काठमाडौं । वैदेशिक रोजगार बोर्डबाट वार्षिक पाँच हजारभन्दा बढी श्रमिक र उनीहरूका परिवारलाई दिँदै आएको सेवालाई सरकारले अनलाइन प्रणालीमा स्तरोन्नति गरेको छ । अनलाइन सेवा विस्तारसँगै कल्याणकारी सहायता पनि अनलाइन भुक्तानी प्रणालीबाट पाउने भएका छन् ।
बोर्डले सेवालाई अनलाइन प्रविधिमा स्तरोन्नति गरेपछि वार्षिक रूपमा श्रमिकले लिँदै आएको ९० करोड रुपैयाँ बराबरको कल्याणकारी सहायता अब अनलाइनमार्फत नै भुक्तानी हुनेछ । बोर्डले गत वर्ष विभिन्न सात शीर्षकमा श्रमिक र उनीहरूका परिवारलाई ८७ करोड ४२ लाख ४९ हजार रुपैयाँ प्रदान गरेको थियो ।
बोर्डले भौतिक रूपमा दिँदै आएको विदेशमा मृत्यु, अंगभंग, गम्भीर बिरामी आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, श्रमिकका परिवारको स्वास्थ्य उपचार खर्च, अलपत्र शव झिकाउने, अलपत्र श्रमिक उद्दार, शव ढुवानीलगायतका सेवालाई अनलाइन प्रणालीमार्फत गरेको छ । सरकारले मृतक परिवार र अंगभंग भएका श्रमिकलाई स्थानीय तहमार्फत अनलाइन सेवा प्रदान गर्ने भएपछि श्रमिकले हजारौं खर्च गरेर राजधानी आउनु पर्ने झन्झट हटेको छ ।
प्रतिक्रिया दिनुहोस