
काठमाडौं । स्थानीय निकायका सरकारी कर्मचारीहरूले जन्म, मृत्यु, बिहेजस्ता व्यक्तिगत घटना दर्ताका काम, राजस्व काट्ने, विभिन्न रिपोर्ट बनाउनेलगायत काम हिजोआज अनलाइनबाट गर्ने गरेका छन् । जनप्रतिनिधिहरूले पनि कतिपय सेमिनार आयोजना गर्न वा तिनमा भाग लिन इन्टरनेट प्रयोग गर्ने गरेका छन् । तर भरपर्दो इन्टरनेट सुविधा नहुँदा काम अवरुद्ध हुने गरेको उनीहरूको गुनासो छ । यसले अन्ततः सेवाग्राहीलाई नै मारमा पार्ने गरेको छ, छिटो–छरितो सेवा पाउनबाट वञ्चित हुने गरेका छन् ।
‘हाम्रो गाउँपालिकामा इन्टरनेट त सबैतिर पुगेको छ । तर कहिले चल्दै–चल्दैन, कहिले साह्रै स्लो हुन्छ,’ पाँचथरको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले भनिन्, ‘ब्रोडब्यान्ड इन्टरनेट परियोजनाअन्तर्गत जडित इन्टरनेट त झन् कामै नलाग्ने छ, मरिगए चल्दैन । ग्रामीण क्षेत्र भएर हो कि रु’ कार्यालयमा समेत मोबाइल डेटा चलाएर काम गर्ने गरेको राईले बताइन् । मोबाइलको नेटवर्क नटिप्ने ठाउँमा डेटाबाट पनि काम नहुने उनको भोगाइ छ ।
नेपाल टेलिकमको डेडिकेटेड लिज्ड लाइन सेवा राम्रो भए पनि वायरलेस सेवामा समस्या हुने गरेको रामेछाप नगर कार्यपालिकाका सूचना प्रविधि अधिकृत दीपककुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस