
काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर आइतबार स्वदेश फर्किएका छन् । यो भ्रमणबाट चीनले नेपाल सरकारलाई चीनकै महत्वाकाक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई नेपालमा कार्यान्वयनमा ल्याउन र आसन्न निर्वाचनमा वामपन्थी एक भएर अघि बढ्न सुझाव दिएको बुझ्न सकिन्छ ।
परराष्ट्र मन्त्री डा.नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेश मन्त्री वाङको भ्रमणको क्रममा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा सम्झौतामा हस्ताक्षर भएको छ । यी त्यस्ता सम्झौता हुन् जसले नेपालमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका आयोजनाहरू अघि बढाउन सहयोग पु¥याउँछन् ।
नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, अन्तर देशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता, नेपाल–चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रूपमा स्वास्थ्य घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्री खड्का र चीनको राज्य परिषद् सदस्यसमेत रहेका परराष्ट्र मन्त्री वाङ बिच सम्पन्न द्विपक्षीय वार्तापछि भएका यी सम्झौताले नेपाल र चीनको सम्बन्धमा नयाँ आयाम थप्नुको साथै नेपालको आर्थिक विकाशमा थप योगदान गर्ने विश्वास गरिएको छ ।
चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमय पत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मत सम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौँ बैठकको दस्ताबेज, कोभिड–१९ चीन सहायता, चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।
वाङको नेपाल भ्रमण गर्नुका मुख्य उद्देश्य मध्ये चीनकै महत्वाकाक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई नेपालमा थप अघि बढाउने भन्ने रहेको धेरैको बुझाइ रहेको थियो । तर, वाङको भ्रमणका दौरानमा चीन र नेपालबिच विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर हुँदा बीआरआईसँग जोडिएका कुनै पनि परियोजना उल्लेख गरिएको छैन ।
नेपाल र चीनको प्रतिनिधिमण्डलबिच भएको वार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा बीआरआईबारे कतै उल्लेख नगरे पनि यस अन्तर्गतकै योजनाहरू कार्यान्वयन गर्न सम्झौतामा हस्ताक्षर भएको चीनका लागि पूर्वराजुदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘बीआरआई अन्तर्गत दुई वटा कुराहरू रहेका छन्, जुन कनेक्टिभिटी र इन्फाइन्ट्रक्चर हो । रेल, ट्रान्समिसन लाइनको कुरा कनेक्टिभिटी होइन र ? सडक मर्मतदेखि लिएर प्रोजेक्टहरू लागू हुने कुराहरूसम्म भएका छन् । घुमाउरो पारामा बीआरआई अन्तरगतका इन्फाइन्ट्रक्चर विकास गर्न सम्झौता भएको देखिन्छ । बीआइआई भनेर कहीँ कतै उल्लेख नभए पनि बीआरआई अन्तर्गतका योजनाहरू कार्यान्वयन गर्न सम्झौता भएका छन् ।’
परराष्ट्र मन्त्रालयले उल्लेख नगरे पनि पूर्ववर्ती सरकारले बीआरआई अन्तर्गतका परियोजनामा पनि खर्च गर्न सकिने भनेर राखेका कतिपय आयोजनाबारे वक्तव्यमा उल्लेख छ । अमेरिका, भारत रिसाउँछ भनेर बीआरआईको नाम नलिई बीआरआई अन्तरगतका योजनाहरू कार्यान्वयन गर्न हस्ताक्षर भएको उनको भनाई रहेको छ । पूर्व राजदूत श्रेष्ठ भन्छन्, ‘सरकारले ऋण भन्दा अनुदानलाई बढी प्राथमिकता दिएको छ । चीनले अनुदान दिने भनेको ११ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग बीआरआईका क्षेत्रमा नै उपयोग हुनसक्छ ।’
त्यस्तै, उनले एमसीसी सम्झौता अनुमोदनका क्रममा उत्पन्न आशङ्का मेटाउन वाङको भ्रमण केही हदसम्म सफल बनेको बताए । उनका अनुसार वाङले एमसीसी परियोजनाबारे खुलेर नबोले पनि त्यसबारे सङ्केत भने गरेका थिए । वाङले नेपालको सार्वभौमसत्तामा आँच पु¥याउने र भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको चीनले विरोध गर्ने अभिव्यक्ति दिएका थिए । एमसीसी सम्झौता अनुमोदनका क्रममा उत्पन्न आशङ्का मेटाउनु पनि वाङको भ्रमण थियो । एमसीसी लागू भए पनि चीन विरोधी गतिविधि गर्न नपाइने भनेर सुरक्षा चासो रहेको थियो ।
नेपालमा हुन लागेको चुनावको मुखमा वाङ नेपाल आउनुमा वामपन्थीहरू मिलेर दक्षिणपन्थी धारलाई हराउनु भन्ने सन्देश दिनु पनि रहेको उनको बुझाई रहेको छ । पूर्व राजदूत श्रेष्ठले भने, ‘विदेश मन्त्री वाङ नेपालमा हुन लागेको चुनावको मुखमा आएका छन् । यसले गर्दा उनी बामहरू मिलेर चुनाव लड्नु भन्ने सन्देश दिन आएका पनि हुन् । पार्टी एउटै नभए पनि बामहरुपन्थीहरु मिलेर दक्षिण पक्षधरलाई हराउनु पर्छ भन्ने हो ।’
परराष्ट्र मन्त्री डा. खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेश मन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरे । विदेश मन्त्री वाङले भेटका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस