
सांघाई । पछिल्ला केही दिनदेखि व्यापार युद्ध अन्त्य गर्न अमेरिका र चीन लागि परेका छन् । विगत एक वर्षदेखि जारी अमेरिका–चीन व्यापार युद्ध अन्त्य गर्नका लागि सम्भावित उपाय निकाल्न दुई देशका व्यापार प्रतिनिधिबीच चिनियाँ सहर सांघाईमा बुधबार सम्पन्न बैठक ‘रचनात्मक’ भएको बेइजिङले बताइरहँदा दुबै देशबीचको ‘इगो’ समस्या पनि सतहमा देखिएको छ ।
एकातिर वार्ता पनि गरिरहेका छन् भने अर्कोतिर दुबै देशले आफ्नो हठबाट टसमस हुने छाँठकाँट देखाएका छैनन् । चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताबीचको संक्षिप्त बैठकबारे अमेरिकी धारणा अहिलेसम्म भने बाहिरिएको छैन ।
वार्ता भइरहँदा पनि दुई देशको जुहारी कायमै छ । दुई देशबीच व्यापार वार्ता सुरु हुनुभन्दा केही समयअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका थिए भने चीनले पनि ‘अमेरिकी अहंकार’ भन्दै प्रतिवाद गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय गरेको ट्विटले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच विद्यमान व्यापार विवादलाई सुल्झाउने प्रयास चलिरहेकै बेला व्यापार वार्तालाई केही हदसम्म प्रभाव पारेको अनुमान गर्न थालिएको छ ।
सांघाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए ।
व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करबद्धि गरेका छन् । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।
लामो समयदेखि रोकिएको दुई देशबीचको व्यापार वार्तालाई सुरु गर्नका लागि अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभेन मन्चिन मंगलबार नै सांघाईमा पुगेका थिए। चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व देशका उपप्रधानमन्त्री लिउ हेले गरेका थिए ।
दुबै टोलीले बुधबार बिहान एकअर्कासँग हात मिलाएर वार्तालाई औपचारिक रूपमा सुरु गरेका थिए । दुई देशबीच व्यापार वार्ता सुरु हुनुभन्दा केही समयअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका थिए ।
‘मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ तर चिनियाँ पक्ष आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन्,’ ट्रम्पले गरेको ट्विटमा उल्लेख गरिएको थियो ।
चिनियाँ पक्षको कारण यस्तो सम्झौता अमेरिकाका लागि कुनै महत्वको विषय नभएको ट्रम्पको ट्विटमा उल्लेख गरिएको थियो। चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ।
‘चीनसँगको समस्या नै यही हो, उनीहरु इमान्दार हुन सकेनन्,’ ट्रम्पको ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको थियो।
विज्ञहरुले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्विटले पहिलेदेखि तनाबमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने भन्दै चिन्ता व्यक्त गरिरहेकै बेला भएको बैठक छोटो समय मात्रै चलेको र अमेरिकी प्रतिनिधिमण्डल बुधबार नै स्वदेश फकिर्एको बताइएको छ।
सांघाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए। उनको उक्त भनाइलाई चीनले ‘अमेरिकी अहंकार’ भन्दै प्रतिवाद गरिसकेको छ । बुधबारको बैठकमा चीनले थप अमेरिकी कृषिजन्य सामग्री खरिद गर्ने विषयमा पनि छलफल भएको बेइजिङले जनाएको छ।
दुई देशबीचको व्यापार प्रतिनिधिबीच के विषयमा छलफल भयो भन्ने विषयमा आफूलाई त्यत्ति जानकारी नभएको भए पनि अमेरिकाले वार्तालाई ‘तोडमोड’ गर्न खोजेको विषय भने प्रष्ट छ,’ बुधबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले बताइन्।
दुई देशबीच सेप्टेम्बर महिनामा पुनः वार्ता गर्नेबारेमा पनि सहमति भएको उल्लेख गरिएको छ। ‘जापानको ओसाकामा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सहमतिअनुसार दुवै पक्षले महत्वपूर्ण र प्रभावकारी तरिकाले प्रमुख व्यापार र आर्थिक विषयमा रचनात्मक तथा गहन विषयमा कुराकानी गरेको छ,’ अमेरिकी प्रतिनिधिमण्डलले सांघाई छोडेलगत्तै चीनको वाणिज्य मन्त्रालयले जानाकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस