडक निर्माण सम्पन्न भएपछि पूर्वको समृद्धिको ढोको खोलिने विश्वास स्थानीयले गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस