aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

वीरगञ्ज नाकाबाट ८ महिनामा ५३ अर्बको खाने तेल निर्यात

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १३ चैत्र २०७८
वीरगञ्ज नाकाबाट ८ महिनामा ५३ अर्बको खाने तेल निर्यात

वीरगञ्ज । भारतले खाने तेल आयातमा सीमा शुल्क घटाएपछि नेपालबाट यसको निकासी बन्द हुने अनुमानविपरीत अहिले पनि निर्यात व्यापारमा तेल नै अग्रस्थानमा देखिएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले आन्तरिक बजारमा तेलको भाउ आकाशिए पनि यही बढ्दो मूल्य निकासी व्यापारका लागि भने सहज बनेको छ ।

समुद्रपारबाट नेपालमा कच्चा पदार्थ भित्रिनै २ देखि ३ महीना लाग्ने र यसबीचमा अन्तरराष्ट्रिय बजारमा मूल्य बढिसक्ने भएकाले नेपालबाट भारततर्फ तेल निकासी सम्भव भएको स्वदेशी उत्पादकले बताएका छन् । वीरगञ्ज तेल निकासी परिमाणका आधारमा मुख्य नाका हो । यो नाकाबाट बारा–पर्सा औद्योगिक कोरिडोरका एक दर्जनभन्दा बढी उद्योगले निर्यात गर्दै आएका छन् ।

चालू आर्थिक वर्ष ९आव० २०७८/७९ को पहिलो ८ महीनामा वीरगञ्जबाट अघिल्लो आवको समीक्षा अवधिभन्दा ३ गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । गत आवको साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा चालू आवको फागुन अन्त्यसम्ममा यो मूल्य ५३ अर्ब १० करोड रुपैया पुगेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निकासी भएको छ । दोस्रो स्थानमा पाम तेल छ । २७ अर्ब ४६ करोड रुपैयाँबराबरको १ लाख ९ हजार ७३७ मेट्रिकटन भटमासको तेल निर्यात भएको छ । २३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको वीरगञ्ज भन्सारले बताएको छ ।

भारतले आयात प्रतिबन्ध लगाएकाले गतवर्ष पाम तेल निकासी भएको थिएन । सूर्यमुखी तेलको निकासी परिमाण पनि यो वर्ष उल्लेख्य बढेको छ । गत आवको ८ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिकटन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस