काठमाडौं । नेपालले करीब १ अर्ब रुपैयाँमा किनेका रेल चल्न नसकेका बेला रेलवे अध्यादेश–२०७८ राजपत्रमा प्रकाशित भएसँगै सञ्चालनका लागि कानूनी बाटो खुलेको छ । सोही अनुसार नेपाल रेलवे कम्पनी लिमिटेडले रेल चलाउन छिट्टै मिति तोकिने जानकारी दिएको छ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन गर्न १९ महीनाअघि ल्याइएका दुई सेट रेल अहिले यात्रुविना नै चलेका छन् ।
मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले रेलवे अध्यादेश–२०७८ जारी गरेपछि बुधवार मुद्रण विभागले यो अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अध्यादेशसँगै कानूनी बाटो खुलेको र छिट्टै यात्रुसहितको रेल चल्ने दाबी गरे । संसद्बाट ६० दिनभित्र अध्यादेश पास हुने अपेक्षा गरिएको भन्दै उनले तत्कालका लागि कानूनी बाटो खुलेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस