काठमाडौं । नेपाल–भारत पेट्रोलियम पदार्थको खरिद सम्झौता नवीकरण पुरानोलाई नै निरन्तरता दिइने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार आगामी ३१ मार्चमा सम्झौता हुँदैछ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आगामी पाँच वर्षका लागि इन्धन कारोबार सम्झौता गर्दैछन् । सम्झौता पुनरावलोकन गर्नका लागि निगमका उच्च अधिकारी भारत जाँदैछन् । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धन कारोबार सम्झौता नवीकरण पुरानोलाई निरन्तरता दिन लागेको जानकारी दिए ।
मूल्य बढाउनका लागि आईओसीका लागि प्रस्ताव आए पनि यथावत् नै राख्ने सहमति भएको उनले जानकारी दिए । यसअघिको सम्झौतामा अन्तर्राष्ट्रिय बजारबाट क्रुड आयल खरिद गरी रिफाइन गरेर बिक्री गर्न पाउने, तेस्रो मुलुकबाट खरिद गर्न पाउने, डिजेल पेट्रोलमा मार्केटिङ मार्जिन दुई प्रतिशत र खाना पकाउने एलपीजी ग्यासमा चार प्रतिशत सुविधालाई कायम नै राख्ने गरी छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
सन् २०१७ मार्चमा भएको नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा दुई देशबीच सहसचिवस्तरीय भर्चुअल बैठक भएको थियो । पेट्रोलियम पदार्थको सहज आपूर्ति अमलेखगन्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाई विस्तार, मोतिहारी–अमलेखगन्जको पाइपलाइन सुरक्षा व्यवस्था विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
खरिद सम्झौता समयमै नवीकरण गर्ने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । इन्धन खरिद सम्झौताको नवीकरण प्रत्येक पाँच वर्षमा सरकार टु सरकार निगम र आईओसीबीच सम्झौता हुनेगर्छ ।
प्रतिक्रिया दिनुहोस