
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत गर्ने भएको छ । उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी हुन् ।
हालै भक्तपुरमा बसेको भौतिक विकास समितिको १६औं बैठकलाई सम्बोधन गदै मन्त्री झाँक्रीले नयाँ नगरलाई आधुनिक र सुविधासम्पन्न रूपमा विकास गरिने बताइन् । ‘हामीले नयाँ नगर बनाउने भनेका छौं, यसलाई जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्नेबारे पनि सचेत छौं । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौं,’ उनले भनिन् ।
सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताइन् । नयाँ नगरको भौतिक योजना स्वीकृतिका लागि छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी उनले दिइन् । ‘एउटा प्राविधिक टोली बनाएर यसलाई तत्काल अघि बढाउन गृहकार्य शुरू गरेका छौं,’ उनले भनिन् ।
उक्त बैठकमा राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले नयाँ नगर बनाउँदा स्थानीय तहलाई नै जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताए । भौतिक योजना तत्काल स्वीकृत गर्नुपर्नेमा समेत उनले जोड दिए । यस्तै शहरी विकास सचिव डा। रमेशप्रसाद सिंहले नयाँ नगरमा पूर्वाधारसहितको काम गरिने बताए ।
प्रतिक्रिया दिनुहोस